पोखरा—मादी जोड्न विजयपुलमा बनाइयो पुल

समाधान संवाददाता, पोखरा
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठनपछि देशमा विकासको लहर आएको दाबी गरेका छन् ।
पोखरा महानगरपालिका १३ र मादी गाउँपालिका ५ जोड्ने गरी पोखरा सिक्लेस सडकखण्डको विजयपुर खोलामाथि नवर्निमित पक्की मोटरेबल पुल सोमबार नेम्बाङले उद्घाटन गरे ।
सडक डिभिजन कार्यालय पोखराको ५ करोड ७५ लाख २९ हजार १२४ लागतमा निर्माण गरिएको सो पुल ५४ दशमलव १७ मिटर लामो र ११ मिटर चौडा छ । डबल स्पान सुपर स्ट्रक्चर डिजाइनको सो पुल ‘ओपन फाउन्डेसन’मा आधारित छ ।
पुल निर्माणका लागि २०७५ असार २१ गते रायमाझी द क्याराभान जेभी काठमाडौंसँग ठेक्का सम्झौता गरिएकोमा निर्माण कम्पनीले विसं २०७७ असोज ८ गते तोकिएको म्यादभित्र पुल निर्माण सम्पन्न गरेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जनताको वर्षौंअघिको पुलको माग पूरा भएको र मादीको विकासको ढोका खुलेको टिप्पणी गरे । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले विजयपुर खोलामाथि पुल बनेपछि पोखरा र मादी गाउँपालिकाको उत्तरी भेगलाई जोड्ने काम गरेकाले विकासका दृष्टिले कोसेढुंगा सावित भएको भनाइ राखे ।
पूर्वमन्त्री एवं विघटित प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले जनतालाई विवादको भारी बोकाउन छाडेर सबै पक्ष सुन्दर नेपाल निर्माणमा अघि बढ्नुपर्ने औंल्याए । नेकपाका अध्यक्ष ओलीको नेतृत्वमा पूर्वाधार विकासमा फड्को मार्दै देश सुरुङ युगमा प्रवेश गर्न लागेको उल्लेख गरे ।
कार्यक्रममा मन्त्री नेम्बाङले पुल, सडकलगायत ठूला पूर्वाधार विकासका माध्यमबाट जनतालाई सुविधा दिन सरकार प्रतिबद्ध बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षापूरा गर्न भौतिक पूर्वाधारलाई सरकारले प्राथमिकता दिएको उनको भनाइ छ । विगतमा वर्षौंसम्म बन्न नसकेका विकास आयोजना वर्तमान सरकार आएपछि तीव्र गतिमा अघि बढेको उनले उल्लेख गरे ।
राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी राजमार्ग १०÷१२ वर्षअघि सुरुआत भए पनि अहिले आएर धमाधम काम भइरहेको उनको भनाइ छ । मन्त्री नेम्बाङले २०८० भित्रमा यो राजमार्ग निर्माण गरिसक्ने उनले बताए । मन्त्री नेम्बाङले भने, ‘विकास आयोजनामा अधिकतम् चासो र बजेट लगानी गरेर समयमै सम्पन्न गर्न सरकारले ध्यान दिएको छ । पोखरा खण्डमा देखिएको राजमार्गको विवादसमेत काठमाडौं गएर छिटो निराकरण गर्छौं ।’
मध्यपहाडी राजमार्गसहित, मदन भण्डारी राजमार्ग हुलाकी, राजमार्ग, सुरुङमार्गलगायत ठूला पूर्वाधार र पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी काँकडभिट्टादेखि गड्डाचौकीसम्म नै फराकिलो बनाउने योजना सुरु भएको छ ।
यसअघि १ वर्षमा ३० देखि ३५ मोटरेबल पुल बन्ने गरेकामा यो सरकार बनेपछि एकै वर्षमा ५ सय ५३ मोटरेबल पुल निर्माण गरिएको उनले बताए । डेढ दिनमा १ पुल बन्ने गरेको उनले जिकिर गरे ।
मुलुक कायापलट गर्दै जनताको सर्वाङ्गीण विकासका लागि कम्युनिस्ट पार्टीको निर्माण भएको भन्दै उनले गत निर्वाचनमा जनताको अभिमत स्थिरता र स्थायित्वका लागि रहे पनि पार्टीभित्रबाट सरकारलाई समस्यामा पार्ने काम भएको दाबी गरे ।
तपाईको प्रतिक्रिया