अक्सिजन सिलिन्डरमा कर छुट
समाधान संवाददाता, पोखरा
सरकारले अक्सिजन सिलिन्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदले जीवनदायक अक्सिजन सिलिन्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
र्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो ।
दोस्रो लहरको कोरोना संक्रमणको चपेटमा रहेको भारतमा अक्सिजन सपोर्ट नपाउँदा संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा समेत मेडिकल अक्सिजनको उपलब्धताको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ ।
भारतमा जस्तै नेपालमा समेत अक्सिजनको अभाव हुने पो हो कि भन्ने आम मानिसको चासो र चिन्ता छ ।
कोरोना भाइरसको संक्रमण देखिएका बिरामीलाई श्वास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राख्ने गरिन्छ । तर, अक्सिजनको उपलब्धको विषयबारे ठोस जानकारी नआउँदा आम नागरिकमा चिन्ता बढेको देखिन्छ ।
कोरोना संक्रमितको जीवनरक्षाका लागि अक्सिजनक आवश्यक पर्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गरिदिन पनि आग्रह गरेको छ ।
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार देशभरमा साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योग छन् । तीमध्ये पनि काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग छन् ।
यसका साथै केही ठूला अस्पतालमा आफ्नै अक्सिजन प्लान्टसमेत छन् । ती प्लान्टबाट उत्पादित अक्सिजन ती अस्पतालमा पर्याप्त मात्रामा पुग्ने गर्छ । तर केही अस्पतालमा भने प्लान्ट बिग्रिएका कारण उद्योगका अक्सिजन र सिलिन्डरमा भर पर्नुपर्ने अवस्था छ ।
काठमाडौं उपत्यकामा रहेका ८ वटा उद्योगमध्ये ७ वटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराउने गरेको अक्सिजन उत्पादक संघका अध्यक्ष शारडाले बताए ।
एउटा सिसा उद्योगले आफ्नो लागि मात्र अक्सिजन उत्पादन गर्ने गरेको छ । अन्य उद्योगहरुले भने बजारकै लागि उत्पादन गर्ने गरेको उनले बताए ।
उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले बताए ।
काठमाडौं बाहिर बिराटनगर, रुपन्देही, दाङ लगायतका सहरमा थुप्रै अक्सिजन उद्योग रहेकाले उनीहरुलाई समेत सक्रिय बनाएमा अक्सिजनको अभाव नहुने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया