गुरुङ फिल्म हलमा नियमित प्रदर्शन हुने

समाधान संवाददाता २०७७ माघ ११ गते १९:५७

समाधान संवाददाता, पोखरा

गुरुङ फिल्मको विकास र विस्तारको लागि नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गर्न लागिएको छ ।

गुरुङ समुदायमा मात्र सीमित नभएर आम नेपाली समुदायसम्म पुग्न फिल्महरुको सार्वजनिक प्रर्दशन गर्न लागेको गुरुङ फिल्म एसोसियसन नेपालका (जिफान)अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

समुदायमा सिमित रहनु पर्ने बाध्यताको कारण २५ वर्षको लामो गुरुङ चलचित्रको विकास र विस्तार हुन नसेकेको उल्लेख गर्दै अध्यक्ष गुरुङले जिफानको संस्थागत प्रयासले चलचित्रको निर्माण र बजार व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

चलचित्र पत्रकार संघ कास्की र जिफानले आइतबार गुरुङ चलचित्र प्रदर्शन तालिका सार्वजनिक गरे । कार्यक्रममा अध्यक्ष गुरुङले अभियानले निर्मातालाई राम्रो विषयबस्तुको फिल्म बनाउन प्रोत्साहित गर्ने दाबी गरे ।

Advertisement

उनले आगामी माघ २३ गतेदेखि असार ५गतेसम्म नियमित रुपमा शुक्रबार र शनिबार पोखराको मिडटाउन ग्यालरीयामा २२ गुरुङ फिल्म प्रदर्शन गर्ने जानकारी दिए ।

मिडटाउनसँग निरन्तर रुपमा फिल्म प्रदर्शन गर्ने सम्झौता भएको उल्लेख गर्दे गुरुङले विस्तारै देशका सबै हलहरुमा गुरुङ फिल्म प्रदर्शन गर्ने योजना सुनाए ।

‘फिल्महरुको नियमित प्रदर्शनले निर्मातालाई टिकट बेच्न दर्शकको घर दैलोमा जानु पर्ने अवस्थाको अन्त्य हुने छ,’ अध्यक्ष गुरुङले भने, ‘दर्शकलाई महँगो टिकटमा फिल्म हेर्नुपर्ने बाध्यताको अन्त्य हुनुको साथै साना भवनमा सिट व्यवस्थापन नहँुदा दर्शकहरु कोचा कोच बस्दा व्यक्तिगत अधिकार हनन् भएका थिए ।’

उनले गुरुङ फिल्म वातानुकुलित सुविधा सम्पन्न हलमा देखाउने जानकारी दिए । विगतमा टिकटमा लागु गरिएका भिआइपी र भिभिआइपी प्रणालीले चलचित्रकर्मी र दर्शक बिचको दुरी बढ्दै गएकोमा नियमित प्रदर्शनले घट्ने दाबी गरे । उनले जिफानको स्किमले दर्शक आउने क्रम बढेर निर्मातालाई सहयोग पुग्ने उल्लेख गरे ।

जिफानका महासचिव लप्सन गुरुङले ‘घर दैलोमा टिकट किनेर होइन, चलचित्रहलमा गएर सहयोग गरौं’ भन्ने अवधारणालाई अघि सारेको बताए ।

जिफानका पूर्व अध्यक्ष अभियानले गुरुङ फिल्मलाई नेपाली फिल्म उद्योगमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले गुरुङ फिल्मलाई बैकल्पिक नभएर मुलधारको बनाउने घोषणा गरे ।

२०५२ सालमा ‘पाते’ नामक गुरुङ फिल्मको निर्माण भएको थियो । अहिलेसम्ममा १ सय ४४ वटा गुरुङ फिल्म निर्माण भएको जिफानले जनाएको छ ।

तपाईको प्रतिक्रिया