जिपी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउः नेता पौडेल

समाधान संवाददाता २०७५ माघ २२ गते १७:४३

राजन उपाध्याय–दुलेगौंडा

नेपाली काङग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जिपी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकालाई आग्रह गरेका छन् ।

तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको मंगलवार अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् । यसअघिको सरकारले गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । ‘देउवा नेतृत्वको मन्त्रिपरिषदबाट नाममा सुधार गरि स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय भएको छ,’ उनले भने ‘वर्तमान सरकारले निर्णयलाई कार्यान्वयन गरेन ।’

Advertisement

सरकार विदाई हुने बेलामा भएका निर्णय मुख्य सचिवले थन्क्याएर राखिदिएको उनले दाबी गरे । नेता पौडेलले तत्कालिन समयमा सम्बन्धित मन्त्रीहरुले चासो नदिएकाले पनि निर्णय कार्यान्वयन नभएको टिप्पणी गरे । ‘समस्या हामीसँग पनि छ, हाम्रा मन्त्रीहरु पनि साह्रै सोझा हुन कि के हुन, उनले भने ‘निर्णय गरेर छाड्दिए, तत्कालै फाइल अघि बढ्यो, बढेन भनेर खोजेको भए मुख्य सचिवले लुकाउन पाउथेनन् ।’

उनले नेपाली काङ्ग्रेसको आन्दोलनका कारण अस्पताल संघ मातहत राख्न सकेको बताए । ‘अस्पताल सबैको हो उनले भने, अब यसलाई सुधार गर्दै प्रभावकारी सेवा दिने बनाउनुपर्छ ।’ अस्पतालको विकासको लागि आफू सधै तत्पर रहने बताउदै उनले सबै मिलेर डिलीगेसन आउन आग्रह समेत गरे । सोहि अवसरमा बरिष्ठ नेता पौडेलले अस्पतालको नाममा रहेको जग्गा अवलोकन गरेका थिए ।

Advertisement

नेपाली काङग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले अस्पतालको नामको विषयमा अब अल्झिनुभन्दा जनतालाई सर्वसुलभ सेवा दिनु आजको आवश्यकता भएको बताए । देउवा प्रधानमन्त्री रहदा भारत सरकारले अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता जनाएको बताउदै उनले वर्तमान सरकारले चासो दिनुपर्ने उल्लेख गरे ।

सो अवसरमा अस्पतालका निवर्तमान सदस्य शेषमणि आचार्यले नामकरणको विषयमा कुनै मदभेद नरहेको स्पष्ट पारे । उनले अस्पतालमा भएको समस्या केन्द्रस्तरमा बसेर टुङ्ग्याउन बरिष्ठ नेता पौडेललाई आग्रह गरे । ‘कतिपय तपाईकै पार्टी भित्र पनि समस्या छ, कति केन्द्र मातहतमा छ उनले भने, तपाईले यसको पहल गर्नुपर्छ ।’

अस्पतालका कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठले एक हप्ता भित्र अस्पताललाई ५० शैय्याको बनाउन लागिएको जानकारी दिए । वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापाले चन्दादाताको भावना अनुसार अस्पतालले गति लिन नसकेको गुनासो गरे । काङग्रेस नेता श्रीराम सुवेदी, बालकृष्ण पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया