ग्रीन डेभलपमेन्टको वार्षिकोत्सवमा आकस्मिक रक्तदान

समाधान संवाददाता २०७७ भदौ ९ गते १०:४३

पोखरा

पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक स्थापनाको सातौं वर्ष पार गरी ८ वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान लगायत विविध कार्यक्रम गरेको छ । बैंकले मंगलबार बिहान अवसरमा केन्द्रीय कार्यालय परिसर पाेखरामा आकस्मिक रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १३ युनिट रगत संकलन भएकाे छ ।

Advertisement

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम र यसले निम्त्याएको विषम परिस्थितिमा भइरहेको रगतको अभावलाई कम गर्न बैंकले रक्तदान कार्यक्रम गरेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न बैंकले गरेको पहल अनुकरणीय रहेको बताए । नियमित रक्तदान कार्यक्रम निषेधाज्ञाका कारण रोकिएकाले पोखरामा रगतको अभाव भएको भन्दै उनले विभिन्न संघ संस्थालाई आकस्मिक रुपमा भए पनि कार्यक्रम गर्न आग्रह गरे ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले स्वस्थ व्यक्तिले हरेक ३ महिनामा रगत दान गर्न सक्ने बताए । उनले भने, ‘रगत दान गरेर कमजोर भइन्छ भन्ने होइन, खेर जाने रगतले कसैको ज्यान बच्न सक्छ ।’

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ का ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले लायन्स मात्र नभएर अन्य संघसंस्थाले यो अवसरमा कार्यक्रम गरेर पोखरामा रगतको अभाव पूर्ति गर्न आह्वान गरे ।

बैंकको शाखा प्रबन्धक तथा लायन्स क्लब अफ पोखरा भद्रकालीका अध्यक्ष संयुक्त धाख्वाले क्लबले सोमबारदेखि साताव्यापी कार्यक्रम आयोजना गरेको भन्दै पोखराका मुख्य चोकहरु कार्यक्रम गरिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीयस्तरमा छरिएर रहेको पुँजी एकीकृत गरी स्थानीयस्तरमै सञ्चालित उद्यमशीलतासँग सम्वन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउँदै आएको बताए ।
यो बैंक पोखरामा मुख्य कार्यालय रहेको गण्डकी प्रदेशको एकमात्र विकास बैंक हो ।

वार्षिकोत्सवका अवसरमा बैंकले वागलुङस्थित हनुमान नाच संरक्षण परिषद् (राम मन्दिर)को संरक्षरण तथा प्रवद्र्धनका लागि आर्थिक सहयोग समेत प्रदान गरेको छ । बैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठले चेक हस्तान्तरण गरे । वागलुङ जिल्लामा स्थापना भई हाल गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरिसकेको बैंक भविष्यमा प्रदेशस्तरको अग्रणी बन्ने सञ्चालक श्रेष्ठले बताए ।

बैंकले हाल कास्की, वाग्लुङ, म्याग्दी र नवलपुर जिल्लामा रहेका १३ वटा शाखा कार्यालयबाट विभिन्न किसीमका आधुनिक बैंकिङ सुविधा, मोबाइल बैंकिङ, निशुल्क एटिएम कार्ड, कनेक्ट आइपिएस जस्ता सुविधाका प्रदान गर्दै आएको छ । बैंकले बचत तथा मुद्दती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ । बैंकले छिटै नै तनहुँ जिल्लामा २ वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको सिइओ आचार्यले बताए ।

तपाईको प्रतिक्रिया