सँगै रक्सी खाएका साथीले हत्या गरेर बारीमा गाडे

समाधान संवाददाता २०७७ जेठ ८ गते १७:०२

समाधान संवाददाता

पोखरा महानगरपालिका– २६ सुन्दरी बजार बस्ने २४ वर्षीय सुजन विकको हत्यामा संलग्न २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न २३ वर्षीय प्रकाश घर्तीमगर र २१ वर्षीय थमन पुनमगरलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख तथा एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

सुजन बेपत्ता भएको ३ दिनपछि मृतावस्थामा फेला परेका थिए । उनको शव मंगलबार साँझ पोखरा २७ अर्घौचोकदेखि अर्चले जाने बाटोको झन्डै ३ सय मिटरभित्र मकैबारीमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

Advertisement

सँगै रक्सी खाए, वादविवाद पछि ढुंगाले हाने

जेठ ३ गते शनिबार साढे ७ बजेदेखि सुजन विक ५ जना साथीसहित रक्सी खाइरहेका थिए । केहीबेरमा ५ जनामध्यबाट २ जना छुट्टिए । सुजनका साथी राम पुनमगरले दिदी भन्ने गरेको १ महिलालाई घरतर्फ पु¥याउन लागे । तर सुजनसहित प्रकाश र थमन भने साढे ९ बजेसम्म रक्सी खाइनै रहेका थिए ।

Advertisement

बसेको ठाउँबाट उठेर घर भएको ठाउँबाट ५ सय मिटर पूर्वतर्फ लागे । मदिराले होस गुमाएपछि सुजनले अपशब्द प्रयोग गरेर प्रकाश घर्तीमगर र थमन पुनलाई गाली गर्न थाले । आवेसमा आएका थमन पुनमगरले सुजनलाई पछाडिबाट टाउकोमा मुक्का प्रहार गरे । मुक्का लागेपछि सुजन थचक्कै बसेर चिच्याउन थालेपछि प्रकाशले छेवैमा भेटेको ढुंगाले टाउकोको पछाडिनै हाने। थमनलले केही ठूलो ढुंगाले बायाँ साइडमा हाने । प्रहरीका अनुसार गहिरो चोट लागेपछि सुजनको मृत्यु भएको जनाएको छ । ‘सुजनको मृत्यु भएपछि ढुंगाले हानेका दुबै जना मिलेर शवलाई उचाली बारभित्र फालेर आफ्नो कोठामा फर्किएका थिए,’ एसपी कार्कीले भने ।

शवलाई ढुंगाको पर्खाले कटाएर भागेका प्रकाश र थमन घर पुगेपछि सुजनकी आमाले ‘मेरो छोरा खोइ?’ भनेर उनीहरुलाई सोधेकी थिइन् । एसपी कार्कीका अुनसार दुवैजनाले जाँदा सँगै गएको तर बीच बाटोमै चौतारीमा सुजनले आफूहरुलाई यहीं बस भनी सुजन साथीलाई भेट्न गएकाले आमालाई ‘आएको छैन र?’ भनी प्रतिप्रश्न गरेका थिए ।

आमालाई सँगै खोज्न जाउँला भनेपनि उनीहरु तत्कालै खोज्न नस्किएको उनको भनाइ छ । ‘सबै सुत्न गएपछि लासलाई अरुले देख्छन् भन्ने डरले फालिएकै ठाउँमा दाउराले खाल्डो बनाई ढुंगाले समेत पुरेर रातको झन्डै साढे १२ बजे पुन कोठामा फर्के,’ एसपी कार्कीले भने, ‘उनीहरु चुरोटमा गाँजा भरेर तानेपछि सुजनको आमालाई भेट्न गएका थिए । पछि घटनास्थलमै शव पुर्न आए ।’

घटनाबाट उम्किन आफूले काम गरेको ठेकेदारसँग उनीहरुले पैसा मागेर घर जान्छौं भनेका थिए । ठेकेदारले काम भइरहेको हुनाले घर जानबाट रोक्न रकम दिन मानेका थिएनन् । प्रकाश र थमन प्युठान गौमुखी गाउँपालिका ३ डिहीगाउँ घर भई पोखरा २६ सुन्दरीबजार बस्दै आएका थिए । बिजुलीको पोल गाड्ने काममा संलग्न उनीहरु एउटै डेरा कोठामा बस्थे ।

अनुसन्धानका क्रममा १० जनासँग सोधपुछ गरी जिम्मा जमानीमा छाडेको थियो । घटनामा प्रत्यक्ष संलग्न भएकालाई डेरा कोठा बिहीबार पक्राउ गरेको एसपी कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया