तिलिचोको हिउँमा साइकलको डोब

भरत कोइराला, पोखरा
हामी बाँच्ने बेसाहाको घेराभित्र पिल्सिएका छौं । तर विकसित देशका मानिसहरु आर्थिक सम्पन्नता नाघेर मनोरञ्जन खोज्दछन् । भौतिक साधनहरुले जति भरिपूर्ण भए पनि तिनिहरु असन्तुष्ट रहन्छन् ।
आफैंले रचेको आधुनिकताको साङ्लोबाट उम्कन तिनीहरु पर्यटक भई विश्व चाहार्छन् । अगुवा भई बिराना ठाउँ पुग्छन् । अनि पर्वतारोही भई मेसिनले पट्टिएको शरीरलाई प्रकृतिसित दाँज्न खोज्छन् ।
झण्डै ६ दसकअगाडि डा. हर्क गुरुङले त्यतिबेलाकै परिवेश अनुसार पर्यटन र पर्यटकका बारेमा यी शब्द खर्चिएका थिए । हो, कुनै बेला थियो गोरो छाला भएकालाई मात्रै पर्यटक मान्ने ।
दुखजिलोमै दिन बित्ने भएकाले नेपालीलाई घुम्ने फुर्सद नै कहाँ हुन्थ्यो र ? डा. हर्कले भनेजस्तै बेसाहाको घेरामै रुमल्लिएको शरीर त्यहाँबाट उम्किन मुस्किलै हुन्थ्यो । अहिले पर्यटन मात्र होइन पर्यटकको प्रवृत्ति पनि फेरिएको छ ।
आम्दानी विस्तारै बढ्दै जाँदा हामी नेपालीको दैनिकी पनि विलासी हुँदै छ । रोजगारीका नाममा सहरमा भीड बढेको छ । झिसमिसैदेखि साँझसम्म व्यस्त भए पनि शारीरिक परिश्रम झिनो हुन्छ ।
अनि व्यस्त दैनिकीलाई पन्छाएर ऊ केही दिन फिरन्ते भएर डुलिदिन्छ । पदयात्रा, हिमाल आरोहण, घुमफिर मात्रै होइन साहसिक गतिविधिमा नेपाली पर्यटकको नै भीडभाड ज्यादा देखिन्छ ।
चीनबाट कोरोनाका जिवाणु विश्वभर फैलिइरहँदा मानिसहरुको आउजाउ भने असाध्यै पातलियो । एउटा गतिमा अगाडि बढेको विश्व समाजमा घडीको सुइ टक्क अडिएझैं भयो । मानिसहरु घरभित्रै गुम्सिएर बस्न वाध्य भए ।
कोरोनाको प्रभाव घट्ने सम्भावना नभएपछि विश्वका धेरै मुलुकहरुले विस्तारै आउजाउ खुलाएका छन् । र पनि पर्यटन क्षेत्रमा चहलपहल बढ्न सकेको छैन । कताकति स्वदेशी पर्यटक नै घुमफिरमा निस्केका छन् ।
एक व्यक्ति पर्यटकका रुपमा घरबाट बाहिरिँदा उसले गर्ने खर्चपर्चले अर्थतन्त्रलाई पनि चलायमान बढाउँछ । त्यसैले त गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको छ ।
दसैं तिहारको बिदाका बेला देशभित्रकै पर्यटकीय गन्तव्यमा पुगेर रमाउने लहर चलेको छ । सामाजिक सञ्जालमा आउने दृश्य र त्यसको वर्णनले यो लहरलाई थप सघाएको छ । कोरोनाकै कारण लकडाउन हुँदा घुम्न निस्कने त कुरै भएन । भदौपछि भने चलहपलहल धिमा गतिमा बढ्दो छ ।
जसै पर्यटकीय गतिविधि सुरु हुन थाल्छ उसै त्यसमा अवरोध पनि खडा हुन्छ । पोखरा आसपासका पर्यटकीय गन्तव्यमा पनि त्यस्तै भयो ।
घान्द्रुकवासीले दसैं अगाडि नै बैठक बसेर चाडबाट पर्यटक त के आफन्त र कुटुम्बलाई पनि गाउँ पस्न रोक लगाए । होमस्टेका लागि चिनिएको ल्वाङ गाउँमा पनि बाहिरी व्यक्ति आउन निषेध गरियो ।
उकुसमुकुस भएर बसेकाहरुलाई दसैं बिदामा कतै न कतै घुम्नु नै थियो । पोखरा नजिकैको मर्दी हिमाल ट्रेकमा थामिनसक्नु भीड ओइरियो । माछापुच्छ्रे मोडल ट्रेकतिर पनि उस्तै भयो ।
भीडबाट आत्तिएका स्थानीय व्यवसायीले तिहार अगाडि गरेको निर्णयले स्वदेशी पर्यटकलाई निरास बनायो । उनीहरुको निर्णय थियो– ट्रेकिङमा आउने पर्यटकले ७२ घन्टा भित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने ।

पोखराको लेकसाइडमा पर्यटन क्षेत्रकै व्यवसायमा आबद्ध जगन विश्वकर्मालाई यो बेला कहिँ कतै घुमौं भन्ने लागेको थियो । साइकलमा मुस्ताङ जाने सोच थियो । तर मुस्ताङ प्रशासनले बाहिरी व्यक्ति जिल्ला छिर्न रोक लगाएपछि साइकलका पांग्रा उता गुड्ने कुरै भएन ।
साहसिक गतिविधिसहितको यात्रामा निस्कने हुटहुटी चलिरहेकै बेला साथीहरुले तिलिचो तालको प्रसंग सुनाए ।
पोखराबाट त्यति धेरै टाढा पनि छैन । हिमालको काखमा रहेको तिलिचोको आँगनमै पुगेर माउन्टेन बाइक कुदाउने रहर पनि मेटिने । अरु बेलाजस्तो बास बस्ने ठाउँ नपाइएला भन्ने चिन्ता लिन पनि नपर्ने ।
टोली मिलेर जाने निधो भयो । टोली नेता बने खेलाडी धरमसिं लामिछाने । साथमा थिए अरु ९ जना ।
कुम्लो कुटुरो बोकेर कात्तिक २१ गते पोखराबाट निस्केको टोली गाडी चडेर लमजुङ सदरमुकाम बेशींसहर पुग्यो । अनि सुरु भयो साइकल यात्रा ।
पोखराको चिल्लो सडकमा साइकल गुडाएजस्तो पक्कै हुँदेन । उकालो बाटो अनि डरलाग्दो भीर ।
खस्यो भने भेट्ने आश नै गर्न नपर्ने । तै पनि टोली साहस बटुल्दै अगाडि बढ्यो । धारापानी पुग्दा नपुग्दै टोलीमाथि एउटा संकट आइलाग्यो । टोली नेता लामिछानेकी आमा सिकिस्त भएको खबर आयो । उनी त्यहिँबाटै फर्किए ।
टोलीमा एक मात्र महिला सदस्य थिइन् दुर्गा अधिकारी । पोखरामै बसेर पत्रकारिता गरिरहेकी उनले कहिलेकाहीँ माउन्टेन बाइक चलाउँथिन् । साथीहरुसँगको जोशले उनी पनि निस्केकी हुन् साइकल यात्रामा ।
टोली नेता फर्कँदा उनलाई नमज्जा भयो । आफूलाई पनि फर्कौझैं लाग्यो । तर लामिछानेले उनलाई हौसला दिए । भन्दै थिए– तपाईंको यात्रा त बेसिसहरबाट उकालो लागेपछि यसै सफल भइसक्यो ।
यात्रामा निस्केको व्यक्ति अत्तो नपरी बीचैबाट फर्कनु हुँदैन । दुर्गालाई पनि हो जस्तो लाग्यो । उनले साइकल यात्रालाई निरन्तरता दिइन् । भन्छिन्, ‘पोखराबाट हिँडेपछि साथीहरुले फोन गरेर तँ त सक्दिनस् फर्के हुन्छ भनेका थिए, अगाडि बढियो, विलिङ पावर झनै बढ्यो ।’
