जोखिम क्षेत्रमा साहसिक पर्यटन गन्तव्य बनाउने योजनामा महानगर

अनुप पौडेल, पोखरा
२२ वर्षअघि सरकारले पोखराको भूसतहको अध्ययन गरेको थियो । जर्मनको भूवैज्ञानिक तथा प्राकृतिक स्रोतसाधन संस्थान (बिजीआर) सँग मिलेर गरिएको ३ वर्ष लामो अध्ययन अहिलेसम्मकै उच्चस्तरीय अध्ययन हो ।
त्यो अध्ययनको प्रतिवेदन भन्छ, ‘उच्च जोखिमयुक्त क्षेत्रमा पोखराका सहरी क्षेत्र पर्छन् । निर्माण कार्य गर्दा उच्च सतर्कता अपनाउनुपर्छ । ठूला संरचना नबनाएकै राम्रो । कुनै पनि संरचना निर्माण गर्नुअघि यहाँको भौगर्भिक जोखिम नक्सालाई ध्यानमा राख्नैपर्छ ।’
पाताले छाँगो र सेती खोंच सार्वजनिक निजी साझेदारी कार्यक्रम (पिपिपी) अन्तर्गत सहासिक पर्यटन विकासका लागि भन्दै ४० वर्षका लागि ठेक्कामा दिने तयारी महानगरले गरेको हो
न्युरोड, हेमजाबेसी, चिप्लेढुंगा, छोरेपाटन, पाताले छाँगोजस्ता क्षेत्र जोखिमयुक्त रहेको त्यो अध्ययनको निष्कर्ष छ । तर पोखराका यिनै क्षेत्रमा धमाधम ठूल्ठूला संरचना ठडिएका छन् ।
अहिले पोखरा महानगरपालिका तिनै जोखिमयुक्त क्षेत्रमा साहसिक पर्यटन विकास गर्ने योजना बनाइरहेको छ । पाताले छाँगो र सेती खोंच सार्वजनिक निजी साझेदारी कार्यक्रम (पिपिपी) अन्तर्गत सहासिक पर्यटन विकासका लागि भन्दै ४० वर्षका लागि ठेक्कामा दिने तयारी महानगरले गरेको हो ।
दुवै ठाउँको जिम्मा सेती क्यानोएन प्रालि पोखरालाई दिने पक्का भएको छ । सम्झौता भने भइसकेको छैन । सहरी विकास विज्ञ एवं वरिष्ठ इन्जिनियर किसानसिंह गुरुङ २ दशक पुरानो त्यो अध्ययनसँगै गएर विकास कार्य अगाडि बढाउनुपर्ने बताउँछन् ।
‘त्यो अध्ययनले सेती किनार र पाताले छाँगोको ७५ मिटर आसपास असाध्यै जोखिम छ भनेको छ,’ उनले समाधानसँग भने, ‘त्यसैले त्यहाँ संचना बनाउँदा धेरै विचार पुर्याउनू र त्यहाँ ठूला संरचनाभन्दा पनि फूलबारीजस्ता हल्का संचरना बनाउने सिफारिस गरेको छ ।’
सेती क्यानोएन प्रालिले पाताले छाँगोमा सिसाको पुलसहित सेल्फी स्पोट, क्यानोनिङ जोन, रेस्टुरेन्ट बनाउने प्रस्ताव गरेको महानगरका इन्जिनियर महेन्द्र गोदारले जानकारी दिए ।
महानगर पनि यो परियोजना निर्माणका लागि तम्तयार छ । कम्पनीले पाताले छाँगोमा ५० करोड र सेती खोंचमा १ अर्ब ८८ करोड लगानी गर्ने प्रस्ताव
पिपिपी अवधारणामा हुन लागेको ठेक्का सम्झौता सम्बन्धमा नागरिक समाज कास्की, सिटिजन्स जुरी कास्की र राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले उक्त जानकारी दिएका हुन् ।
त्यस्तै सेती नदी अन्तर्गत केआइसिंह पुलदेखि ढुंगेसाँघुसम्म भ्यूटावर, सेती हेर्ने सिँढी, कायकिङ, कटेज, टनेल, मन्दिरलगायत संरचना बनाउने योजना कम्पनीको छ ।
महानगर पनि यो परियोजना निर्माणका लागि तम्तयार छ । कम्पनीले पाताले छाँगोमा ५० करोड र सेती खोंचमा १ अर्ब ८८ करोड लगानी गर्ने प्रस्ताव गरेको इन्जिनियर गोदारले बताए ।
कम्पनीले निर्माणका लागि २ वर्ष र सञ्चालनका लागि ३८ वर्ष पाउने प्रस्ताव छ । परियोजना सञ्चालनबापत कम्पनीले महानगरलाई प्रतिवर्ष २० लाखर आम्दानीको ५ प्रतिशत दिने प्रस्ताव गरेको इन्जिनियर गोदारले जानकारी दिए ।
परियोजनामा हुनसक्ने दुर्घटनाबारे पहिल्यै सोच्न महानगरलाई वरिष्ठ इन्जिनियर गुरुङको सुझाव छ । ‘पोखरालाई सुरक्षित बनाएपछिमात्रै समृद्धिको कुरा हुनुपर्छ । कहाँ घनाबस्ती छ त्यहाँ बनाउँदा पछि हुने विपत्तिले हामीलाई नै खान्छ,’ उनले भने ।
भूगोलविद् प्राडा कृष्ण केसीले महानगरले सम्पदा ठेक्कामा दिँदा पर्याप्त गृहकार्य नगरेको बताए । सेती नदीको संवेदनशील भागमा काम गर्ने योजना भएकाले पहिला भौगर्भिक अध्ययन गर्न उनको सुझाव छ ।
‘पहिला भौगर्भिक अध्ययन गरौं,’ भूगोलविद् प्राडा केसीले भने, ‘केही दिन देखाउनेभन्दा पनि सुन्दरसँगै दिगो हुने गरेर काम अगाडि बढाऔं ।’

परियोजना निर्माणपछि फोहोर व्यवस्थापनमा पनि चुनौती देखिने विज्ञको भनाइ छ । त्यसबाहेक सेती खोंचमा भएका जैविक विविधता जोगाउन पनि ध्यान दिनुपर्ने वातावरणविद् डा अनील सुवेदीले बताए ।
‘संरचना बनेर भोलि महेन्द्रपुल भासिए पोखरा नै तहसनहस हुन्छ । के गर्ने, कसरी काम गर्ने अहिल्यै सोचौं’
‘परियोजना अगाडि बढाउनु पहिला त्यहाँको वनस्पति, चराचुरुंगीको जैविक विविधता अध्ययन गरौं,’ उनले महानगरलाई सुझाए ।
चीनले जोखिमपूर्ण भएकाले सिसाको पुल बन्द गरेको र निर्माणमा रोक लगाएको वातावरणविद् डा सुवेदीले सुनाए । चीनको हुबेई प्रान्तले सन् २०१८ मार्चदेखिसबै ३२ वटै सिसाको पुल बन्द गरेको छ । २ वर्ष पहिला हुनान प्रान्तको एउटा सिसाको पुलबाट खसेर १ पर्यटकको ज्यान गएको थियो ।
त्यस्ता घटना दोहोरिन थालेपछि अहिले चीनमा अधिकांश सिसाको पुल बन्द छन् । नेपालमा त्यस्ता घटना हुन नदिन सम्भावित जोखिमबारे अहिल्यै ध्यान दिन वातावरणविद् डा सुवेदीले सुझाए ।
एउटै कम्पनीलाई एकैपटक लामो समयसम्म ठेक्का दिन नहुने अर्थशास्त्री प्राडा यादव शर्मा गौडेलको सुझाव छ ।
‘एकैपटक ४० वर्षलाई ठेक्का दिनु व्यावहारिक भएन । उसको काम हेरेर पछि थप्न सकिन्छ,’ उनले भने । आम्दानीभन्दा पनि संरक्षणको सवालमा जोड दिनुपर्ने उनको भनाइ छ । ‘संरचना बनेर भोलि महेन्द्रपुल भासिए पोखरा नै तहसनहस हुन्छ । के गर्ने, कसरी काम गर्ने अहिल्यै सोचौं,’ अर्थशास्त्री शर्माले भने ।
यो परियोजना अगाडि बढे आर्थिक हिसाबले पोखरा महानगरपालिकालाई फाइदा पुग्नेछ । मेयर मानबहादुर जिसी पोखरालाई ध्वस्त बनाउने गरी कुनै संरचना नबन्ने बताउँछन् । भइरहेको संरचनाको उचित सदुपयोग गर्नेमा आफूहरु केन्द्रित रहेको उनले बताए ।
वातावरण, भूगोल र जैविक विविधताबारे छलफल गरेर मात्रै सम्पदा परियोजना सञ्चालन गर्न दिने मेयर जिसीको भनाइ छ ।
‘अहिले प्रारम्भिक चरणमा छौं । भोलि केही भइहाले मेरो जीवनभरलाई कलंक हुन्छ,’ उनले अघि भने, ‘त्यसैले यो छलफल गरेर नियमकानुन अनुसार गर्छौं ।’
उनले यो परियोजना निर्माणमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको दाबी गरे । ‘जोखिम व्यवस्थापनसहित सबै अध्ययन नगरी परियोजना अगाडि बढ्दैन,’ मेयर जिसीले भने ।
पोखरा महानगरपालिकाले सेती र पाताले छाँगोबाहेक सराङकोट, फेवाताल र बेगनासताल पनि पिपिपी अवधारणामै ठेक्कामा दिने योजना बनाएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया