१८ औं आहा रारा गोल्ड कपः संकटासँग आर्मीको सजिलो जित

समाधान संवाददाता
पोखरा
१८ औं आहा रारा गोल्डकप अन्तिम क्वाटर फाइनलको खेलमा संकटा फुटबल क्लबलाई ३–० गोलले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइलनमा प्रवेश गरेको छ ।
त्रिभुवन आर्मी क्लबका लागि खेलको १५ औं मिनेटमा सुदिल राइले डि बक्स भित्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको ७१ औं मिनेटमा ११ याडभित्रबाट प्रहार गरेको ग्रास बल गोलमा परिणत भयो । खेलको ७५ औं मिनेटमा विवेक विष्टले डि बक्स भित्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो । विष्ट खेलको ६७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेका विष्टले धेरै बलको फिनिसिङ राम्रो गरेसँगै १० मिनेटभित्रै गोल गर्न सफल भए । खेलको पहिलो हाफमा त्रिभुवन आर्मीका खेलाडीले राम्रो खेल प्रदर्शन गर्न सकेनन् ।
खेलको ३० औं मिनेटमा सुमन अर्यालको पासमा नवयुग श्रेष्ठले प्रहार गरेको बल क्रसबारबाट बाहिरियो । खेलको ५५ औं मिनेटमा नवयुग श्रेष्ठको पासमा सुदिल राइले प्रहार गरेको बलले जाली चुम्न सकेन ।
संकटा क्लबका लागि खेलको ७ औं मिनेटमा रोशन पहारीको पासमा मसुकी पियरेले प्रहार गरेको बल गोल हुन सकेन । खेलको ४१ औं मिनेटमा ड्याडी आम्बाले प्रहार गरेको बल क्रसबारबाट बाहिरिएको थियो । खेल अवधिमा धेरै समय त्रिभुवन आर्मी क्लबका खेलाडीले बललाई नियन्त्रमा लिएका थिए ।
त्रिभुवन आर्मी क्लबका कोच नवीन न्यौपानेले खेलको सुरुमै सुदिल राई, सन्तोस तामाङ र विकास तामाङले पहेँलो कार्ड पाएका कारण मनोबल घटेको बताए । हाफपछि छिटो खेल्ने खेलाडीलाई मैदानमा लगेर उत्कृष्ट नतिजा निकाल्न सफल भएको न्यौपानेको भनाइ छ । न्यौपानेले आहा रारा गोल्डकपमा उपाधि उचाल्ने अवसर मिलेको भन्दै अवसर सदुपयोग गर्ने बताए ।
संकटा फुटबल क्लबका कोच सलबइन खाडिजीले सुरुको १५ मिनेटमा राम्रो खेल प्रदर्शन गरेको पछिल्लो समयमा खेल कमजोर हुँदै गएको बताए । खेलाडीले पाएको अवसरको प्रयोग गर्न नसक्दा पनि खेलबाट बाहिरन परेको उनले बताए । हाफपछिको खेलमा संकटाको कमजोरीलाई आर्मीै क्लबले प्रयोग गर्न सकेको बताए ।
पुलिस र थ्री स्टारको ७ औं भिडन्त
यसअघि पनि आहा रारा गोल्डकपमा नेपाल पुलिस फुटबल क्लब र थ्री स्टार फुटबल क्लबबीच ६ पटकसम्म भिडन्त भएको छ । तेस्रो आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लबले २–१ गोलअन्तरमा थ्री स्टारलाई हराउँदै पुलिस क्लब फाइनलमा प्रवेश गरेको थियो । छंैटौ आहा रारा गोल्डकपमा पुलिस क्लबले १–० गोलले हराउँदै थ्री स्टार फुटबल क्लब क्वाटरफाइनलबाट बाहिरिएको थियो ।
सातौं आहा रारामा पुलिस क्लबले २–० गोलको अन्तरमा क्वाटर फाइनलबाट थ्री स्टार क्लब बाहिरियो । नवौं आहा रारा गोल्डकपमा सेमिफाइनलको खेलमा थ्री स्टार क्लबसँग १–० अन्तर पार्दै पुलिस क्लब बाहिरिएको थियो । १३ औं मा थ्री स्टार फुटबल क्लबले ०–१ गोलको अन्तर पार्दै पुलिस क्लब सेमिफाइनलबाट बाहिरिएको थियो । १६ औं मा नेपाल पुलिस क्लबले १–० को अन्तरमा थ्री स्टारलाई हराउँदै उपाधि उचाल्न सफल भएको थियो ।
तपाईको प्रतिक्रिया