काठमाडौंबाट तिलिचोसम्म माउन्टेन बाइकमा यात्रा गरेको जगनहरुले सुनेका थिए । तर पोखरामा अहिलेसम्म कसैले पनि त्यो आँट गरेका थिएनन् । जगनले भने, ‘सिजनका बेला विदेशी पर्यटककै लर्को लाग्थ्यो, व्यवसायी साथीहरु काममै व्यस्त, अहिले भने आफै पर्यटक भएर घुम्दा गज्जबकै मजा आयो ।’
सिजनमा मनाङका होटेलमा बासै पाइन्थेन । डाइनिङ हलमै सुतेर पर्यटकले रात काटेका कयौं उदाहरण छन् । तर यसपालि कसैले त्यस्तो सास्ती खेप्न परेन । टोली सदस्य राजीव पालिखेले भने, ‘यसपालि त हामीलाई देखेर मनाङका व्यवसायी नै दङ खाए ।
पोखरा १५ का विनोद थापा साइलकलमा तिलिचो पुग्न सकिएला कि नसकिएला दोधारमै थिए । बाटोमा पछि परेका बेला साथीहरुले होस्टेमा हैंसे थपे ।
बीच बाटोमा असाध्यै गाह्रो नभएको पनि होइन । ताल छेउ पुगेर हिउँमाथि साइकल कुदाउँदा बाटोको सबै थकान क्षणभरमै मेटियो । फतक्कै गलेका गोडा पनि तंग्रिएझैं भयो उनलाई ।
लेकसाइटमा पिज्जा हाउस सञ्चालन गर्दै आएका शेखर श्रेष्ठले हिँडडुलका बारेमा साथीभाइबाट निकै सुनेका थिए । मौसम खुलेका बेला कामकै चापले जान नपाइने ।
अफसिजनमा मौसमले साथ नदिने भएकाले घुम्ने रहर मनमै गुम्स्याएर बसेका थिए । ‘गेस्टले सेयर गरेको अनुभव सुनेर घुमफिरको मजा लिएको थिएँ, यसपालि आफैले धोको पु¥याइयो,’ उनले भने ।
भर्खर १९ वर्ष टेकेका विस्वास गुरुङ टोलीका कान्छा सदस्य थिए । पोखराभित्रै साइकल चलाए पनि उकालो ओरालोको त्यति अनुभव थिएन ।
त्यै पनि उनले आँटे र यात्रा पूरा गरेरै छाडे । उनले नसकेको ठाउँमा झोला बोकेर सहयोग गरे टोलीका सदस्यले । तिलिचो पुगेर फर्केपछि अब साथीहरुलाई पनि हौस्याउने बताएका छन् उनले । उनीहरु कात्तिक २६ गते पोखरै आइपुगेका हुन् ।

सिजनमा मनाङका होटेलमा बासै पाइन्थेन । डाइनिङ हलमै सुतेर पर्यटकले रात काटेका कयौं उदाहरण छन् । तर यसपालि कसैले त्यस्तो सास्ती खेप्न परेन । टोली सदस्य राजीव पालिखेले भने, ‘यसपालि त हामीलाई देखेर मनाङका व्यवसायी नै दङ खाए ।
चैत यता त्यहाँका होटेलमा बास बस्ने हाम्रो समूह नै पहिलो रहेछ ।’ जाँदै गर्दा बाटोमा रुघाखोकी लागेर हैरान परेका थिए पालिखे । ज्वरो उस्तै । साथमा लगेको औषधी र तातोपानीले रुघाखोकी दबाउँदै उकालो चढिरहे ।
सेताम्मे हिउँको बीचमा गजधम्म बसेको तिलिचो देखेपछि ज्वरो त च्वाट्टै भयो ।
टोलीले झन्नै २ घन्टा बितायो तिलिचोमा । यात्राकै बीचमा दुर्गा अधिकारीको जन्म दिन प-यो । जन्मदिनलाई त्यहाँकै अनुकुल अनुसार ‘सेलेब्रेसेन’ गरे उनीहरुले ।
साइकलमा तिलिचो पुगेका सबैको आआफ्नो अनुभव छ । झोला बोक्ने सहयोगीदेखि साइकल मर्मत गर्ने प्राविधिक पनि साथै लग्नुपर्ने । टोलीलाई गाइड समेत गरेका खड्ग विकलाई पहिलेका भन्दा यसपालिको यात्रा अचाक्ली रमाइलो लाग्यो ।
कोही बेस्सरी अनुभवी, कोही हिमाली भेगमा यात्रा नै नगरेकाहरुलाई एउटै टोलीमा राखेर यात्रामा निस्कनु पक्कै चुनौतीपूर्ण नै थियो । चुनौती झेलेपछिको अनुभूति उस्तै आनन्ददायी हुन्छ । खड्गलाई पनि यस्तै भयो ।
५ हजार ९ सय २० मिटर उचाइमा छ तिलिचो ताल । पोखराबाट बेसिसहर, मनाङ सदरमुकाम चामे हुँदै जाँदा शरीरले एकैपटक उचाइको असर थाम्न सक्दैन । एकै दिन धेरै उचाइको बाटो पार गर्नु स्वास्थ्यकै लागि खतरा हुन्छ ।
अझ गाडी वा हेलिकोप्टरबाट सिधै मनाङ पुगेर उचाइ पार गर्न खोज्दा ज्यानै गुमाएका उदाहरण पनि छन् । त्यसो नगर्न सुझाव दिन्छन् अनुभवीहरु ।
पैदल हिँड्न त कठिन हुने ठाउँमा साइकल ठेल्न कति गाह्रो होला । अभ्यास गरे सकिँदो रहेछ भन्ने उनीहरुले प्रमाणित गरे । शेखर श्रेष्ठ भन्छन्, ‘स्मोक छाडेर २ महिनादेखि अभ्यास गरें, चुरोट खाने बानी त टुट्यो नै साइक्लिङका लागि स्टामिना नै बढेर आयो ।’
रक्सी खाँदा बाटो काट्न सजिलो हुन्छ भनेर कसैले सल्लाह दिए त्यो गलत हो ।
पोखरा माउन्टेन बाइक एडभेन्चरले यो यात्राको मेसो मिलाएको हो । यात्राको नाम उनीहरुले तिलिचो एमटिबी टुर २०२० दिए । युवाहरुलाई साइक्लिङमा आकर्षित गर्दै यसलाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने जमर्कोमा जुटिरहेको बताउँछन् जगन ।
उचाइमा पुग्दा हिँडाइ कसरी व्यवस्थित गर्ने त ? २ हजार मिटरभन्दा माथि पुगेपछि एक दिनमा १ हजार मिटरभन्दा बढी उचाइ पार गर्नु हुँदैन ।
जहाँ त्यो दुरी पुग्छ त्यहिँ बास बस्दा शरीर त्यहाँको हावापानीमा अभ्यस्त हुन्छ । यी र यस्ता सबै सजगता अपनाएर उकालो लागेको थियो टोली ।
सम्भावित दुर्घटनाबाट जोगिन टोलीले उसैगरी सजगता अपनायो । ३ जना सहयोगीले औषधी, अक्सिजन लगायत सामग्री बोकेका थिए ।
चाहिएको बेला प्रयोग गर्न मिल्ने गरी गाडी र घोडा पनि तयार थिए ।
परे तुरुन्तै भनेको ठाउँमा पुग्नेगरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको जगन विश्वकर्माले बताए ।
साइकलमै यात्रा किन गरियो त ? जगन भन्छन्, ‘साइकल अब यातायातको साधन मात्रै होइन । साइकल स्वास्थ्य हो, वातावरण हो, अनि शिक्षा पनि । पर्यटन क्षेत्र सुस्ताएका बेला यसलाई मुर्झाउन केही न केही गर्नु पर्छ भनेर साइकल यात्रामा निस्केका हौं ।’
पोखरा माउन्टेन बाइक एडभेन्चरले यो यात्राको मेसो मिलाएको हो । यात्राको नाम उनीहरुले तिलिचो एमटिबी टुर २०२० दिए । युवाहरुलाई साइक्लिङमा आकर्षित गर्दै यसलाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने जमर्कोमा जुटिरहेको बताउँछन् जगन ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया