प्रजातन्त्र सेनानी कामीको निधन

समाधान संवाददाता २०७७ मंसिर ११ गते ११:१३

लमजुङ, रासस

प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ ।

गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मंगलबार साँझ निधन भएको हो ।

Advertisement

गत जेठदेखि उनमा दम र मुटुको समस्या बल्झिएको थियो । अस्वास्थका कारण आफ्नै निवासमा कष्टकर जीवन बिताउँदै आएका थिए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति लमजुङका सभापति भेषबहादुर पौडेलको उपस्थितिमा बुधबार उनको अत्येष्टि गरिएको जिल्ला कार्यसमितिका पूर्व सचिव आनन्द घिमिरेले जानकारी दिए ।

Advertisement

प्रजातन्त्र सेनानी कामीका १ छोरा, १ बुहारी, ४ छोरी र छोरापट्टीका १ नाति छन् । श्रीमतीको भने करिब दुई दशक अघि नै निधन भइसकेको छ । उनी नातीसँग बस्दै आएको पार्टीले जनाएको छ ।

प्रजातन्त्र सेनानी कामी बिपी स्मृति ट्रस्टद्वारा विसं २०७२ मा सम्मानित भएका थिए ।

घोइरो कामीले विसं २००६ मा राणा शासनका विरुद्धमा काँग्रेसको झण्डा देखाएर मुलुकमा प्रजातन्त्र स्थापनाको आह्वान गरेका थिए ।

विसं २००६ मा काँग्रेसद्वारा आह्वान गरिएको राणा शासनको विरुद्धमा झण्डा बोकेर जिल्लाको इशानेश्वर भेगमा गरेको प्रदर्शनको सम्मानस्वरुप प्रजातन्त्र आएपछि नवलपरासी जिल्लामा तीन कट्ठा जग्गासमेत बकस प्राप्त गरेका थिए ।

उक्त जग्गा बिक्री गरेर उनी यस लमजुङको तत्कालीन इशानेश्वर गाविसको चिसंकु गाउँबाट लमजुङकै भोर्लेटारमा बसाइँसराइ गरेर बस्दै आए ।

बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निकट रहेर राजनीतिमा होमिएका घोइरो कामी काँग्रेसका साहसी, अनुशासित तथा इमान्दार कार्यकर्ताका रुपमा चर्चित थिए ।

त्यति बेला कांग्रेस नेता भट्टराईले घोइरो कामीको इमान्दारिता देखेर आफूले लगाएको कोट फुकालेर लाउन दिएको र कामीले उक्त कोटमा पैसा रहेछ भन्दै भट्टराईलाई पैसा फिर्ता गरेको प्रसंग कांग्रेस वृत्तमा चर्चाको विषय बनेको थियो ।

तपाईको प्रतिक्रिया