गैरागाउँकाे विकासः हिउँदमा डोजर चल्छ, बर्खामा पहिरो

पोखरा ३३, गैरागाउँस्थित मुख्य सडकसँगै झिकिएको बाटो । र, उखेलिएका रुख । तस्बिरः समाधान
समाधान संवाददाता
पोखरा
पोखरा ३३ गैरागाउँ पुग्ने जोकोहीलाई लाग्न सक्छ, यहाँ विकासको मुल फुटिरहेको छ । चारैतिर सडकका ट्र्याक खुलेका छन् । आखिर विकास भनेको बाटो नै हो भन्ठान्दा यहाँ विकासको मूल फुटिरहेको लाग्छ । २०÷३० मिटरको दुरीमै पनि बाटैबाटा खुलेका छन् । कुनै बाटा पिच भइसकेका छन्, कुनै ग्राभेल । कतै अहिले पनि बाटो खनिरहेका डोजर पनि देखिन्छन् ।
गैरागाउँमाथि पर्ने मुल सडकको दुलेगौंडाचोकदेखि बुढीपोखरी जाने बाटो २ तिरबाट निकास दिन भन्दै महानगरले कनेक्टिङ रोड अन्तर्गत आयोजनामा पार्यो । केही दिनअघि यहाँ डोजर नाच्यो । उक्त क्षेत्रमा मूल बाटोको सहजै निकास छ । २० मिटर माथि उक्लिएपछि त्यहाँका सबै घरपरिवारले सहज यातायातको पहुँच पाउँछन् ।
त्यसरी यातायातको सहज पहुँचको बाटो गैह्रागाउँकै हरिप्रसाद गोर्खालीको घरपरिवारका लागि भने कहर भइसकेको छ । सडक बनाउन चलाएको डोजरले उनको आँगनमात्रै भत्काएको छैन, घरै धरापमा पारिदिएको छ । आउने बर्खामा पानीले कस्तो बबन्डर निम्त्याउला भनेर गोर्खाली परिवार अहिल्यै छटपटिमा परिसक्यो । किनभने गाउँमा डोजर लगाएर खनिएका बाटोको हालत यो परिवारका सदस्यले आफ्नै आँखाले देखेका छन् । गाउँका थुप्रै ठाउँमा त्यसरी डोजरले खनेका बाटो भत्किएको मात्रै छैन, पैह्रो नै चलेको छ । त्यहाँ फेरि थामथुम पार्ने अर्काे काम पनि हुँदैछ । कतिपय सडकलाई पहिरो पुरेको छ ।
घरपछाडिको मूल बाटो पिच हुँदाहुँदै घरअगाडिबाट पनि डोजर हालेर ध्वसं बनाउन खोजिएको भन्दै केही गोर्खालीले गुनासो गरेका छन् । मुलबाटो र बनाउन लागिएको बाटोको दुरी अति कम छ । अनावश्यक बाटोका लागि राज्यको करोडौंको लगानी डोजरमै खर्च भइरहेको हरिका छोरा जीवन गोर्खाली बताउँछन् । सोहीचोकबाट गैह्रागाउँ ओर्लन जिल्ला प्राविधिक कार्यालय कास्कीको अर्को एउटा ठेक्का अन्तर्गत ढलानको काम भइरहेको छ । डोजर लगाएर बुढीपोखरीसम्म निस्कन चौडा बनाइएको बाटो छेउमा आँगन जोतिएर टाँगिएका घर देखिन्छन् । पहिले भएका वर्षौं पुराना ६÷७ वटा रुख जरैसहित उखेलिएर किनारमा मिल्काइएका छन् ।
पुरानो र ऐतिहासिक दुलेगौंडाचोकदेखि बुढीपोखरी निस्कने उक्त बाटो ‘सहर बाटो’को नामले परिचित थियो । पुरानो नापी नक्सामा पनि कायम रहेको भनिएको बाटोमा डोजर पसेपछि भने त्यसले विकासको नाममा विनाश गरेको भन्दै स्थानीयस्तरबाट अहिले गुनासो सुनिएको छ । तर हजुरबाका पालादेखि मिलेर बस्दै आएका उक्त गाउँका बासिन्दालाई भने बाहिर आवाज उठाउँदा भाइभाइबीच र राज्यको नजरमा विकास विरोधी भइन्छ कि भन्ने सुर्ताले गाँजेको छ । आँगनै जाने गरेर डोजर चले पनि टांगिएर बाटोमाथि ठडिएका घरधनी आफूमाथि परेको अन्यायबारे बोल्न चाहँदैनन् ।
घरको आँगन, टौवा फालिएपछि स्थानीय जीवन गोर्खालीले उक्त आयोजनाको औचित्यता माथि नै प्रश्न उठाएका छन् । विकास अपरिहार्य आवश्यकता भएपनि त्यसको जोखिम र दीर्घकालीन असरबारे जनप्रतिनिधिसहित प्राविधिक गम्भीर नभएको उनको गुनासो छ । ‘मूलबाटो र निकास पाउनुपर्ने घरको फरक २० मिटर पनि छैन । तर, अगाडि पनि बाटो चक्ल्याउने नाममा दोहोरो मापदण्डको मर्कामा नागरिकलाई पार्ने काम भएको छ,’ उनले भने, ‘जग्गा हुनेलाई त ठिकै छ तर, जग्गा नहुने र अन्त विकल्प नभएकाको हकमा किन अध्ययन गरिएन भन्ने हो ।’ डोजरको विकल्पमा हाते औजारले खनेर भूक्षय न्यूनीकरण गर्न सकिने स्थानीयको रायलाई बेवास्ता गर्दै मनोमानी डोजर चलाउँदा कुनै पनि दिन घरमा समस्या देखिन सक्ने उनले सुनाए ।
गत वर्ष टेन्डर भई बहुवर्षीय आयोजनामा सम्पन्न गर्ने गरी उक्त कामको जिम्मा पोखराकै बिरुवा÷सिमरन जेभीले पाएको छ । उक्त बाटोसहित वडा ३३ मा १२.३ किलोमिटर कनेक्टिङ रोड स्तरोन्नति गरी ग्राभेल गर्न कम्पनीले साढे ९ करोडमा आउँदो असारसम्म सक्ने गरी जिम्मा लिएको हो । स्तरोन्नतीसँगै ३३ वडा कार्यालय, ठूल्ढुंगा, सुरताने, चैनपुरदेखि सुरौदीसम्म सडक सहजरुपमा जोड्ने महानगरको योजना हो ।
मुख्य पिचबाटोबाट अति कम दूरीमै उस्तै बाटो किन आवश्यक पर्यो त ? पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य भन्छन्, ‘कतिपय ठाउँमा बाटो पुर्याउन बारी पनि खनिएको देखिन्छ । यहाँ सार्वजनिक बाटो नै हो भन्ने प्राविधिकबाट आइरहेको छ । मेरो यति गयो भन्नु भनेर २ जना मान्छेले असन्तुष्टि राख्नुहुँदैन ।’ स्थानीयबीच बाटो खन्नु हुन्छ र हुँदैन भन्ने विवाद मंगलबार छलफल बोलाएर मिलाइने वडाध्यक्षले सुनाए । छोटो दूरीको बाटोलाई कनेक्टिङ रोडको आयोजनामा राख्नुपर्ने बाध्यता भने गत वर्ष वडामा भएका २ वटा सडक योजनालाई यस वर्ष मर्ज गर्दा सर्भेमार्फत समावेश गरेको उनको दाबी छ । ‘डोजर लगाउँदा मलाई जानकारी थिएन । तर, खनिरहँदा त्यहाँ कसैले विरोध गरेका होइनन् । पछि विवाद आएपछि मात्र मलाई थाहा दिएका हुन्,’ उनले भने, ‘प्रत्येकका घर खोनपानी र बाटो चाहिएको छ, अन्त खनेरमात्र छोडेको देखिन्छ, यहाँ खनेरमात्र छोडिँदैन ।’ स्थानीयबीच व्यक्तिगत ‘इगो’को कारण विवाद निस्किएको वडाध्यक्षको भनाइ छ ।
महानगरले उक्त बाटोलाई योजनामा पार्नुपूर्व कुनै अध्ययन वा विश्लेषण गरेको भने पाइँदैन । महानगरका इन्जिनियर धु्रव भट्टराई वडाबाट प्राप्त भएका योजनालाई महानगरले बजेट दिएर काम अघि बढाएको बताउँछन् । ‘कनेक्टिङ रोडका लागि वडागत रुपमा योजना माग गर्दा वडाले पठाएबमोजिमका योजनालाई महानगरले कार्यान्वयन गरेको हो,’ उनले भने, ‘वडाबाट सिफारिस भएर आएपछि बाटो खन्ने र स्वामित्वको विषय वडामै मिलाएर आउनुपर्छ ।’ सडक योजनालाई महानगरले कार्यान्वयन गर्नुपूर्व अध्ययन गर्ने वा नगर्ने भन्ने विषयमा ग्रामीण सडकलाई जोड्ने कार्यक्रम भएको हुँदा वडाकै सिफारिसमा निर्भर रहेको उनको भनाइ छ ।
फिल्डमा खटिएका महानगरका सब–इन्जिनियर अनिलप्रसाद आचार्यले योजनाअनुसारको काम भएको सुनाए । व्यक्तिको जग्गा नभई सार्वजनिक बाटोको जग्गा बाटोकै निमित्त प्रयोगमात्र गरिएको उनले बताए । ‘माथि बाटो भएपनि फेरि तल आवश्यक हो होइन भन्नेबारे पहिले कुरा आएको थियो,’ उनले भने, ‘सार्वजनिक जग्गा भएको बाटो र महानगरले तोकेको मापदण्ड पुगेको हकमा योजनाको डिजाइनमा परिसकेपछि चाहिने÷नचाहिने भन्ने कुरा होइन । कार्यान्वयन हुँदै जान्छ ।’
बस्ती भएका ठाउँमा न्यूनतम मापदण्ड अनुसार ६ मिटर बाटो र १ मिटर नाली निर्माणसहित ग्राभेल हुने सब–इन्जिनियर आचार्यले जनाए । ‘अन्य ठाउँमा ८ मिटरसम्म बाटो फराकिलो बनाउने काम भइरहेको छ । रुखहरुको सन्दर्भमा भने आयोजनामै वृक्षरोपण गर्ने उल्लेख छ । सोहीअनुसार काम हुन्छ,’ उनले भने ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया