एनएसएलमा आज पोखरा थन्डर्स भिड्दै

समाधान संवाददाता २०७८ वैशाख १२ गते ८:२८

समाधान संवाददाता, पोखरा

नेपालका ७ सहरलाई फ्रेन्चाइज बनाएर नेपाल सुपर लिग (एनएसएल) शनिबारबाट सुरु भएको छ ।

नेपालमा पहिलो पटक फ्रेन्चाइज टिम बनाएर फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा पोखरा थन्डर्स, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी र बुटवल लुम्बिनी एफसी छन् ।

Advertisement

आइतबार हुने खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीसँग खेल्दैछ । साढे ५ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा पोखराले विजयी सुरुवात गर्न चाहनेछ ।

पोखरा थन्डर्सको टोलीले २ साता पोखरामा बन्द प्रशिक्षण गरेर काठमाडौं गएको थियो । पोखराको टोलीमा तीन क्यामरुनी खेलाडी सहित कप्तान अनिल गुरुङ, मार्कि प्लेयर नवयुग श्रेष्ठ, दिप कार्की, अजित भण्डारी, रवि पासवान, गौतम श्रेष्ठ, सुजित बुढाथोकी लगायत खेलाडी छन् ।

नवीन न्यौपानेको प्रशिक्षणमा पोखराले प्रतियोगिता खेल्न लागेको हो । न्यौपानेले मनाङ मस्र्याङ्दी क्लबमा प्रशिक्षकको भूमिका सम्हालेका थिए । उनीसँग ९ वर्षको प्रशिक्षण अनुभव छ । पोखरेली टोलीको मालिक लक्ष्मी मोटर्स हो ।

बुटवल लुम्बिनीको टिममा रविन श्रेष्ठ, सेसेहाङ आङ्देम्बे, आमिर श्रेष्ठ, आशिष लामा, सुमन लामा, रन्दिप पौडेल, लक्ष्मण रुचाल लगायत खेलाडी सामेल छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख प्राप्त गर्दा दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ । यस्तै प्रतियोगिताको विधागततर्फ ६ उत्कृष्टले १ लाख प्राप्त गर्दा प्रत्येक खेलको म्यान अफ दि म्याच र उदयमान खेलाडीले क्रमश २५ र १० हजार रुपैयाँ पाउनेछन् ।

तपाईको प्रतिक्रिया