मुस्ताङमा भ्युटावरे विकास

समाधान संवाददाता २०७७ भदौ २२ गते ११:०८

एसके थकाली
जोमसोम


मुस्ताङका स्थानीय तहहरुले पर्यटक आकर्षित गर्न भ्यूटावर निर्माण गर्ने होड चलाएका छन् । सन् २०१० को सेरोफेरोमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले मुस्ताङको जोमसोम बजार पूर्वतर्फ अग्लो उचाइमा भ्युटावरको निर्माण थालनी गर्‍यो ।


पर्यटन प्रवद्र्धन हुन सके पर्यटकको ओइरो लाग्ने दाबी

Advertisement

त्यसताका एक्यापले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ९ करोड रुपैयाँ बजेट खर्चिएर भ्युटावर निर्माण गर्‍यो ।

एक्यापले भ्युटावर निर्माण अघि बढाउन संरक्षण व्यवस्थापन समितिलाई जिम्मा दिएको थियो । एक्यापको लगानीमा निर्माण भएको भ्युटावर फलामे ट्रससहित माथिल्लो भागमा गोलाकार दृश्यावलोकन गर्ने ठाउँ बनाइएको छ । एक्याप र स्थानीय संरक्षण व्यवस्थान समिति (सिएमसी )ले कठिन मेहनतका साथ त्यसलाई ६ वर्ष लगाएर निर्माण सम्पन्न गर्‍यो ।

Advertisement

भ्युटावर बने पनि त्यहाँ पुग्न पर्यटकलाई सडक सञ्जालको पहुँच नहँुदा कठिन बन्न पुग्यो । अहिले भ्युटावर जाने मार्गको केही तल गण्डकी प्रदेश सरकारले घरपझोङ—५ ठिनी हुँदै तिलिचो जाने नमखुसम्म मोटर बाटो बिस्तार गर्न थाल्यो । जसका कारण भ्युटावर जान केही सहज भयो । पछिल्लो समय स्थानीय तहकै सहयोगमा प्रदेशले विस्तार गरेको बाटोलाई जोडेर भ्युटावरसम्म मोटर बाटो विस्तार भइसकेको छ ।

समुद्री सतहदेखि अग्लो उचाइमा निर्माण सम्पन्न भएको भ्युटावर नजिक अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले शौचालय र विश्रामस्थल समेत निर्माण गरेको एकयापका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए । निकै रमणीय र आकर्षक स्थानमा अवस्थित भ्युटावरसम्म मोटर बाटो बिस्तार भएपनि प्रचारको अभावले पर्यटक पुग्न नसकेको स्थानीय जनप्रतिनिधि सुकेन्द्र थकालीले बताए ।

उनले भ्युटावर आसपासमा चाहिने पूर्वाधार निर्माण गर्न अझै बाँकी रहेको जानकारी दिए । यो स्थान निकै लोभलाग्दो ठाउँ भएको र यहाँ आएका पर्यटकले स्वर्ग नै पुगेको अनुभूति गर्न सक्ने थकालीले उल्लेख गरे ।
यसअघि सदरमुकाम जोमसोमबाट करिब ४ घन्टा बेसी लाग्ने भ्युटावर गन्तव्य अहिले कच्ची सडक विस्तारसँगै सवारी साधनबाट आधा घन्टामै पुग्न सकिने भएको छ । जोमसोमस्थित रिजाल स्टोर्सका प्रोपाइटर विष्णु रिजालले भ्युटावरको पर्यटन प्रवद्र्धन हुन सके पर्यटकको ओइरो लाग्ने दाबी गरे । उनले भ्युटावर गन्तव्यले मुस्ताङ सदरमुकाम जोमसोमका पर्यटन व्यवसायीलाई थप फाइदा पुग्ने जनाए । उचित प्रचार भए मुक्तिनाथ, कागबेनी र उपल्लो मुस्ताङ जाने पर्यटक यहासम्म आउने व्यवसायी रिजालको भनाइ छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा विभिन्न पर्यटकस्थल छन् । ढुम्बाताल, स्नोलियोपार्ट, कुछ्प तेरङ्गा गुम्बा, कैसाङ खर्क, स्याउबारी र भ्युटावर अवलोकन गर्न एकदिने साइटसिन बन्ने ठिनीका स्थानीय नरेन्द्र थकालीले उल्लेख गरे । यारुझो भ्युटावरबाट पूर्वको नीलगिरि हिमाल र पश्चिमको धौलागिरी हिमाल दृश्य मनमोहक देखिन्छ । यहाँबाट उत्तरतर्फ कोरलानाकासहित तिब्बती भूगोल देख्न सकिन्छ । भ्युटावरबाट मानापाथी हिमाल, याकधवा हिमाल, तिलिचो पिक, मेसोकोन्तो पास, मनाङ र मुस्ताङ जोडिने थोरङ्लापास समेतको दृश्यावलोकन गर्न सकिने छ ।

भ्युटावरबाट मुस्ताङको अधिकांश भूगोल देखिने भएकाले यस स्थानलाई पर्यटक हबको रुपमा विकास गर्न आवश्यक देखिएको हो । पछिल्लो समय सडक सञ्जाल जोडिएकाले स्वदेशी तथा विदेशी चलचित्र छायांकन गर्नसमेत सजिलो भएको छ ।

मुस्ताङको यारुझो भ्युटावर । तस्बिर ःएसके थकाली ।

तपाईको प्रतिक्रिया