भोजमा हिँडेका बालकमाथि चितुवाको आक्रमण

समाधान संवाददाता २०७६ फागुन ३० गते १५:०७

समाधान संवाददाता
दमौली

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका ५ याम्पामा बुधबार साँझ १ बालक घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दमौलीले जनाएको छ ।

घर नजिकै आमासँग विवाह भोजमा जान हिँडेका नेपालीलाई घरदेखि अन्दाजी १ किमी टाढा बाटोमा चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए । चितुवाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ । बालकको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीय त्रसित छन् । भानु नगरपालिका, शुक्लागण्डकी गरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतंक छ । २० महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट ९ बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ । हालसम्म जिल्लाबाट ७ वटा चितुवा नियन्त्रणमा लिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया