प्रदेश प्रमुख फेरिए, के भन्छन् गण्डकीका विपक्षी नेता ?

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेर सीता पौडेललाई नियुक्त गर्नुलाई विपक्षी दलहरुले अलोकतान्त्रिक भएको बताएका छन् ।
प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा आफू अनुकुलको निर्णय लिन प्रदेश प्रमुख फेरिएको उनीहरुको धारणा छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार अमिक शेरचनलाई पदमुक्त गरेर पौडेललाई नियुक्त गरेकी थिइन् । शेरचन माओवादी निकट हुन् ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध २ वैशाखमा अविश्वास प्रस्ताव पेश भएको थियो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल आफू प्रतिकूल निर्णय लिने सबै व्यक्तिलाई केन्द्र सरकार अपदस्त गर्न लागि परेको बताउँछन् ।
गण्डकी प्रदेशमा शेरचनले संवैधानिक व्यवस्था अनुसार काम गरेको मन नपरेपछि उनलाई हटाइएको उनको भनाइ छ । ‘उहाँले त संविधानले दिएका धारणा अनुसार काम गर्दै आएको डाइजेस्ट नभएपछि हटाउने काम भएको छ,’ पोखरेलले भने ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान विधि विधान मिचेर हिँडिरहेको सरकारको कदम भएको बताए । देशका सबै कानुन मान्न छाडेको सरकारले प्रदेश प्रमुख हटाउँदा कुनै आश्चर्य नलागेको उनले सुनाए ।
‘विधि विधान मिचेर संविधान नै मान्न छाडेको सरकारले हटाएको छ, अब जे भन्यो त्यही मान्ने गरी नयाँ व्यक्तिलाई बनाइएको हो,’ उनले भने ।
सरकारले आफ्नो नैतिकता गुमाएको र गैरलोकतान्त्रिक रुपले विशेष अधिवेशन अन्त्यका लागि नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको उनले बताए । ‘विशेष अधिवेशन विशेष विषयमाथि छलफल नसकिएसम्म बन्द हुँदैन भन्ने मान्यता हो, तर नियम नमान्ने सरकारले यसलाई पनि रोक्न नयाँ प्रमुख ल्याएको देखिन्छ,’ चुमानले भने ।
शेरचन १७ कात्तिक २०७६ मा प्रदेश प्रमुखका रुपमा नियुक्त भएका थिए । त्यसअघि प्रदेश प्रमुख रहेका कांग्रेस निकट बाबुराम कुँवरलाई हटाएर नेकपाको सरकारले शेरचनलाई प्रदेश प्रमुख बनाएको थियो ।
शेरचनले ६ वैशाखमा सरकारसँग राय नलिई १३ वैशाखका लागि विशेष अधिवेशन डाकेपछि सत्तारुढ दल रुष्ट भएको बताइन्छ । शेरचनले मंगलबार बिहान पत्रकार सम्मेलन मार्फत् आफ्ना भनाइ राख्ने जनाएका छन् ।
प्रदेश प्रमुख नियुक्त भएकी सीता पौडेल भूमिगत कालबाट नै पार्टीमा सक्रिय थिइन् । पौडेल अहिले प्रधानमन्त्री केपी ओलीकी जनसम्पर्क सल्लाहकार पनि रहेकी छिन् । उनी एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष पनि हुन् ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया