जोमसोममा बस टिकट काउन्टर खुल्ला

एसके थकाली, जोमसोम
मुस्ताङदेखि सञ्चालन हुने लामोदुरीको बसको टिकट बुकिङ काउन्टर शनिबारदेखि खुलेको छ । लकडाउनको ७ महिनापछि काउन्टर खुलेको हो । नेपाल सरकारले गत असोज १ गतेदेखि लामोदुरीका यातायात तथा आन्तरिक उडान खुला गर्ने निर्णय गरे पनि मुस्ताङ दुबै सेवा सञ्चालन हुन सकेको छैन ।
जोमसोमदेखि काठमाडौं र पोखराका लागि घोडाघोडी यातायात, पोखरा-बेनी-मुस्ताङका लागि म्याग्दी कोरला यातायात र मुस्ताङ मुक्तिनाथ यातायात प्रालि लगायतले काउन्टर खोलेका हुन् ।
म्याग्दी कोरलाले सोमबारदेखि मातहतका बस आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने जनाएको छ । प्रालिका प्रतिनिधि पेमाछेतेन विकले कोभिड—१९ को संक्रमणलाई मध्यनजर गर्दै २६ सिटे बसमा आधा यात्रु घटाएर चलाउने तयारी गरेको बताए ।
उनले बसमा यात्रु क्षमता अनुसार सेवा दिने अवस्था नभएकोले साविक भाडादरमा ५० प्रतिशत वृद्धि गर्ने बताए ।
घोडाघोडीका प्रतिनिधि सुनदेवी रसाइलीले यात्रुवाहक बस शुक्रबार मुस्ताङका लागि छुटेको भएपनि बेनी—जोमसोम सडकको अवस्थाको कारण आउन नसकेको जनाइन् ।
मुस्ताङ मुक्तिनाथले हालका लागि जोमसोमदेखि पोखरा लामोदुरीको सानो जिप मात्र चलाउने अध्यक्ष राजुप्रसाद लालचनले जानकारी दिए । उनले सडकको अवस्था सहज भएपछि जिप र बस एकैसाथ सञ्चालनमा ल्याउने स्पष्ट पारे ।
पहिरोका कारण अवरुद्ध बेनी जोमसोम सडकखण्ड कामचलाउको रुपमा खुला भएपनि नियमित रुपमा सवारी चलाउन जोखिम छ ।
घोडाघोडी यातायातका सवारी चालक राजन पुरीले सडक दुरावस्थाको कारण हल्का फोरह्वील सवारी मात्र चल्न सके पनि ठूला बस चलाउन चुनौतीपूर्ण रहेको लालचनले उल्लेख गरे ।
चालक पुरीका अनुसार म्याग्दीको जलेश्वर, राहुघाट, लाटा खोला, नारच्याङ, रुप्से झरना र मुस्ताङको थासाङ—४ मिसी लगायता स्थानमा अझै पनि सडक जोखिमपूर्ण छ ।
हवाई सेवा अन्योलमा
लामोदुरीका यातायात खुल्ने तयारी भएता पनि मुस्ताङमा हवाई सेवा सञ्चालन बारेको अन्यौल कायमै छ । सडकको दुरावस्थाको कारण हवाई सेवा चलेको खण्डमा स्थानीयले राहात महसुस गर्ने थिए ।
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक विकले पोखरादेखि जोमसोम हवाई उडानबारे औपचारिक निर्णय नभएको जानकारी दिए ।
हवाई सेवा सञ्चालनको लागि प्रतिनिधि सभाका सदस्य प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेश सभाका सदस्य ईन्द्रधारा बिष्टले निजी हवाई कम्पनीका प्रतिनिधिसँग छलफल चलाएका छन् ।
तारा एयरलाइन्सका पोखरा कार्यालय प्रमुख राम लामिछाने मुस्ताङका जनप्रतिनिधिको प्रस्ताव कम्पनीलाई पठाएको जानकारी दिए । हवाई सेवा चलाउने बारे कम्पनीले छिट्टै औपचारिक निर्णय गर्ने लामिछानेले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया