सहारा क्लबको वार्षिकोत्सवमा रक्तदान

पोखरा
सहारा क्लब पोखराले आफ्नो २२ औं वार्षिकोत्सवमा सोमबार रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सम्पन्न श्रेष्ठले अब सहाराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने तर्फ ध्यान दिनुपर्ने खाँचो औंल्याए । ‘गण्डकी प्रदेशले खेलकुद मन्त्री पाएको हुनाले नै अहिले धेरै खेलकुद पूर्वाधारहरुको निर्माण सम्भव भएको छ,’ उनले भने, ‘अब सहाराले यी पूर्वाधारहरुमा खेलाडी उत्पदान गर्दै गण्डकी प्रदेशको फुटबलको भविष्य माथि उठाउनु पर्छ ।’ उनले सहाराले गरेको योगदानको जति प्रशंसा गरे पनि कम हुने भन्दै नयाँ परियोजना निर्माण गरेर अघि बढे राखेपले त्यसमा सदैव साथ दिने बताए ।
कोभिड १९ को महामारीबीच पनि क्लबले आफ्नो संस्थाको वार्षिकोत्सव कार्यक्रमलाई निरन्तरता दिँदै रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको सहारा क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । गंगाराज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा ५८ औं पटक कृष्णप्रसाद तिवारीले रक्तदान गरेका छन् । उक्त अवसरमा ४ जना महिलाले समेत रक्तदान गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
सो अवसरामा रक्त सञ्चार केन्द्रका प्राविधिक अधिकृत महेन्द्रबहादुर केसीले संस्थागत रक्त संकलन प्रमाण पत्र हस्तान्तरण गरे । कार्यक्रममा क्लब पूर्वअध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्य, प्रथम उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको सहभागिता रहेको क्लबले जनाएको छ ।
प्रकाश पुरस्कृत हुने
सहारा उत्कृष्ट सदस्य पुरस्कारबाट यस वर्ष क्लबका सदस्य प्रकाश रानामगर सम्मानित हुनेभएका छन् । क्लबले हरेक वर्ष प्रदान गर्दै आएको सहारा सदस्य उत्कृष्ट पुरस्कारबाट यस वर्ष राना सम्मानित हुने भएका हुन् ।
क्लबका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा क्लब को यही भदौ २३ गते बसेको बैठलले उक्त निर्णय गरेको क्लबले जनाएको छ । रानाले क्लवमा उल्लेखनीय योगदान पुराएको भन्दै क्लबले २२ औं वार्षिकोत्सव अवसरमा यही भदौ ३० गते सम्मान गर्ने भएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
२०७२ साल देखि क्लव आबद्ध रानालाई सम्मान पत्र, सहित दोसल्ला र मायाको चिनोबाट सम्मानित गरिने भएको छ । उक्त अवसरमा पत्रकार इन्द्रप्रसाद पौडेललाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।
तपाईको प्रतिक्रिया