टाइगर कप भलिबलमा आर्मीमाथि गण्डकीको जित

समाधान संवाददाता २०७७ माघ २८ गते १९:११

समाधान संवाददाता, पोखरा

प्रथम टाइगर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपमा गण्डकीले पहिलो जित दर्ता गरेको छ ।

बुधबार भएको खेलमा घरेलु टोली गण्डकीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै पहिलो जित दर्ता गरेको हो ।

Advertisement

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा पहिलो सेटमा गण्डकी पराजित भएको थियो । पहिलो सेट आर्मीले २५–२२ ले जितेको थियो ।

तर त्यसपछि लगातार ३ सेट जित्दै गण्डकीले फाइनल यात्राको सम्भावना कायम राख्यो ।

Advertisement

गण्डकीले दोस्रो सेट २५–१४ ले जित्न सफल भयो । तेस्रो सेटमा २५–१८ र चौंथो सेटमा २५–१७ को अन्तरमा गण्डकीले आर्मीलाई स्तब्ध पारेको थियो ।

गण्डकीले आर्मीलाई हराउँदै महत्वपूर्ण ३ अंक आफ्नो खातामा लेखाउन सक्यो । फाइनल प्रवेशको सम्भावना कायम राख्न गण्डकीलाई बुधबारको खेल जित्नैपर्ने दबाब थियो ।

पहिलो खेलमा गण्डकी पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो । आर्मीले भने बुधबार गण्डकीसँग खेल्दै प्रतियोगिता सुरुवात गरेको हो ।

बुधबारको दोस्रो खेलमा नेपाल पुलिसलाई सशस्त्र प्रहरी बलको एपिएफले ३–२ को सेटमा पराजित गर्न सक्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा एपिएफ २७–२५ र दोस्रो सेटमा २५–२० ले आफ्नो पक्षमा पा¥यो ।

सुरुवाती २ सेट गुमाएको पुलिसले लगातार २ सेट जित्दै खेललाई पाँचौं सेटमा पु¥याएको थियो । तेस्रो सेटमा पुलिस २५–२० ले विजयी हुन पुग्यो । पुलिसले चौंथो सेटमा २५–९ ले एपिएफलाई हरायो । पाँचौं सेटमा भने एपिएफले पुलिसलाई १५–१० ले जित्दै २ अंक आफ्नो नाममा लेखायो । पराजित पुलिसले १ अंक जोड्न सक्यो ।

महिलातर्फ बुधबारको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पुलिस पहिलो सेट गुमाए पनि लगातार ३ सेट जित्दै ३ अंक जोड्न सफल रह्यो । पहिलो सेट १८–२५ ले गुमाएको पुलिसले त्यसपछिका ३ सेट २५–२२, २५–२३ र २५–१६ ले जितेको हो ।
प्रतियोगिता पोखरा रंगशालामा फागुन १ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार तथा तृतीयले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २० हजार पाउने छन् ।

उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिता गर्न २५ लाख खर्च हुने अनुमान छ । प्रतियोगिताबाट ३० लाख बचत हुने गु्रपका अध्यक्ष नारायण शर्माले जानकारी दिए । बचत रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च हुने उनले बताए ।

प्रतियोगितामा पहिलो चरणका खेलका लागि टिकट दर १ सय रुपैयाँ तोकिएको छ । सेमीफाइनलका लागि १ सय ५० रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ कायम गरिएको छ ।

बिहीबारका खेल
महिलातर्फ-

सशस्त्र प्रहरी बलविरुद्ध त्रिभुवन आर्मी, बिहान साढे १० बजे
नेपाल पुलिस क्लबविरुद्ध न्यु डायमन्ड, मध्याह्न साढे १२ बजे

पुरुषतर्फ- त्रिभुवन आर्मी क्लबविरुद्ध सशस्त्र प्रहरी बल, दिउँसो साढे २ बजे

तस्बिरः सुदर्शन रञ्जित

तपाईको प्रतिक्रिया