एन्फा कास्कीको लापरवाहीः विजेता टिममात्र हैन होटलले पनि पाएन पैसा

समाधान संवाददाता
अखिल नेपाल फुटबल संघ कास्कीले आयोजना गरेको मनकामना केबलकार पोखरा कप विजेताले पुरस्कारबापत पाउनुपर्ने नगद नपाएको गुनासो गरेका छन् । उनीहरुले खेल सकिएको लामो समयसम्म पनि पुरस्कार दिनुको साटो उल्टै झुलाइराखेको आरोप लगाएका छन् ।
माघ २७ गते सकिएको मनकामना केबलकार पोखरा कपको फाइनलमा विदेशी टिम डफिन्स क्लब, क्यामरुनसँग विभागीय टोली एपीएफ पराजित भएको थियो । विजेता डफिन्सले ७ लाख ५५ रुपैयाँ उपविजेतामा सीमित भएको एपीएफले ४ लाख ५ हजार रुपैयाँ पाउनै बाँकी छ ।
‘खेल सकिएको केही समयपछि पाउँछौं भन्ने लागेको थियो । तर अहिलेसम्म पाएका छैनौं,’ टिम म्यानेजर अमित मल्लले समाधानसँग भने, ‘पहिले दिन्छौं दिन्छौं भन्थे । अहिले सम्पर्कमै छैनन् ।’ उनले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङसँग पटकपटक पुरस्कार नगदका लागि ताकेता गरिरहेको भएपनि कुनै प्रतिक्रिया नपाएको दाबी गरे ।
एपीएफ टिम म्यानेजर मल्लले आफूहरुले एन्फालाई कुनै एउटा निर्धारित गतेको चेक दिन पनि आग्रह गरिरहेको सुनाए । ‘एन्फाले जुन दिन दिन्छ । त्यही दिनको चेक काटेर दिनुस् पनि भनेका छौं । त्यसो भन्दा पनि तर्किरहेका छन्,’ उनले भने । समग्र पोखरासँग जोडिएको प्रतियोगिताले पुरस्कारबापत पाउनुपर्ने रकम पनि नपाउँदा बाहिर राम्रो सन्देश नजाने उनले बताए ।
एन्फा कास्कीले मनकामना केबलकार पोखरा कपका बेला खेलाडी राख्न प्रयोग गरेका विभिन्न होटलमा पनि पैसा बुझाउन बाँकी रहेको स्रोतले जानकारी दिएको छ । उनीहरुले लामो समयदेखि एन्फा कास्कीसँग लाखौं रकम असुल्न बाँकी भएको बुझिएको छ ।
विजेता बनेको डफिन्स क्लबले पनि पुरस्कारबापत पाउनुपर्ने नगद पाएको छैन । क्बलले एन्फा कास्कीसँग आपसी कुरा भएकाले मिडियालाई चासो नदिन बताएको छ । ‘हिजोमात्रै मिलन दाइ (एन्फा कास्की अध्यक्ष)सँग कुरा गरिसकेको छु । हाम्रो आपसी समझदारी छ,’ क्लबका सगुन मानन्धरले भने ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले केही दिनमा सबैको रकम चुक्ता हुने जानकारी दिएका छन् । उनले भने, ‘स्पोन्सरबाट पैसा आउन बाँकी छ । त्यो पैसा आएपछि सबैलाई दिइहाल्छौं ।’ उनले मिडियाले कुरै नबुझी चिढाउने काममात्र गरिरहेको आरोप लगाए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया