गाउँपालिका अध्यक्ष—उपाध्यक्षले कसे लगनगाँठो

समाधान संवाददाता २०७७ मंसिर २६ गते १३:२५

एसके थकाली, जोमसोम

Advertisement

मुस्ताङको घरपझोङ र कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि विवाह सम्बन्धमा बाँधिएका छन् ।

घरपझोङकी उपाध्यक्ष शर्मिला गुरुङ र माछापुच्छ्रेका अध्यक्ष कर्णबहादुर गुरुङ शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

परम्पराअनुसार शुक्रबार विधिवत रुपमा हेम्जाको तिब्बती गुम्बामा बौद्ध परम्पराअनुसार १ सय जनाको उपस्थितिमा उनीहरुको विवाह भएको हो ।

संघीय खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन, मुस्ताङका संघ तथा प्रदेशका सांसद, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवी गुरुङ लगायत वैवाहिक समारोहमा सहभागी थिए ।

Advertisement

दुवै नेकपा समर्थित कार्यकर्ता हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिमा सँगै काम गरेका आफूहरुबीचस्थानीय तहको जनप्रतिनिधि भएपछि सामीप्यता थप प्रगाढ बनेको अध्यक्ष गुरुङले बताए ।

उपाध्यक्ष गुरुङ पूर्वशिक्षिका हुन् । उनी विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा आवद्ध थिइन् ।

पारिवारिक सहमतिमै आफूहरुबीच विवाह हुन लागेको अध्यक्ष गुरुङले उल्लेख गरे । ‘आपसमा नजिकको चिनजान थियो । लभ थिएन,’ अध्यक्ष गुरुङले भने, ‘कार्यकर्ता साथीहरुले विवाह गर्नुपर्छ भने अनि छोटो समयमा विवाहको निर्णय भयो ।’

२०४६ सालको जनआन्दोलनपछि सँगै विद्यार्थी राजनीति सुरु गरेका उपाध्यक्ष गुरुङ र अध्यक्ष गुरुङ दुवै पूर्वएमाले हुन् ।

यसअघि मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका उपाध्यक्ष ढोका गुरुङ पनि वैवाहिक सम्बन्धमा बाँधिएकी छिन् । अब वारागुङ लोघेकर गाउँपालिकाका १ जना जनप्रतिधिको विवाह हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया