दलबीच आरोपप्रत्यारोपः को सुविधाभोगी, को पदलोलुप ?

समाधान संवाददाता २०७८ वैशाख १४ गते ८:३६

अनिष भट्टराई, पोखरा

अविश्वासको प्रस्ताव पेस भएसँगै सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक सोमबार दलहरुको आरोपप्रत्यारोपमै सकिएको छ ।

सत्तारुढ दल नेकपा एमाले र विपक्षी मोर्चाले अविश्वासको प्रस्ताव ल्याउने परिस्थितिमाथि घोचपेच गरिरहे ।

Advertisement

अविश्वासको प्रस्ताव ल्याउने कांग्रेस, माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसम्मलाई असंवैधानिक र अलोकतान्त्रिक सरकारको संज्ञा दियो ।

सत्तारुढ दल एमालेका सांसदले संघीय सरकारको रिस प्रदेशमाथि पोख्नु नै अलोकतान्त्रिक र संघीयता विरोधी भएको बताए । दुबै दलका सांसदले एक÷अर्कालाई पदलोलुप र सुविधा भोगीको संज्ञा दिए ।

Advertisement

कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव पेस गरेका हुन् ।

उनले मुख्यमन्त्री गुरुङको सरकार असंवैधानिक भएपछि अविश्वास प्र्रस्ताव ल्याएको बताए । संघीय सरकारको सिको गर्दै प्रदेश पनि अलोकतान्त्रिक र प्रतिगमनकारी भएको पनि उनको आरोप थियो ।

‘उहाँले नेतृत्व गरेको दल विभाजित भइसक्यो, विश्वासको मत लिनुपथ्र्यो लिनुभएन, अहिलेको सरकार असंवैधानिक भइसकेको छ,’ उनले भने । गुरुङ सरकार अल्पमतमा परेपछि पनि कुर्चीमै बसिरहनुले गलत सन्देश दिएको पोखरेलले बताए ।

‘हिउँदे अधिवेशनलाई वैशाख १ गते मध्यरातमै अन्त्य गरियो । केन्द्रमा जुन प्रतिगनमकारी कदम चालियो, १२ बजे पत्र पु¥याइयो,’ उनले भने, ‘यहाँ पनि सोही गरियो किनकी मुख्यमन्त्रीले संसद फेस गर्न डराउनुभयो ।’

कांग्रेस नेता नेपालीलगत्तै नेकपा एमाले सांसद रोशन गाहामगरले सत्ताको लोभमा अविश्वास प्रस्ताव ल्याइएको बताए । वर्तमान सरकारले जनताको मन छुने काम गरिरहेका बेला जनताको खुसी देख्न नसकेर राजनीतिक अस्थिरताका लागि अविश्वास ल्याइएको उनको आरोप थियो ।

‘जनताले ल्याएको होइन, यो त एउटा दलले सत्तामा पुग्न ल्याएको हो,’ उनले भने । नेपाली कांग्रेसका सांसद डोबाटे विश्वकर्माले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि प्रदेशमा नयाँ राजनीतिक परिदृश्य बनेको बताए ।

माओवादी केन्द्रका सांसद दीपक कोइराला र एमालेका सांसद धनञ्जय दवाडीको बहसले संसदलाई अझ रोचक बनायो ।

सांसद कोइरालाले ६ दिनमात्रै झण्डा हल्लाउने चाहले संसद अधिवेशन अन्त्य गरेको आरोप लगाउँदा सांसद धनञ्जय दवाडीले त्यसको कडा प्रतिवाद गरे ।

‘कोरोना हुन्जेल मास्क लगाएर हिँडनु होला । त्यसपछि के जनतालाई जवाफ दिनुहुन्छ ? भोलि के गर्नुहुन्छ ? हिजोसम्म एउटै सरकारमा बस्नु भो । आज मोटर चढ्ने होइन भनेर म्याउँ गर्नुहन्छ ? तपाईंको म्याउँ मोटर चढ्नका लागि र झन्डा हल्लाउन हो अनि यो अराजकता हो,’ दवाडीको जवाफ थियो ।

सांसद कोइरालाले आफूहरु सत्तामा पुग्न अविश्वास ल्याएको आरोप लगाएर सत्तारुढ सांसदले आफ्नै ‘वेट’ घटाउने काम गरेको बताए ।

संविधानको प्रावधान अनुसार नै अविश्वास प्रस्ताव ल्याउने संवैधानिक प्रक्रियालाई गलत भन्नु एकदलीय तानाशाह हुने उनको भनाइ थियो । ‘स्वाभाविक प्रक्रियाबाट आएका छौं, रातारात हठात अधिवेशन अन्त्य गरेर भागेका छैनौं,’ उनले भने ।

वैशाख ६ गतेका लागि बोलाइएको अधिवेशन अन्त्य गरेर ६ दिनका लागि झण्डावाल गाडी चढेर सत्तारुढ दलले आफ्नो रुप देखाएको सांसद कोइरालाको आरोप थियो ।

‘आज १३ गते त टेबुल भयो त । ६ गते नै आफ्ना कुरा राख्न सकिन्थ्यो नि । ६ दिनमात्रै झण्डा हल्लाउन चाहने साथी लोकतान्त्रिक हुने, हामीलाई अनि लालचमा फस्यो भन्न सुहाएन कि माननीय ज्यूहरु,’ उनले कटाक्ष गरे ।

सत्तारुढ सांसदले स्थिरताको नारा लगाए पनि संघीयता, संविधान, लोकतन्त्र खारेज हुने गरी स्थिरता राख्न नसकिने कोइरालाले बताए ।

‘शरीरमा गोली बोकेर ल्याएको संविधान च्यात्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘धेरै मन्त्रालय पाइन्छ भनेर गयो भनेका छन्, तर त्यो होइन । दृष्टिकोण मिलेन, विचार मिलेन अनि साथ छाड्यौं ।’

नेकपा एमाले सांसद दवाडीले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उग्रपन्थी र दक्षिणपन्थीको साँठगाँठ भएको बताए । सांसद दवाडीले माओवादी नामको मात्र वामपन्थी भएको आरोप लगाए ।

‘चुनावमा सँगै लड्ने, प्रतिबद्धता एउटै गर्ने, कुरा वामपन्थीका गर्ने अनि साँठगाठ, गठबन्धनचाहिँ दक्षिणपन्थीसँग गर्ने ? नामका वामपन्थी, कुराका दक्षिणपन्थी भनेका यिनै हुन्,’ दवाडीले भने ।

मनमोहन अधिकारीको सरकार अपदस्त गरेको इतिहास दोहो¥याउँदै अविश्वास प्रस्ताव ल्याइएको उनले बताए ।

‘हिजो मनमोहन अधिकारीको सत्तालाई जे हर्कत गरिएको थियो, लोकप्रिय सरकारलाई अपदस्त गर्नेै गरी अविश्वासको प्रस्ताव पेश भएको छ । यसले इतिहास दोहोरिएको छ,’ दवाडीले भने ।

प्रधानमन्त्री केपी ओलीले गरेको काममा मुख्यमन्त्री गुरुङलाई चुटिएको उनको तर्क थियो । ‘यसरी लोकतन्त्र हुँदैन, संविधान सुरक्षित रहँदैन । संघीयता बलियो हुन्छ ? गोलीको छर्रा निस्किन्छन् ?’ उनले प्रश्न गरे ।

अहिले कोरोनाकालमा मास्कले मुख छोपेर हिँडे पनि पछि जनतालाई मुख देखाउनुपर्ने बताए । माओवादीले संघीयताका लागि लडेको बताउने गरे पनि उनीहरुकै कामले संघीयता असफल हुन लागेको दवाडीले जनाए ।

उनले भने, ‘पोखरामा घाम लाग्यो भनेर काठमाडौंमा छाता ओडेर हुुँदैन । यो हो संघीयतालाई सफल गर्ने कुरा ?’

जातीय मुद्दा उठाउने माओवादीले आफ्नो विश्वास छाडेको आरोप लगाए । ‘गीत गाउने संघीयता र जातीय मुक्तिको । तर, एउटा जनजातिको छोरो मुख्यमन्त्री भएको हेर्न नचाहने ?’ उनले भने, ‘जनमतलाई मलामी लैजानेले सहकार्य गरेर कसरी जन्तीसहित हनिमुन मनाउनुहुन्छ, आउने दिनले पुष्टि गर्छ ।’

माओवादीले विपक्षी दलसँग गरेको यो साँठगाँठ उनीहरुलाई नै गाह्रो पार्ने उनको अनुमान छ । ‘हाम्रोतिर एउटा भनाइ छ, निल्न त निलिस् कान्छा, हँसिया । भोलि बिहान चाल पाउलास्,’ उनले कटाक्ष गरे ।

कांग्रेसका नेता मेखलाल श्रेष्ठले जनतालाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन आफूहरुले अविश्वासको प्रस्ताव ल्याएको बताए । सातौं अधिवेशनमा बिजनेस हुँदाहुँदै पनि हठात अधिवेशन अन्त्य गरेर सरकार भागेपछि आफूहरुले समातेर ल्याएको उनको भनाइ थियो ।

‘जनताका समस्यालाई मुक्ति दिन, हामी ४ दल मिलेर अविश्वास ल्याएका हौं, हामी कसरी सत्तालोलुप हुन सक्छौं ?’ उनको प्रश्न थियो ।

अब बन्ने नयाँ सरकारलाई पनि एमालेले साथ दिएर सौहार्द वातावरण बनाउन सक्नुपर्ने उनले बताए ।

‘भाइभाइ झगडा गरेपनि चाडबाडमा एकैठाउँ हुन्छन्, हामी पनि फेरी मिल्नेछौं, ६० सांसद नै एकजुट हुनेछौं,’ उनले भने ।

एमाले सांसद सावित्रा रानाले अहिले प्रतिपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याएर कोभिड बारेको छलफल बिथोलेको बताइन् ।

‘संवैधानिक व्यवस्था अनुसार अघि बढिरहँदा सरकारले त्यस्तो के ग¥यो कि अविश्वासको प्रस्ताव ल्याउनु प¥यो ?,’ उनको प्रश्न थियो ।

कांग्रेस सांसद मनकुमारी गुरुङले विपक्षी दलको सुझावलाई मुख्यमन्त्रीले दलीय आँखाले मात्र हेरेकाले असफल भएको जिकिर गरिन् ।

जनताको जीवन बचाउनुपर्ने बेलामा केन्द्र सरकारको सत्ताको धोती च्यापेर बस्दैमा समय बित्न लागेको उनको आरोप थियो ।

सोमबारको संसद बैठकमा कृष्णचन्द्रसहित १० जना सांसदले भनाइ राखे । मंगलबारको बैठकमा २५ जनाले बोल्ने कार्यसूची छ । सम्भवत १५ गते अविश्वासको प्रस्तावमाथि मतदान हुने छ । मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मतदानको प्रक्रिया अघि बढ्नेछ ।

मनाङेलाई स्वतन्त्रको कुर्ची

मनाङ ‘ख’बाट स्वतन्त्र निर्वाचन जितेका सांसद राजीव गुरुङ (दीपक मनाङ) ले प्रदेश सभामा स्वतन्त्र सांसदका लागि छुट्टै सिट व्यवस्था गर्न माग गरेका छन् । छुट्टै बस्ने व्यवस्था मिलाउन माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएका हुन् ।

सोमबार भने मनाङे एमालेकै लहरमा बसे । २०७६ असार १९ गते मुख्यमन्त्री तत्कालीन नेकपा प्रवेश गरेका थिए । आफू नेकपा प्रवेश गरेको तर एमालेमा प्रवेश नगरेको उनको तर्क छ ।

‘नेकपा विभाजन हुँदा पनि मैले भनेकै हो । अहिले पनि म स्वतन्त्र सांसद नै हुँ,’ मनाङेले भने, ‘आज निवेदन दिएको छु, भोलिबाट छुट्टै बस्ने व्यवस्था होला ।’

मनाङेले छुट्टै बस्ने ठाउँ माग गर्दै सचिवालयमा निवेदन दर्ता गराएको र मंगलबारबाटै छुट्टै व्यवस्था हुने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

मनाङेको नेकपा प्रवेशसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई ६० सदस्यीय संसदमा २ तिहाई बहुमत पुगेको थियो ।

संसदमा अविश्वासको प्रस्ताव पेश भएकै दिन छुट्टै बस्ने ठाउँ मागेका मनाङेले आफू अहिले नै कसको पक्षमा मत दिने निर्णयमा पुगिनसकेको बताए ।

‘म त जनमोर्चाले जता मत हाल्छ, त्यतै मतदान गर्छु । किन कि जनमोर्चाले पृथ्वीसुब्बालाई साथ दियो भने सरकार जोगिन्छ, दिएन भने ढल्छ,’ मनाङेले भने, ‘एमालेमा नजिकका मान्छे भए पनि कसैको ह्विप मलाई लाग्दैन । त्यसैले जनमोर्चा निर्णायक हुँदा म पनि त्यसै लाइनमा उभिन्छु ।’

पिसिआर परीक्षण गर्नुपर्ने एमाले संसदीय दलको माग

एमालेका सांसदले सोमबारको बैठकको सुरुमै उठेर विरोध जनाए । ‘नेपाल भर कोरोना संक्रमण बढ्दो छ, यो बेलामा पिसिआरबिना संसद चलाइनु, त्यही माथि यसरी खचाखच बस्नुले कोरोना बढ्न सक्छ,’ एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले ध्यानाकर्षण गराए, ‘पिसिआर परीक्षण गरेर मात्र बैठक राखियोस् ।’

प्रदेश सभा बैठकमा छिर्दा आफूहरुको ज्वरोसमेत ननापिएको भन्दै उनले आपत्ति जनाए ।

‘स्वास्थ्य नै नहेरी, ज्वरो नै ननापी छिराइयो,’ उनले भने ।

बैठक भौतिक दूरीबिना नै बसेको थियो । यो भवनमा सामाजिक दूरी कायम गर्न नसक्ने भन्दै प्रदेश सभाको छैटौं अधिवेशन सभागृहमा सारिएको थियो । तर अहिले भने सामाजिक दूरीको ख्याल नगरी नदीपुरमै बसेकोे हो ।

तपाईको प्रतिक्रिया