सडन डेथमा एपिएफसँग आयोजक पराजित

विकास रोकामगर
पोखरामा बिहीबारबाट सुरु भएको आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजकमाथि विभागीय टिम एपिएफले जित हात पारेको छ । निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
ट्राइब्रेकरमा पनि खेल ४–४ को बराबरमा रोकिएपछि सडनडेथमा पुग्यो । सडन डेथमा सहारा क्लबका अञ्जन देवकोटाले प्रहार गरेको बललाई एपिएफका गोल रक्षक रमन रसाइलीले सजिलै छेकिदिए । उनले बल छेकेसँगै जित एपिएफको पोल्टामा परेको हो । खेलको १७ औं मिनेटमा आयोजक टिम सहारा क्लबका विनोद गुरुङले गोल गरे । लगत्तै एपिएफका आशीष लामाले १८ औं मिनेटमा सजिलै गोल फर्काइदिए । पहिलो गोल सजिलै फर्काए पनि त्यसपछिका खेलमा एपिएफ दवाबमा रह्यो ।
पहिलो हापमा १–१ को बराबरी खेलेका दुवै टिमले दोस्रो हापमा कुनै पनि गोल गर्न सकेनन् । आयोजक र विपक्षी टिम एपिएफ दुवैले आएका सुन्दर अवसरलाई समात्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल हुन सकेन ।
आयोजक सहारा क्लबका प्रशिक्षक प्रल्हाद हिराचनले डिफेन्सको गल्तीले हार्नुपरेको बताए । ‘पहिलेकै गोल रोक्न सकिन्थ्यो तर त्यसमा डिफेन्स चुक्यो,’ उनले भने, ‘ट्राइब्रेकरमा २ खेलाडीले मिस गर्नाले पनि हामीले हार्नुुपर्यो ।’
हिराचनले खेलाडी भने उत्कृष्ट खेल प्रस्तुत गर्दागर्दै पनि हार्नुपरेको बताए । ‘एपिएफलाई हाम्रा खेलाडीले दबाबमा राखेकै हुन् । तर पाएको चान्सलाई पनि सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी रह्यो,’ उनले भने ।
विभागीय टिम एपिएफका टिम म्यानेजर अमित मल्लले असहज परिस्थितिका बाबजुत पनि जित हासिल गरेको बताए । उनले भने, ‘हाम्रो टिम सुरुदेखि नै दबाबमा रह्यो । जित निकाल्नै गाह्रो थियो ।’ उनले खेलाडीको कमजोर प्रस्तुति हुनुमा लगातारको प्रतियोगिता पनि भएको तर्क गरे ।
‘हामी लगातार खेलिरहेका छौं । आहा खेल्न पनि ढिलोमात्रै आइपुग्यौं । खेलाडीले आराम गर्ने मौका पाएका छैनन्,’ उनले भने, ‘त्यसमाथि हाम्रा भरपर्दा खेलाडी कोही अन्डर २० मा छन्, कोही घाइते छन् ।’ उनले अर्को खेलमा भने खेलमा सुधार ल्याउने प्रतिवद्धता गरे ।
सहारा क्लबले आयोजना गरेको १७ औं आहा रारा गोल्डकपको पहिलो खेलमा एपिएफका बुद्धिमान राई म्यान अफ दि म्याच घोषित भए । शुक्रबार हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र धरान फुटबल क्लब भिड्नेछन् । प्रतियोगिता फागुन १८ गतेसम्म चल्नेछ । प्रतियागितामा २ विदेशी र ८ नेपाली गरी १० टिमको सहभागी छन् । प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
आजको खेल हिमालयन शेर्पा क्लब र धरान फुटबल क्लब
तस्बिर- युनिश गुरुङ-समाधान







मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध
लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया