सडक पिच र खानेपानीको समन्वय

समाधान संवाददाता २०७७ कार्तिक २८ गते ५:००

सम्पादकीय

पोखरा महानगरपालिकाले सहरका मुख्य सडकहरुमा अस्फाल्ट प्रविधिको पिच निर्माण गरिरहेको छ ।

गण्डकी प्रदेश सरकार र संघले पनि पोखराका महत्वपूर्ण सडकहरुमा सोही प्रविधिको पिच गर्दैछन् । पोखराको सडकको दुर्भाग्य के भने यहाँका सडक कहिल्यै खाल्डारहित हुन सकेनन् ।

Advertisement

सडकका खाल्डाखुल्डी ठूलै समस्या हो भन्ने कुरा त गएको स्थानीय निर्वाचनमा चुनावी एउटा एजेन्डा यो पनि हुनुबाट प्रष्टिन्छ ।

मेयर मानबहादुर जिसीले २४ घन्टाभित्रै खाल्डा पुर्ने नारा जो दिएका थिए । तर उनी निर्वाचित भएपछि भनेअनुसार गर्लान् भनेको २४ महिनासम्म पनि होइन ३६ महिनासम्म पनि सडकका खाल्डा पुरिएनन् ।

Advertisement

अहिले आएर भने सामान्य टालटुलले नहुँदो रहेछ भन्ने बुझेरै होला अमेरिकी प्रविधिमा सडक पिच गर्न थालिएको छ । यो प्रविधि अनुसार पोखराको नयाँसडक पिच भइसकेको छ ।

गण्डकी सरकारले लेकसाइडमा पिच थालेको छ । अरुभन्दा केही बाक्लो हुँदोरहेछ यो पिच । अर्काे कुरा पिच गर्ने सामग्री अलकत्रासँग पकाउने तरिका पनि यसको फरक रहेछ ।

उपकरणबाटै सडकमा अलकत्रा र मसिनो गिटी ओछ्याइँदो रहेछ, जनशक्ति कम लाग्दो रहेछ । यद्यपि यो पिच महँगो भने छ ।

महानगरपालिकाले गरेको यो पिच ८/१० वर्ष टिक्ने अपेक्षा छ । खाल्डो पनि नपर्ने विश्वास छ । तर यो परीक्षणकै विषय हो । आशा गरौं त्यस्तै होस् र पोखराका सडकमा खाल्डाखुल्डी नपरुन् ।

पोखरा सहरभित्रैकै पृथ्वीराजमार्गको खण्डमा उस्तै बग्रेल्ती खाल्डाखुल्डी छन् । त्यसलाई सडक विभागले दुरुस्त नपार्दा अपजसको भारी भने पोखरा महानगरपालिकालाई आउने गरेको छ ।

आफ्नो क्षेत्राधिकारभित्रका सडकमा बाक्लो र पक्की पिच गरिरहँदा राजमार्ग खण्डमा पनि उत्तिकै गुणस्तरीय पिचका लागि महानगरपालिका र प्रदेश सरकारले सडक विभागलाई झकझक्याउन जरुरी छ ।

सर्वसाधारणले राजमार्गको क्षेत्राधिकार नगरपालिकाको होइन भन्ने कुरामा सरोकार राख्दैनन्, बस उनीहरु सडक चुस्त भएको अनुभव गर्न चाहन्छन् ।

सडक पिच हुँदाहुँदा खानेपानीले पाइप गाड्ने र बिजुली अफिसले पोल गाड्न खाल्डो खन्ने प्रवृत्ति देखिन्छ ।

लेकसाइडतिरको मूल सडकमा खानेपानी वा ढलको व्यवस्था गरिकन अस्फाल्ट पिच हुनुपथ्र्याे भन्ने स्थानीयको आवाज सुनिन्छ ।

यसबारे सरोकारवाला निकायले प्रष्ट गर्नुपर्छ । न कि भोलिका दिनमा फेरि खानेपानीले पाइप गाड्न पिच नखनोस् । वा त्यता खानेपानीको पुरानै आपूर्ति प्रणाली नै कायम रहने हो भनेचाहिँ ठिकै होला ।

पोखरा महानगरपालिकाले पनि जहाँजहाँ अस्फाल्ट पिच गर्दैछ, त्यहाँत्यहाँ खानेपानी र बिजुली अड्डासँग पहिल्यै समन्वय गरोस् ता कि फेरि पिच नफोरियोस् ।

सरोकारवाला निकायबीचको समन्वय अभावले सडक अति भद्रगोल हुने प्रवृत्तिको पुरानावृत्ति भयो भने अस्फाल्ट पिच गर्नुको पनि कुनै अर्थ हुँदैन ।

जनताले तिरेको करको पैसाबाट भएको महँगो पिचको लगानी बालुवामा पानी नभइदियोस् भन्नेतर्फ महानगरपालिका सचेत हुनुपर्छ ।

तपाईको प्रतिक्रिया