रत्नमन्दिर प्रदेशलाई

समाधान संवाददाता २०७६ फागुन १५ गते १३:४८

पूर्व राजपरिवारको सम्पति गणतान्त्रिक सरकारले राष्ट्रियकरण गर्‍यो । त्यसरी प्राप्त जमिन र सम्पति नेपाल ट्रस्ट नामको संस्था खडा गरेर त्यसको स्वामित्वमा राखिएको छ । त्यसैमध्येको जमिन हो, काठमाडौं गोकर्ण रिसोर्टको । यती एयरलाइन्स चलाइरहेका सोनाम शेर्पाको स्वामित्वको यती ग्रुपले गोकर्ण रिसोर्ट पनि चलाइरहेको छ । अघिल्ला सरकारका पालादेखि नै शेर्पालाई सुम्पिएको रिसोर्टका लागि भाडाको म्याद ३० वर्ष प्रधानमन्त्री केपी ओलीको सरकारले थपेपछि त्यसको सर्वत्र आलोचना भएको छ ।

त्यतिमात्रै नभई ट्रस्टको दरबार मार्गको जमिन लगायत थुप्रै ठाउँको सम्पति यती समूहकै पोल्टामै छ । एउटै व्यापारिक घरानालाई त्यसरी राज्यको सम्पति सुम्पिएकै कारण सरकारको आलोचना भएको हो । राजाबाट खोसिएको सम्पति त्यसरी एकैजना व्यक्तिलाई सुम्पिनु कदाचित न्यायपूर्ण हुन सक्दैन । तसर्थ आलोचना हुनु स्वाभाविक हो । प्रतिस्पर्धाको माध्यमबाट दिएको भए छुट्टै तर विधिसम्मत भन्दै विधि नै शेर्पा अनुकुल बनाएर धमाधम सम्पति सुम्पने काम निकै आश्चर्यपूर्ण छ । अघिल्लो पालि प्रधानमन्त्रीका हैसियतमा चीन भ्रमणमा जाँदा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको सट्टा यती समूहकै लगानीको जहाज चढेर गएका थिए केपी ओली । यसपालि ६९ औं जम्मोत्सव मनाउँदा यतीकै मालिक सोनाम शेर्पाले हेलिकोप्टरमा लगेको केक काटे तेह्रथुमको गाउँमा ओलीले ।

पोखरामा पनि छ नेपाल ट्रस्टको सम्पति । रत्नमन्दिर, हिमागृह र अरु जमिन पनि यहाँ छ नेपाल ट्रस्टको स्वामित्वको । यी सम्पतिमा उहिल्यै यती समूहले आँखा गाडेको थियो । सरकारले त्यस्तो प्रपण्च रचेपछि स्थानीयले चर्काे विरोध गरे । सरकार र यती समूह पछि हटे । फेरि पनि अन्तको सम्पति झै पोखराको पनि निजी क्षेत्रलाई र त्यही यती समूहलाई दिने हो कि भन्ने भयले पोखरेली चिन्तित छन् । तर यसबीचमै ११ फागुनको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले नेपाल ट्रस्टको पोखराको सम्पति प्रदेश मातहत ल्याउन कार्यदल गठन गरेको छ । यसअघि पनि प्रदेशले नेपाल ट्रस्टको जमिन र अरु सम्पति आफू मातहत दिन संघ सरकारसँग माग गरेको थियो । तर दिइहालेन संघले । यसै पनि संघले प्रदेशका माग पूरा गर्न आनाकानी गर्दै आएको छ । यो मागमा पनि त्यसै गर्‍यो ।

Advertisement

गण्डकी प्रदेशले रत्न मन्दिर र हिमागृहमा संग्रहालय बनाउने, पार्क बनाउने काम गर्न सक्ने देखिन्छ । ती मार्फत दैनिक हजारौं पर्यटक भित्र्याएर लाखौं आम्दानी उसले गर्न सक्छ । वास्तवमा पोखरेलीको चाहना पनि तत्कालीन राजाहरु पोखरा आउँदा बस्ने गरेको रत्नमन्दिर संग्रहालय बन्नुपर्छ भन्ने हो । साथैको जमिन पार्क बनाउन लायक छ । पर्यटकीय केन्द्र लेकसाइडमा अर्काे एउटा पर्यटकीय प्रडक्ट बन्न सक्छ त्यो ठाउँ । प्रदेश मातहतमा हुँदा स्थानीयले पनि अपनत्व अनुभव गर्न सक्ने, सही सुदपयोग पनि हुने र स्थानीयको चाहना पनि पूरा हुने गरी नै नेपाल ट्रस्टको पोखराको सम्पतिबारे निर्णय गरिनुपर्छ । त्यसको उपाय भनेको प्रदेश मातहत नै राखिनु हो ।

Advertisement

तपाईको प्रतिक्रिया