अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियाेग

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि महाअभियोग लागेको छ ।
गएको हप्ताको बुधबार राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थक (केही हतियारसहितका) लाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।
ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो ।
तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो सदन सिनेटले त्यसलाई पारित गरेको थिएन र ट्रम्प सत्ताच्यूत हुनबाट जोगिएका थिए ।
अहिले उनीमाथि संसद भवनमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान जाने गरि भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा दर्ता भएको महाअभियोग प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो ।
स्थानीय समय अनुसार बुधबार भएको मतदानमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा उनको पार्टी रिपब्लिकनका १० सांसदले पनि पक्षमा मतदान गरे ।
तल्लो सदनले महाअभियोगका पक्षमा २३२ तथा विपक्षमा १९७ मत परेको हो ।
महाअभियोग प्रस्ताव पारित भएको घोषणा गर्दै सभामुख न्यान्सी पेलोसीले कोही पनि संविधान भन्दा माथि नरहेको बताएकी छन् ।
उनले उपराष्ट्रपति माइक पेन्सलाई संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थालाई सक्रिय पारी ट्रम्पलाई सत्ताबाट हटाउन अपिल गरेकी थिइन् ।
त्यस सम्बन्धी प्रस्ताव तल्लो सदनले पारित पनि गरेको थियो । तर उपराष्ट्रपति पेन्सले त्यसो नगरेपछि तल्लो सदनले महाअभियोग प्रस्ताव अघि बढाएको हो ।
जनवरी ६ मा राष्ट्रपतिमा जो बाइडेनको जितलाई औपचारिक प्रदान गर्नका लागि तल्लो र माथिल्लो सदनको संयुक्त सत्र जारी रहेका बेला नतिजा अस्वीकार गरेका ट्रम्पको उक्साहटमा उनका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।
सोही कार्यका लागि ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा तल्लो सदनले मतदान गरेको हो ।
अमेरिकी इतिहासमा ट्रम्प महाअभियोग दुई पटक लाग्ने पहिलो राष्ट्रपति हुन् ।
तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरे पनि यसअनुसार ट्रम्पलाई दोषी ठहर गर्नका लागि माथिल्लो सदन सिनेटले दुई तिहाई बहुमतले पास गर्नु पर्छ ।
यसैबिच सत्तामा एक हप्ता बाँकी रहँदा दोस्रोपटक महाअभियोग लागेर इतिहासमा दर्ज भएका राष्ट्रपति ट्रम्पले भिडियो सन्देश जारी गरेर हिंसाको निन्दा गरेका छन् ।
तर उनले महाअभियोगबारे केही टिप्पणी गरेका छैनन् ।
ट्रम्पले भिडियो सन्देशमा हिंसामा संलग्न हुने आफ्ना सही समर्थक हुन नसक्ने बताएका छन् । तर हप्तादिन पहिले उनकै उक्साहटमा समर्थकहरु चुनावको नतिजा उल्ट्याउनका लागि हिंसाको सहारा लिएका थिए ।
तपाईको प्रतिक्रिया