प्रगतिपथमा प्रशंसा

समाधान संवाददाता २०७८ वैशाख ९ गते १८:०२

पोखरा, ९ वैशाख

पोखराको सिद्ध मावि, फलेपाटन कक्षा ५ मा पढ्दै गरेकी प्रशंसा क्षेत्रीलाई एक दिन बुबाले तेक्वान्दो सिक्न लगे ।

शुक्रराज तेक्वान्दो डोजाङमा भर्ना गरिदिए । त्यहाँ प्रशंसाले कृष्ण श्रेष्ठसँग तेक्वान्दो सिक्न थालिन् ।

Advertisement

त्यस बेला १३ वर्षीया प्रशंसालाई बिस्तारै विभिन्न कौशलले मोह लाग्यो । त्यही मोह पच्छ्याउँदै प्रगतिपथमा हिँडिरहेकी प्रशंसाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण चुमेकी छन् ।

प्रशंसालाई त्यो दिन अझै याद छ, जुन दिन बुबाले उनलाई डोजाङ लगेका थिए । उनी भन्छिन्, ‘बुबा अहिले संसारमा हुनुहुन्न । यदि उहाँ भएको भए कति खुसी हुुनुहुन्थ्यो होला ।’

Advertisement

सागमा पहिलोपल्ट तेक्वान्दोमा (पुम्से विधा) १३ औं संस्करणदेखि सुरु भएको हो ।

प्रशंसाले नेपाली झण्डा मुनि खेलेको पहिलो प्रतियोगिता पनि यही नै हो । प्रशंसाले पहिलो सहभागितामै २४–२९ वर्ष उमेर समूहमा टिम इभेन्टतर्फ स्वर्ण जितेर नाम राखेकी छन् ।

प्रशंसाको जन्म २०५१ सालमा स्याङ्जाको हरिनास गाउँपालिका–२ चिसापानीमा भएको थियो । बाबु पिनराज भण्डारी क्षेत्री र आमा धनमाया भण्डारी क्षेत्रीका ४ सन्तानमा उनका १ दाइ र २ भाइ छन् ।

स्याङ्जाबाट पोखरा बसाइ सरेसँगै उनले सिद्ध माविबाटै एसएलसी उत्तीर्ण गरिन् ।

जिल्ला, क्षेत्रीय स्तरको प्रतियोगिता जित्दै प्रगतिपथमा अगाडि बढेकी उनले दोस्रो काठमाडौं इन्टरनेशनल गेम्समा स्वर्ण, १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप, इटहरीमा स्वर्ण, प्रथम एभरेस्ट नेशनल ओपन गेम्समा रजत जितेकी छन् ।

पछि राष्ट्रिय टिममा परेसँगै इण्डोनेसियामा आयोजित हाम्मादाङ च्याम्पियनसीपमा सहभागिता जनाएकी थिइन् ।

सुरुआतमा तेक्वान्दोमा क्योरोगीमै फाइटमा भिडिन् । पछि गुरुहरुको सल्लाहमा पुम्से खेल्न थालिन् ।

हाल त्रिभुवन आर्मी क्लबमा आवद्ध प्रशंसाको एशियन तथा वल्र्ड च्याम्पियनसिपमा भाग लिने लक्ष्य छ । ‘रहरै रहरमा लागियो । तर कठोर मिहिनेत गरिराखेकै छु,’ उनी आशावादी बनिन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।

उनले भनिन्, ‘राम्रो फिल भएको छ । जन्मस्थल स्याङ्जा भए पनि कर्मथलो पोखरा हो । गण्डकी प्रदेश भनेको मेरो अभिभावक हो ।’

यो विधामा प्रशंसा सहित तेक्वान्दोकै पार्वती गुरुङ र साइक्लिङकी जमुना थापा मनोनयनमा छन् । उत्कृष्टले २ लाख सहित अवार्ड प्राप्त गर्ने मञ्चका महासचिव एवं प्रचार संयोजक विजय नेपालले बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव विजय नेपालले पोखरा स्पोर्टस अवार्डमा मनोनित क्षेत्रीका बारेमा तयार पारेको रिपोर्ट

तपाईको प्रतिक्रिया