खुले उपल्लो मुस्ताङका विद्यालय

समाधान संवाददाता २०७७ असोज २७ गते १६:०२

एसके थकाली, जोमसोम

उपल्लो मुस्ताङका विद्यालयले पठन सुरु गरेका छन् । कोभिड—१९ कारण ७ महिनादेखि बन्द विद्यालयले गत हप्ताबाट नियमित कक्षा संचालनमा ल्याएका हुन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक, निजी र गुम्बा विद्यालयहरुको पठनपाठन सुरु भएको हो ।

Advertisement

लोमान्थाङमा एक माविसहित १० सामुदायिक विद्यालय, २ निजी र ४ गुम्बा विद्यालय छन् । लोघेकर दामोदरकुण्डमा ८ सामुदायिक र २ गुम्बा विद्यालय छन् ।

सरकारले असोज १ गतेदेखि विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरे पनि लोमान्थाङमा होमस्कुलिङ कक्षाबाहेक वैकल्पिक माध्यमको कुनै कक्षा संचालनमा आउन सकेको थिएन ।

Advertisement

लोमान्थाङकी शिक्षा अधिकृत मिरादेवी शर्माले गाउँपालिका, विद्यालय र अभिभावकको सहमतिपछि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा मापदण्ड अपनाएर साविक अनुसार कक्षागत पठनपाठन सुरु गरेको बताइन् ।

लोमान्थाङको एकमात्रै मावि दिव्यदीप मावि छोसेरमा सबै कक्षा स्थानीय तहको अनुमतिपछि कक्षा संचालनमा आएको विद्यालयको प्रअ रामुप्रसाद श्रेष्ठले बताए । उनका विद्यालयमा ८० विद्यार्थी छन् । कुलमध्ये ३१ विद्यार्थी कास्की, बाग्लुङ र म्याग्दी लगायतका जिल्लामा छन् ।

उनीहरुलाई कल ट्रि कै माध्यमबाट कक्षा सहजीकरण गरिएको प्रअ श्रेष्ठले बताए । विद्यालयमा अधिकांश स्थानीय विद्यार्थी रहेको र विद्यालय आउने कक्षा १ देखि ३ सम्मकालाई बालविकास कक्षा भवनमा र कक्षा ४ देखि १० सम्मकालाई विद्यालयमै साविक बमोजिमको पठनपाठन गराइएको प्रअ श्रेष्ठले बताए ।

‘विद्यार्थीलाई विद्यालयमा पढ्न आउन खबर गरेका छौं । यहाँ स्थानीय शिक्षक र जिल्ला बाहिरका गरी ६ जना शिक्षक मात्रै छाैँ,’ प्रअ श्रेष्ठले भने, ‘अरु शिक्षक आउँदै छन्, केही शिक्षक आउने क्रममा छन् ।’

एसइई दिने कक्षा १० का विद्यार्थीलाई विशेष प्राथमिकता दिएर पढाई संचालन गरेको प्रअ श्रेष्ठले स्पष्ट पारे ।

दिव्यदीप मावि कक्षा १० मा अध्ययनरत छात्रा पेमाढोमा गुरुङले लामो सयमपछि विद्यालय जान पाउँदा अत्यन्तै खुसी लागेको सुनाइन् । उनले विद्यालय बन्द हुँदा घरमै बस्दाबस्दै दिक्क लागेको बताइन् ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा संचालित सामुदायिक विद्यालयमा पनि घर गएका शिक्षक कार्यस्थल फर्किएसँगै विद्यालयको पठनपाठन संचालनमा आएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।

यसअघि वैकल्पिक कक्षा अन्तर्गत घिलिङ र घमी विद्यालयमा मात्रै पढाई भएकोमा शिक्षक आएपछि पुरै विद्यालयमा पढाई सुरु गरिएको अध्यक्ष बिष्टले बताए । वारागुङ मुक्तिक्षेत्रमा पनि विद्यालय खुलेको छ ।

सरकारले जेठ २८ गते वैकल्पिक प्रणालीको रेडियो, टेलिभिजन र अनलाइन कक्षा संचालन गर्न निर्देशन जारी गरेको थियो । तर उपल्लो मुस्ताङमा शिक्षक कार्यस्थलमा नरहेको र दुरशिक्षाको श्रव्यदृष्य सामाग्रीको पहुँच नभएको तथा अनलाइन कक्षाका लागि इन्टरनेटको सुविधा नहुँदा पठनपाठन ठप्प थियो ।

लोमान्थाङ गाउँपालिकाले यसअघि विद्यार्थीलाई घरघरमा पढ्नसक्ने गरी होमस्कुलिङ प्रदान गरेको थियो ।

दिव्यदीप मावि छोसेरले भने आफ्ना ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई फोनबाटै सिकाई सहजीकरण गराउन कल ट्रि शिक्षा टेलिफोन विधि अपनाएको थियो । तर उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा कुनै प्रकारको वैकल्पिक प्रणालीको कक्षा संचालन भएको थिएन ।

जिल्लाको थासाङ र घरपझोङ गाउँपालिकाका विद्यालयले भने दुरशिक्षा अन्र्तगत श्रव्यदृष्य कक्षा संचालनमा ल्याएका थिए ।

मुस्ताङमा कुल ६४ सामुदायिक विद्यालय छन् । जसमध्ये जिल्लाका कतिपय विद्यालयले यतिखेर जोरबिजोर कक्षा र कतिपय विद्यालयले कक्षागत विद्यार्थी विभाजन गरी पठनपाठन गरेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकराज बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया