हिमालय आँखा अस्पतालः भरपर्दो उपचार, जनशक्तिमा जोड

समाधान संवाददाता २०७६ माघ २६ गते १२:३१

भरत कोइराला
पोखरा

सामान्य रुघाखोकी र ज्वरोले ग्रस्त बिरामी पोखरामा कुन अस्पताल र कुन डाक्टरकोमा जाने भनेर अलमलिन्छ । कारण पोखराको उपचार सेवा अझै भरपर्दो छैन । तत्काल उपचार गर्नुपर्ने मुटु रोग तथा जटिल शल्यक्रियाको त कुरै छाडौं, सामान्य रोग निदान र उपचारका लागि कारठमाडौं नै धाउनुपर्ने वाध्यता बिरामीमा छ ।

गण्डकी प्रदेश र आसपासका बासिन्दाले आँखाको उपचारमा भने यस्तो सास्ती खेप्नु परेको छैन । आँखामा देखिने ९५ प्रतिशत समस्याको समाधान पोखराकै हिमालय आँखा अस्पतालमा हुन्छ । अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जन भन्छन्, ‘अरु रोग लागे अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ ।

Advertisement

आँखा उपचारमा अब्बल दरिएको हिमालय आँखा अस्पतालले पछिल्लो समयमा शैक्षिक कार्यक्रम समेत सञ्चालन गरेको छ । सिटिइभिटीसँगको सहकार्यमा ३ वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्स, पोखरा विश्वविद्यालयसँगको सहकार्यमा ४ वर्षे ब्याचलर अफ अप्टोमेट्रीको पठाइ हिमालय आँखा अध्ययन प्रतिष्ठानले गर्दै आएको छ । पोहोरबाट नेपालमै पहिलोपटक २ वर्षे मास्टर्स अफ अप्टोमेट्रीको पढाइ हुँदै आएको अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. महर्जन बताउँछन् । निकै सस्तो शुल्कमा पोखरामा पढाइ हुँदै आएको र पछिल्ला दिनमा विद्यार्थीहरुको रुचि पनि असाध्यै यसमा देखिएको उनले बताए ।

१ वर्षको अवधिमा अस्पतालमै आएर १ लाख ५२ हजार भन्दा बढीले उपचार सेवा लिएका छन् । दुर्गम गाउँ तथा विद्यालयमा सञ्चालित शिविरसमेतमा गरी वर्षभरी २ लाख ६३ हजार जनाको आँखा परीक्षण गरिएको डा. महर्जनले जानकारी दिए । उनले भने, ‘तीमध्ये ८ हजार जनाको त अपरेसन नै गरिएको छ । गर्ने ४ हजार ३ सय जनाको मोतियाबिन्दुको अपरेसन भएको छ ।’ आँखाको सामान्य समस्या समाधान गर्न स्थानीयस्तरमै आँखा उपचार केन्द्र सञ्चालनमा आफूहरुको जोड रहेको उनको भनाइ थियो । हालसम्म कर्णाली र गण्डकमीमा गरी १७ ठाउँमा आँखा उपचार केन्द्र छन् । जुम्लाको सिञ्जा, कालिकोट, बागलुङको बुर्तिबाङ, तनहुँको बन्दीपुर र स्याङ्जाको चापाकोटमा यसै वर्षबाट आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

Advertisement

यसरी खुल्यो अस्पताल
नेदरल्यान्डबाट नेपाल घुम्न आएको अनिता सिमोन्स र लिन्ड्रेट पार्लेभ्लिटको जोडी जुम्ला पुग्यो । जुम्लाको गाउँमा पुग्दा त्यहाँका नागरिकमा आँखाको समस्या देखेपछि जोडी अवाक भयो । अब केही गर्नुपर्छ भनेर स्वदेश फर्केको जोडीले च्यारिटीबाट सुरुको वर्ष १० लाख डलर संकलन गर्‍यो । अनि सुरु भयो आई केयर फाउन्डेसन नेदरल्यान्ड । त्यही फाउन्डेसनले नेपाल नेत्रज्योति संघसँग मिलेर पोखरामा हिमालय आँखा अस्पताल खोल्यो । त्यही अस्पताल अहिले गण्डकी र कर्णाली प्रदेशको ज्योति बनेको छ ।

नेपाल लगायत विश्वका १६ मुलुकमा आँखाको क्षेत्रमा सहयोग गर्दै आएको आई केयर फाउन्डेसन नेदरल्यान्डले हालै ३५ वर्ष पार गरेको छ । यही अवसरमा फाउन्डेसनले नेपालका विभिन्न जिल्लामा गएको भदौमा उत्सव नै मनायो । गत भदौमा पोखरा आएका फाउन्डेसनका संस्थापक लिन्ड्रेट पार्लेभ्लिटले हिमालय आँखा अस्पतालले गरेको प्रगति देखेर खुसी व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘३५ वर्ष वर्ष पहिला जे सपना देखेर हामीले नेपालमा काम थालेका थियोैं त्यही अनुसार काम भएको पायौं, यसले हामीलाई धेरै खुसी बनाएको छ ।

अस्पतालले सुरुका ५ वर्ष कमाएको सबै रकम फाउन्डेसनले अस्पतालको कोषमा राखिदिएको छ । त्यसपछिका १० वर्ष १० प्रतिशत कटाएर कोषमा राखिदिएको डा. महर्जनले बताए । त्यसपछि भने फाउन्डेसनले नेपाल नेत्रज्योति संघलाई उक्त अस्पताल पूरै हस्तान्तरण गरेको हो । चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन सुविधा तिलगंगा आँखा अस्पतालमा मात्रै छ । त्यसबाहेक सबै खालका उपकरण पोखरामै छन् । डा. महर्जनले भने, ‘चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन गर्ने मेसिनका लागि पनि दाताहरुले चासो देखाएका छन्, यो वर्षभित्रमा त्यो सपना पनि पूरा हुन्छ होला । अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाहरुको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको दाबी डा. महर्जनको छ ।

१ तथ्यांक अनुसार मुलुकमा कुल जनसंख्याको १६ प्रतिशतलाई कुनै न कुनै आँखाको रोग छ । ३ प्रतिशत पूर्ण वा आंशिक दृष्टिहीन छन् । तर नेपालमा हाल १ सय १५ को हाराहारीमा आँखा विशेषज्ञ छन् । तीमध्ये जम्मा ३० जनामात्र डाक्टर काठमाडौं बाहिर छन् । कम्तीमा १ लाख जनसंख्या बराबर १ आँखा विशेषज्ञ हुनुपर्नेमा २ लाख बराबर १ जना मात्र उपलब्ध छन् । नेत्र सहायक र अन्य प्राविधिकसमेत पर्याप्त नहुँदा नागरिकले चाहेको अवस्थामा आँखाको उपचार पाउन सकेका छैनन् ।

तराईभन्दा पहाडी क्षेत्रमा आँखा उपचार समस्या बढी छ । आँखा उपचारका सुविधा तराई र सहरी क्षेत्रमा केन्द्रित भएकाले पहाडी भेगमा उपचार सुविधा सहज हुन सकेको छैन । पहाडी क्षेत्रमा राजधानीबाहिर पोखरामा हिमालय आँखा अस्पताल र पाल्पामा लायन्स लाकौल गरी २ मात्र अस्पताल छन् । बेलाबखत बस्ने आँखा शिविर र मुलुकका २९ ठाउँमा सञ्चालित आँखाको प्रारम्भिक उपचार हुने स्वास्थ्य केन्द्रले सक्दो सेवा दिँदै आएका छन् ।

नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङ हिमालय आँखा अस्पताललाई रिसर्च र जनशक्ति उत्पादनको केन्द्रको रुपमा विकास गर्दै आएको बताउँछन् । संघका सचिव सुरेन्द्र थापामगरले आँखा उपचारमा ख्याति कमाएको हिमालय आँखा अस्पतालमा बर्सेनि इन्टर्नसिपमा आउने विदेशी बाक्लै हुने बताए ।

उनका अनुसार बेल्जियम, नेदरल्यान्ड, बेलायत, अस्ट्रेलिया लगायत देशबाट बर्सेनि २५ जनाको हाराहारीमा इन्र्टनसिप गर्न आउने गरेका छन् । उनीहरुले नेपालीमा देखिएको आँखाको समस्या र यहाँ अपनाइएको उपचार विधिबारे सिकेर फर्कने गरेको थापा मगरको भनाइ थियो । हिमालय आँखा अस्पतालका लागि किनिएको ७० रोपनी जग्गामा हाल २६ वटा भवन छन् । गण्डकी प्रदेश सरकारले समेत अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया