जोमसोम र लोमान्थाङमा खेलग्राम

समाधान संवाददाता २०७७ असार ५ गते १७:१६

एसके थकाली
जोमसोम

मुस्ताङको घरपझोङ गाउपालिका—४ जोमसोममा अत्याधुनिक खेल पूर्वाधार (खेलग्राम) निर्माणको काम सुरुआत भएको छ । दीर्घकालीन महत्वको १ स्थानीय तह १ खेलग्रामसहितको पूर्वाधार निर्माण गर्ने योजना अनुसार मुस्ताङको जोमसोममा इन्डोर खेलग्राम निर्माण हुन लागेको घरपझोङ गाउपालिकाले जनाएको छ ।


एउटै खेलग्राम निर्माणका लागि २ निकायबाट बजेट प्राप्त भएकाले पालिका र खेलकुद विकास समितिका २ उपभोक्ता समितिले काम गरेका छन्

Advertisement

वहुवर्षीय योजना अन्र्तगतको उक्त खेलग्राम निर्माण गर्न करिब ६ करोड लागत अनुमान गरिएको छ । जोमसोममा निर्माणाधीन खेलग्रामका लागि चालु आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयको ५० लाख, राष्ट्रिय खेलकुद परिषदको ४० लाख, घरपझोङ गाउँपालिकाको समपूरक बजेट २१ लाख र स्थानीय जनश्रमदान वापतको १० लाख गरी कुल १ करोड २१ लाखको काम हुने घरपझोङका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए ।

खेलग्रामका निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले ५० लाख स्थानीयतहलाई पठाएको छ भने राष्ट्रिय खेलकुद परिषदले ४० लाख बजेट जिल्ला खेलकुद विकास समितिलाई पठाएको इन्जिनियर शर्माले बताए ।

Advertisement

चालु आवको प्राप्त बजेटको लागत स्टिमेट तयार गरी सुरुआती फाउन्डेसन निर्माण लगायतको काम भइरहेको छ । एउटै खेलग्राम निर्माणका लागि २ निकायबाट बजेट प्राप्त भएकाले पालिका र खेलकुद विकास समितिका २ उपभोक्ता समितिले काम सञ्चालन गरेको जिल्ला खेलकुद विकास समितिका सचिव सुमन थकालीले जानकारी दिए ।

१ स्थानीय तह १ खेलग्राम निर्माणका लागि प्रदेश खेलकुद विकास समितिले डिपिआर तयार गरेको हो । जोमसोममा बन्ने खेलग्राम पूर्वाधार अन्र्तगत २ तले पक्क्ी भवन, इन्डोर खेल मैदान, अफिस बिल्डिङ, चेन्जिङ रुम, प्यारापिट, भिआइपी कक्ष, मेडिसिन हल र शौचालय लगायतका संरचना निर्माण हुनेछन् ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा बर्सेनि १ पटक थाक खेलकुद तथा सांस्कृतिक विकास संघले थाक भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

यस्तै, बर्सेनि अन्तर विद्यालय राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद कार्यक्रम सञ्चालन हुने गरेको छ । समुद्री सतह देखि २५ सय मिटर उचाइमा अवस्थित हिमाली जिल्ला मुस्ताङमा इन्डोर खेलकुद मैदान नहुदा समस्या पर्दै आइरहेको थियो । यहाँ बेजोडको हावा चल्ने हुनाले खेल सञ्चालन गर्न कठिन पर्ने गरेको छ ।

यसै, वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ—४ किम्लिङमा पनि करिब ६ करोड लागतकै अत्याधुनिक खेलग्राम निर्माणको काम भइरहेको गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले जानकारी दिए । उनका अनुसार खेलग्राम निर्माण गर्न चालु आवमा मन्त्रालयले १ करोड बजेट बिनियोजन गरेको छ । खेलग्राम निर्माणले लोछोदिन क्षेत्रका खेलकुद विकासमा महत्वपूर्ण टेवा पुग्ने सांसद बिष्टको भनाइ छ । अहिले त्यहाँ खेलग्रामका लागि जग्गा सम्याउने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया