पोखरा म्याराथन सफल पार्न सहयोग

समाधान संवाददाता
पोखरा
पोखरा म्याराथन सुरु हुन २ दिनमात्रै बाँकी छँदा म्याराथन सफल बनाउन देश विदेशबाट सहयोग रकम समेत जुटिरहेको छ । यसै क्रममा सहारा युकेका कार्य समिति सदस्य एवं सामाजिक अभियन्ता योगेश गुरुङले अभियानमार्फत् जुटाएको ६ लाखको चेक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका छन् । यो रकम म्याराथनका लागि भन्दा पनि युवा खेलाडीलाई प्रोत्साहन गर्न अक्षयकोषमार्फत खर्च गर्ने गरी सञ्चालन गर्ने बताइएको छ ।
सहयोग गर्न पाउनु गौरवः योगेश गुरुङ
रकम हस्तान्तरणपछि योगेशले गतवर्षको म्याराथनमा सहभागिता जनाउँदा नै आफूलाई केही गरौं भन्ने सोच पलाएको बताए । रकम हस्तान्तरण गर्दै उनले भने, ‘६ वर्ष पहिले युकेमा च्यारिटीका लागि २७ किलोमिटर दौडेको थिएँ । अनि मैले सधैं सोच्थेँ, आफ्नै देशमा यसरी दौडन पाए अनि सहयोग गर्न पाए कस्तो हुन्थ्यो होला । अहिले त्यो चरितार्थ हुँदै छ ।’
कुनै बेला युकेको सेनामा कार्यरत योगशले आफू कार्यरत विभिन्न संघ संस्थाको सहयोग र पहलमा ६ लाख संकलन गरेको बताए । सहारा युके, साउथ इस्ट रिजनल तमु धिं युके, डायमन्ड बुद्धिस्ट सेन्टर युके, भुम्दीकोट समाज युके, १९८२ इन्टेक युके, भुम्दीकोट समाज पोखरा, भिजिट २०१९ कैलाश पर्वत लगायत साथीभाइ र इष्टमित्रको सहयोग रहेको योगेशले बताए । उनी ती संस्थामा समेत महत्वपूर्ण पदमा आसिन छन् ।
१६ वर्ष मुनिका युवालाई कुलतबाट जोगाउन अहं भूमिका रहेको हुनाले उचित पुरस्कारमार्फत आर्कषण गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताउँदै युवाहरुलाई खेलतर्फ आर्कषित गर्न रकमले महत्वपूर्ण भूमिका खेल्ने योगेशले बताए । ‘म आफू पनि १० किलोमिटर दौडमा सहभागी हुँदै छु,’ उनले भने, ‘यो दौड स्वास्थ्यका लागि, शान्ति सबैका लागि’ भन्ने नारालाई अभियानका रुपमा अघि बढाउने छु ।’
रकम हस्तान्तरण कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तेज गुरुङले सामाजिक अभियन्ता योगशले प्रशंसनीय कार्य गरेको बताए । उनले खेलसँगै समाजमा शान्ति अपरिहार्य रहेकाले शान्तिका अभियानमा युवाले प्रमुख भूमिका निर्वाह गर्न सक्ने बताए । अध्यक्ष गुरुङले युवालाई खेलमार्फत शान्तिको मार्गमा अग्रसर गराउन भूमिका खेल्ने बताए । कार्यक्रममा सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ, महासचिव धनु थकाली, समाजसेवी मैना गुरुङ लगायत सहभागी थिए ।
म्याराथनकै लागि पोखरा आउँदै
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ७ समुद्रपारि अर्थात् विदेशबाट पोखरा आउने क्रम पनि ह्वात्तै बढेको छ । फागुन ३ गते शनिबार पोखरामा आयोजना हुने म्याराथनलाई विदेशमा रहेर पनि उच्च प्राथमिकता दिँदै बेलायतबाट पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ लगायत अन्य सदस्य र शुभेच्छुक पोखरा आइपुगेका छन् ।
पोखरेली मञ्च युके म्याराथनको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्थासमेत हो । पोखरा म्याराथनलाई गति दिन पोखरेली मञ्च युकेले ठूलो भूमिकासमेत निर्वाह गरिरहेकै बेला उक्त संस्थाको तर्फबाट म्याराथनलाई सफल बनाउन जिम्मेवारी पाएकी मञ्जु गुरुङ बुधबार पोखरा आइपुगेकी छन् ।
भलिबलकी पूर्व राष्ट्रिय खेलाडी र प्रशिक्षकसमेत रहेकी मञ्जु क्यान्सर रोगलाई जित्दै खेलकुद र सामाजिक अभियानमा सक्रिय छिन् । पोखरा आइपुगेकी मञ्जुलाई भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङ, मञ्चका महासचिव खेम गुरुङ, कोषाध्यक्ष मञ्जुलमान श्रेष्ठ, सहारा युकेका महासचिव धनु थकाली, कार्य समिति सदस्य बाचस्पति रेग्मी लगायतले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।
पोखरा म्याराथनले बोलायोः मञ्जु
पोखरा आइपुगकेकी मञ्जुले पोखरा म्याराथनमा सहभागिता जनाउन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताइन् । उनले भनिन्, ‘मलाई बेलायतबाट पोखरा म्याराथनले बोलायो ।’ गतवर्ष क्यान्सरविरुद्धको च्यारिटी दौडमा सहभागी मञ्जु यस वर्ष पनि १० किलोमिटर दौडलाई निरन्तरता दिनेसमेत बताइन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया