डेरामै बेहोस भेटिएका थिए वरिष्ठ अधिवक्ता निर्मल कार्की

समाधान संवाददाता २०७७ जेठ २० गते १९:५४

समाधान संवाददाता
पोखरा

वरिष्ठ अधिवक्ता निर्मल कार्की मंगलबार बिहान पोखराको आफ्नै डेरामा बेहोस अवस्थामा भेटिएका थिए ।


पोखराको सिमलचाैर नजिकै बस्ने उनलाई बिहान ७ बजेतिर सरसफाइ गर्ने महिलाले बेहोस अवस्थामा देखेपछि अन्यलाई खबर गरेकी थिइन् । घरबेटी भूइँ तलामा र कार्की पहिलो तलामा बस्दै आएका छन् ।

Advertisement

घरमा बस्दा प्राय खुला कपडा लगाउन रुचाउने कार्कीले त्यतिबेला भने सर्ट, पाइन्ट र पेटी समेत लगाएका थिए । उनी लडेको ठाउँ नजिकै बान्ता गरेको देखिए पनि बान्ता सुकिसकेको थियो ।

भोजपुर स्थायी घर भएका कार्की पोखरामा एक्लै बस्दै आएका छन् । उनको परिवार भने काठमाडौंमा बस्दै आएको छ । उनलाई बिहान तत्कालै गण्डकी मेडिकल लगेर उपचार थालिएको थियो । उनको शरीरमा पानीको मात्र निकै कम भएकाले त्यही अनुसार उपचार थालिएको चिकित्सकले बताएका छन् ।

Advertisement

पोखरामा उनको एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान लगायत अन्य परीक्षण गरिएको उच्च बार पोखराका अध्यक्ष रोहितराज बास्तोलाले बताए । पोखरामै उपचार गराउने कि काठमाडौं लैजाने भन्ने बारेमा बिहान धेरैबेरसम्म निक्र्यौल हुन सकेको थिएन ।

शरीरमा सोडियमको मात्रा कम भएकाले तत्काल काठमाडौं लैजान चिकित्सकले सुझाएपछि हेलिकोप्टरको जोहो थालिएको थियो । एम्बुलेन्सबाट काठमाडौं पु¥याउँदा जोखिम र ढिलो हुने भएकाले तत्काल हेलिकोप्टरको खोजिएको हो । तर लकडाउनका बेला भनेको बेला हेलिकोप्टर उडान गर्न नपाइने र गृह मन्त्रालयको स्वीकृति चाहिने भएकाले त्यतिबेला पनि केही अलमल भएको थियो ।


सबै प्रकृया पुर्‍याएर हेलिकोप्ट उडाउँदा पौने १ जति बजेको थियो । उनलाई काठमाडौं पुर्‍याउन उच्च बार पोखराका अध्यक्ष रोहितराज बास्तोला र अधिवक्ता चिनु रानाभाट गएका थिए । उनीहरु त्यही हेलिकोप्टरमा फर्केका थिए ।


ह्याम्स हस्पिटलकाे आइसियुमा अहिले कार्कीको उपचार भइरहेको छ । होस नखुले पनि अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै अध्यक्ष बास्तोलाले बताए ।

पृथ्वीनारायण क्याम्पस पोखरामा कानुन संकाय प्रमुख समेत रहेको वरिष्ठ अधिवक्ता कार्की निष्ठावान कानुन व्यवसायीका रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया