पशुपतिघाट क्रिकेट मैदानको डिपिआर तयार

समाधान संवाददाता २०७७ असोज १३ गते ९:३३

अनिष भट्टराई, पोखरा

पोखरा महानगरपालिका ३३ स्थित पशुपतिघाट पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

गण्डकी प्रदेश सरकारले निर्माण गर्ने रंगशालाको बिआरएस इन्जिनियरिङ सोलुसनले डिपिआर तयार गरेको हो । बिआरएसले क्रिकेट मैदान निर्माण लागत १ अर्ब ६३ करोड ६३ लाख रुपैयाँ लाग्ने प्रतिवेदन तयार गरेको छ ।

Advertisement

डिपिआरका लागि प्रदेशले वैशाखमा बिआरएसलाई चयन गरेको थियो । बिआरएसले प्रारम्भिक डिपिआर असारमा बुझाएको थियो ।

प्रारम्भिक डिपिआर अनुसार रंगशाला निर्माणमा १ अर्ब १९ लाख खर्च लाग्ने अनुमान गरिएको थियो । तर प्रदेशले रंगशालाको सुविधा थपेर अत्याधुनिक बनाउने भनेपछि १ करोड ६३ करोड बराबरको खर्च लाग्ने गरी डिपिआर बनेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं युवा तथा खेलकुद महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले बताए ।

Advertisement

पोखरा ३३ मा रहेको पशुपतिघाटको १७४ रोपनी जग्गा रंगशाला बनाउन सरकारले भोगाधिकार प्रदेशलाई स्वीकृति दिएपछि निर्माणको प्रक्रिया थालिएको थियो ।

डिपिआर अनुसार सेती नदीको किनारमा रहेको मैदानका लागि १२३ रोपनी जग्गामात्र आवश्यक छ ।

सेती नदीले पहिलेका वर्षमा पूर्वतर्फ कटान गथ्र्याे । सोही अनुरुप पश्चिममा रंगशाला निर्माण गर्ने सोच प्रदेश सरकारको थियो । तर यसवर्षको लगातारको वर्षाले पश्चिममा पनि कटान गरेपछि बिआरएसले जग्गा संरक्षणका लागि पनि डिपिआर बनाउने जनाएको छ ।

बिआरएसका इन्जिनियर विशाल पुनमगरले पश्चिममा कटान गरेकाले आउँदा वर्षमा पनि रंगशालाका संरचनातर्फ कटान गर्न सक्ने भएकाले डिपिआर बनाइने बताए ।

‘पिच बनाउने काम सकेपछि कटान गर्दा हुन सक्ने क्षतिलाई हेर्दै जग्गा संरक्षणका लागि डिपिआर बनाउँछांै,’ पुनले भने । यसका लागि भौतिक तथा पूर्वाधार मन्त्रालयका प्राविधिकसँग छलफल भइरहेको उनले बताए ।

अबको एक महिनामा नदी र त्यहाँका अन्य प्राकृतिक स्रोतबारे अध्ययन सकाउने पुनले सुनाए ।

निर्माण सुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्याकंन गरिने मन्त्रालयका प्रवक्ता तेजप्रसाद काफ्लेले जनाए ।

वातावरण संरक्षण ऐन २०७७ को प्रावधान अनुसार कुनैपनि मैदान तथा मानिस धेरै जम्मा भइरहने ठाउँमा वातावरणीय प्रभाव मूल्याकंन आवश्यक पर्छ ।

डिपिआर अनुसार रंगशालाभित्रअभ्यास नेट्स, पेभेलियन, मिडिया बक्स, डिस्प्ले बोर्ड, पार्किङ तथा अन्य संरचना बनाइनेछन् ।

बिआरएस इन्जिनियरिङ सोलुसनले गराएकोे डिपिआर अनुसार पशुपतिघाट क्रिकेट रंगशाला

रंगशाला निर्माणको पहिलो चरणमा कंक्रिट डिफेन्स वाल लगाइने काफ्लेले बताए ।

आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेश सरकारले रंगशाला निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । कुल अनुमानित खर्चको १.२३ प्रतिशत रहेको बजेटले यस वर्षमा जग्गा संरक्षणको मात्र काम हुन सक्छ ।

तर मन्त्रालयका प्रवक्ता काफ्ले भने आगामी वर्ष मुख्यमन्त्री कार्यालयले बजेट बढाउने आश्वासन दिएकाले बजेट बढ्नेमा आशा देखाउँछन् ।

उनका अनुसार अबको २ वर्षमा मैदान खेल्नतयार हुनेछ र बाँकी संरचना निर्माणका काम क्रमानुसार बढ्नेछ ।

दोस्रो चरणमा लेबलिङको काम हुनेछ । बिआरएस इन्जिनियरिङका इन्जिनियर विशाल पुन पर्याप्त बजेट पाए ३२ महिनामा काम सक्ने जनाउँछन् ।

अन्योलमा पोखरा अन्तर्राष्ट्रिय मैदान

पशुपतिघाट क्रिकेट मैदानका लागि २ करोड बजेट पर्दा यस आवमा पोखरा अन्तर्राष्ट्रिय मैदानले भने केन्द्रबाट २५ लाख रुपैयाँमात्र आएको छ । अघिल्लो वर्ष आएको ४ करोड रुपैयाँ काम हुन नसक्दा फ्रिज भएको थियो ।

प्यारापिट, प्लेयर बक्स, पिचको स्तरोन्नति तथा तार जाली लगाउनउक्त बजेट विनियोजन भएको थियो । यद्यपि चैतमा मात्र टेन्डर आह्वान गर्दा नपरेपछि काम हुन सकेको थिएन ।

अहिले परेको २५ लाख बजेट केमा खर्च गर्ने भन्नेबारे जिल्ला क्रिकेट संघ, कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलनै अन्योलमा छन् । तार जाली लगाउँदा करिब ३० लाख बजेट लाग्ने र अरुकाममा पनि बजेट अपुग हुने भएपछि अन्योल छाएको हो ।

‘फेन्सिङको काम नै ३० लाख लाग्छ, यो बजेटले के गर्ने हामी नै दोधारमा छौँ,’ सिग्देलले भने । अहिले अरु निकायबाट पैसा मागेरै भएपनि फेन्सिङको काम गर्नेमा भने उनी आशावादी देखिन्छन् ।

सरकारका ३ तहबीच समन्वय नहुँदा मैदानमा अहिले बजेट पर्याप्त नपरेको सिग्देल बताउँछन् ।

उनले अझैपनि १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा खर्च भएको ४८ लाखमध्ये २८ लाखको भुक्तानी नपाएको दाबी गर्छन् ।यसकारण साग दौरान खरिद उपकरण फिर्ता गर्न चाहेको उनले बताए ।

‘अहिलेसम्म सागको भुक्तानी पाएनौँ, सामान फिर्ता गर्ने मनसाय बनाएका छौँ । स्टोरमा पनि राखेपले मानिस राखिदिएपछि सामान अलपत्र परे,’ उनले सुनाए ।

तपाईको प्रतिक्रिया