भारत विरुद्ध अप्रत्याशित कारबाही गर्ने पाकिस्तानको चेतावनी

समाधान संवाददाता २०७५ फागुन १५ गते ८:२०

भारतले आफ्नो भूभागमा हवाई कारबाही गरेको बदलास्वरूप आफूले रोजेको समय र स्थानमा प्रतिक्रिया जनाउने चेतावनी पाकिस्तानले दिएको छ ।

के गर्ला पाकिस्तानले ?
सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले चकित पर्न तयार रहन भारतलाई सावधान गराए । भारतले उसका लडाकु विमानले जैश ए मोहम्मद संगठनको आत्मघाती हमलाकारीहरूको प्रशिक्षण शिविर ध्वस्त पारिदिएको बताएको छ । पाकिस्तानले चाहिँ भारतीय विमानहरूलाई आफ्ना विमानले फर्कन बाध्य पारिदिएको र कुनै हताहती नभएको बताएको छ ।

युरोपेली युनियन र चीनले दुवै देशलाई संयम अपनाउन आग्रह गरेका छन् । पाकिस्तानको चेतावनीपछि त्यहाँको अवस्थाबारे मुम्बइस्थित सञ्चारकर्मी योगिता लिमये भन्छिन्, ‘एउटा त्रासको वातावरण छ । खासगरी भारत प्रशासित कश्मीर तथा सीमामा रहेका भूभागमा अब के होला भन्ने त्रास र पाकिस्तानले अब के गर्ला ? भन्ने चिन्ता व्याप्त छ ।’

Advertisement

तनाव खतरनाक स्तरमा
इस्लामावादस्थित सञ्चारकर्मी एम इल्यास खानको विश्लेषण अनुसार पाकिस्तानी भूभागभित्र भारतीय हवाई सेनाले गरेको कारबाहीले तनावलाई खतरनाक स्तरमा उकासिदिएको छ ।

सन् २०१६ को सेप्टेम्बरमा उरीस्थित भारतीय सेनाको अखडामा भएको हमलापश्चात् ‘सर्जिकल स्ट्राइक’ मार्फत प्रतिक्रिया जनाउने भारतको चेतावनीले पनि त्यस्तै अवस्था निम्त्याएको थियो । भारतले त्यतिखेर विशेष फौजलाई विद्रोहीका शिविरमा हवाईमार्गबाट ओरालेर कारबाही गरेको भन्ने दाबीलाई केही बढाइचढाइ प्रस्तुत गरिएको पाइयो ।

Advertisement

तर त्यतिखेर भारतीय फौजले नियन्त्रण रेखाभित्र केही ठाउँमा प्रवेश गरि केही हताहती गराएका थिए । यतिखेर चाहिँ उनीहरूले पाकिस्तानको अन्तर्राष्ट्रिय सीमा नै पार गरेर कयौं वर्षदेखि त्यहाँ रहेका भनिएका कश्मीरी विद्रोहीको शिविरमा हमला गरेका छन् ।

पाकिस्तानी सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ र स्थानीय प्रहरीलाई पनि त्यहाँ जान दिइएको छैन । साथै, पाकिस्तानी अधिकारीहरूले सो कारबाही नियन्त्रण रेखापारि मात्रै भएको भन्दै स्थितिलाई सामान्यीकरण गर्न खोज्दैछन् । पाकिस्तानले प्रतिक्रिया जनाउने वाचा त गरेको छ तर त्यो कूटनीतिक उपायमै सीमित हुन सक्छ । तर केही विश्लेषकहरूले भनेजस्तै कश्मीरमा भारतीय फौजविरुद्ध विद्रोहीहरूले जवाफी हमला गर्न सक्छन् ।
बिबिसीबाट

तपाईको प्रतिक्रिया