कमालकाे हैदरावाद, काेलकतालाई जिल्याउदै प्लेअफमा

समाधान संवाददाता २०७७ कार्तिक १९ गते ७:५२

एजेन्सी ।

कुनै बेला अंक तालिकाकाे पुच्छारमा रहेकाे सनराइजर हैदरावादे लिग चरणकाे अन्तिम खेलमा शीर्ष स्थानकाे मुम्बई इण्डियनलाई सहजै परािजत गर्दै प्लेअफकाे यात्रा मात्र तय गरेन, काेलकाताकाे प्लेअफ पुग्ने सपना चकनाचुर पारिदियाे भने रनरेटमा राेयल च्यालेन्जर बैङ्गाेरलाई पछि पार्दै तेश्राे स्थानमा पनि उक्लियाे ।

सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको हाे ।

Advertisement

सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

Advertisement

हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान साहाले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेले । वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए ।

साहा ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे ।

वार्नर र साहाले पहिलो विकेटका लागि अविजित रहदै १ सय ५१ रनको साझेदारी गरेपछि हैदराबादले सानदार जित निकालेको हो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । यस्तै सूर्यकुमार यादबले ३६ रन जोड्दा इशान किसनले ३३ रन जोडे । क्विन्टन डी कक २५ रनमा आउट भए ।

मुम्बईलाई सस्तैमा रोक्न हैदराबादका सन्दीप शर्माले ३ विकेट लिए । जासन होल्डर र साहबाज नादिमले २/२ विकेट लिए ।

जितसँगै हैदराबाद तेस्रो स्थानमा रहदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोड्यो ।

हैदराबाद प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पुरा भएको छ ।

हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ ।

बैंगलोर १४ अंक जोडेर चौंथो स्थानमा रहदै प्ले अफ पुगेको हो । 

कोलकाता नाइट राईडर्स भने १४ अंक जोडेपनि बाहिरिएको छ । नेट रन रेटमा बैंगलोर भन्दा पछि परेपछि कोलकाता बाहिरिएको हो ।

अन्तिम खेलमा हैदराबादसँग पराजित भएपनि मुम्बई शीर्ष स्थानमा रह्यो ।

मुम्बईले १४ खेलमा १८ अंक जोड्यो । मुम्बईले अब क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

दिल्ली १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो ।

पहिलो क्वालिफायर बिहीबार दुबईमा हुनेछ । इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ ।

क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ ।

पराजित हुने टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्ने छ ।

दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टिम भिड्ने छन् ।

दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया