आईपीएलमा काेलकाताकाे विजयी सुरुवात

समाधान संवाददाता २०७७ चैत ३० गते ७:३६

एजेन्सी

सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता नाइट राइडर्सले भारतमा जारी इन्डीयन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरूआत गरेको छ।

प्रतियोगिता अन्तर्गत आइतबार सम्पनन तेश्राे खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले हराएको हो।

Advertisement

कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदारावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएपछि  कोलकाताको जित निश्चित भएको हो।

हैदारवादका लागि मनिष पाण्डेले नटआउट ६१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। पाण्डेले ४४ बल खेल्दै ३ छक्का र २ चौकाहसित ६१ रन बनाएका हुन्।

Advertisement

यसअघि जोनी बैरस्टोले ५५ रन बनाएका थिए। ४० बल खेलेका उनले ३ छक्का र ५ चौका प्रहार गरेका थिए। त्यसबाहेक अब्दुल शामदले नटआउट १९, मोहम्मद नाबीले १४ तथा विजय शंकरले ११ रन बनाउँनु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

कोलकाताका लागि प्रशिद्ध कृष्णले २ तथा शाकिब अल हसन, पेट कुमिन्स र आन्द्रे रसलले १-१ विकेट लिए।

यसअघि एमए चिदम्बरम स्टेडियम, चेन्नाईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो।

कोलकाताका लागि ओपनर नितिश रानाले सर्वाधिक ८० रन बनाए। ५६ बल खेलेका उनले ४ छक्का र ९ चौका प्रहार गरेका थिए। यस्तै राहुल त्रिपाठीले ५३ रन बनाउँदा दिनेश कार्तिकले नटआउट २२ रन बनाए।

ओपनर नितिश रानाले शुबमन गिलसँग पहिलो विकेटका लागि ५३ रनको ओपनिंग साझेदारी गरे। सातौं ओभरमा १५ रन बनाएका गिललाई राशिद खानले बोल्ड गरेका थिए।  

त्यसपछि दोस्रो विकेटको लागि रानाले राहुल त्रिपाठीसँग ९३ रनको साझेदारी गरे। मात्र २९ बलमा ५ चौका र २ छक्का मद्दतले ५३ रन बनाएका त्रिपाठीलाई टि नटराजनले क्याच आउट गराए। लगत्तै ओभरमा आन्द्रे रसेल मात्र ५ रन बनाएर राशिदबाट क्याच आउट भए।

१८ औं ओभरमा नितिश रानालाई मोहम्मद नाबीले क्याच आउट गराए। रानाले ५६ बलमा ९ चौका र ४ छक्का मद्दतले ८० रन बनाएका थिए। लगातार बलमा २ रन बनाएका कप्तान ओएन मोर्गनलाई नाबीले क्याच आउट गराए।

इनिंग्सको अन्तिममा दिनेश कार्तिकले आक्रामक सटहरु प्रहार गर्दै टिमलाई विशाल योगफलतर्फ डोर्‍याए। कार्तिकले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित २२ रन बनाएका हुन्।

सनराइजर्स हैदरावादका लागि अफगानिस्तान स्पिनरद्वय राशिद खान  र मोहम्मद नाबीले समान २-२ विकेट तथा टि नटराजन र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए।

तपाईको प्रतिक्रिया