महायज्ञमा मुस्लिमको दान

समाधान संवाददाता २०७६ माघ २८ गते १४:३३

मोहसिन अली मियाँ
गोरखा

धुर्मुस सुन्तली फाउनडेसनको अगुवाईमा चितवनको रामपुर छेवैमा निर्माणधीन गौतम बुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ गरिएको धन धान्यान्चल महोत्सवमा अन्य दिनको दाँजोमा शनिबार बेग्लै माहोल बन्यो । रंगशाला परिसरभित्रै गरिएको महोत्सवमा पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिइरहेका थिए । प्रवचन स्थलमा हजारौ हिन्दू धर्मावलम्बी उनको प्रवचनमा ध्यानमुग्ध थिए ।

एकैछिनमा माहोल फेरियो । गोरखा बजार मुस्लिम समाज लेखिएको ब्यानर बोकेर ८÷१० जनाको समूह महायज्ञ प्रवेश गर्दा केही समय तालीको गड्गडाहट सुनियो । प्रवचन गरिरहेका पण्डित पोखरेलले प्रवचन नै रोके र भने, ‘वाह, हाम्रो असली समाज त यो हो नि !’ मुस्लिम समूहलाई मञ्चमा बसिरहेका सीताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) ले गेटसम्मै आएर स्वागतमात्रै गरेनन्, सबैसँग अंकमाल पनि गरे ।

Advertisement

हलभित्र रहेका हजारौले मुस्लिम समूहलाई तालीले स्वागत गरिरहेका थिए । मञ्चबाट पण्डित पोखरेलले भने, ‘मेरो बाल्यकालमा सबैभन्दा मिल्ने साथी मुस्लिम हो । उहाँलाई आज यहाँ देख्दा मन हर्षित भइरहेको छ, स्वागत छ मेरा मित्रलाई ।’ उनले संकेत गरिरहेका थिए गोरखा बजारका मोहम्मद कलाम मियाँ (काजी)लाई । जो पण्डित पोखरेलसँगै पढेकामात्रै थिएनन, बाल्यकालका सबैभन्दा नजिकका साथीसमेत थिए ।

शृंखला यतिमा मात्रै सिमित बनेन । मञ्चमा पुगेलगत्तै धुर्मसले मुस्लिम समुदायका जमिल मियाँसँग आफूले लगाएको टोपी नै साटे । ढाका टोपी लगाएका धुर्मुसले मियाँसँग सेतो बिर्खे (इस्लामिक) टोपी टाउको जोडेरै साटासाट गर्दा महोत्सव स्थलभित्र र बाहिरसमेत उत्साह फौलियो । त्यति बेला पण्डित पोखरेल भन्दै थिए , ‘हाम्रो मेलमिलाप, सद्भाव र सम्बन्धले विश्वमा नेपाललाई अलग पहिचान दिएको छ । सधैभर यस्तै प्रगाढ सम्बन्ध कायम रहोस् । मेरो यही कामना ।’

Advertisement

केही बेर महोत्सव स्थलमा सेल्फी खिच्नेको भीड लाग्यो । मुस्लिम समुदायले रंगशाला निर्माणका लागि नगद २० हजार १ सय सहयोगसमेत गरे । ‘रंगशाला हाम्रो साझा सम्पत्ति हो, सबै मिलेर बनाउनुको विकल्प छैन’, मोहम्मद कलाम मियाँले भने, ‘यो पहिलो प्रयास हो, रंगशाला बनाउन आगामी दिनमा गोरखाका सबै मस्जिदबाट चन्दा उठाएर पठाउँछौं ।’

विभिन्न धर्म र संस्कृतिका मानिसको सहभागिताले धार्मिक सद्भाव र एकता बढाउँदै गएको महायज्ञ आयोजक समितिका पदाधिकारी बताउँछन् । महायज्ञ मूल समारोह समिति संयोजक प्रदेश सांसद विजय सुवेदीले हरेक दिन विभिन्न धर्म र जातजातिका मानिस रंगशाला महायज्ञमा दान दिन आउनाले राष्ट्रिय एकता र जातीय सद्भाव बलियो बनाएको बताउँछन् । गौतम बुद्धको नाममा बन्दै गरेको रंगशालामा हिन्दु, मुस्लिम, बौद्ध, इसाइ लगायत सबै धर्मावलम्बीबाट सहयोग प्राप्त हुनुले मेलमिलाप र सद्भाव उचाईमा पुगेको उनले बताए ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ भन्छन्, ‘असली पहिचान भनेकै यही हो, राष्ट्रिय एकता र मेलमिलापको यो नमुना हो । यसले धार्मिक सद्भावलाई उचाईमा पुर्‍याएको अनुभूत भएको छ ।’

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ देखि ८ दिनसम्म धनधान्याचल महोत्सव भएको थियो । करिब ३ अर्ब लागतमा २ पर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया