नयाँ घर पाएपछि बोटे समुदायमा खुशीयाली

कृष्ण न्यौपाने
दमौली
तनहुँ व्यास नगरपालिका ५ लुतेवराहका ८१ वर्षीय उजरसिं बोटेको मुहारमा छुट्टै चमक छ । वर्षौदेखि झुप्रो टहरोमा बस्दै आएका बोटेको नयाँ घर पाएपछि खुशीको सीमा नै छैन । आर्थिक रुपमा विपन्न सीमान्तकृत जातिको रुपमा सूचीकृत बोटेले नयाँ घर पाउँछु भन्ने कल्पनासमेत गरेका थिएनन् । उनले भने, ‘मैले नयाँ घर पाउँछु होला भन्ने कल्पना गरेको थिइँन । तर सरकारले घर बनाइदियो । धेरै खुशी छु ।’
सहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रममार्फत उजरसिं बोटेले नयाँ घर प्राप्त गरेका हुन् । उनीसँगै यस ठाउँका ६ घरधुरीलाई नयाँ घर निर्माण गरिएको छ । पानी पर्दा र हावाहुरी आउँदा घर नै उडाउँछ की भन्ने चिन्तामा रहने बोटेलाई अब त्यो चिन्ता पनि टरेको छ । उनले भने, ‘अब बल्ल आनन्द हुने भयो ।’ सोही ठाउँका रुपामाया बोटे पनि नयाँ घर पाएपछि खुशी छिन् ।
पैसा नहुँदा घर बनाउन नसकिएको भन्दै उनले सरकारले घर बनाइदिएपछि खुशी हुँदै भनिन्, ‘हामीजस्तो गरीबलाई सरकारले हेर्दो रहेछ ।’ यहाँका आइतबहादुर बोटे, बलबहादुर बोटे, क्षेत्रबहादुर बोटे, रुपामाया बोटे, सन्तबहादुर बोटे र उजरसिं बोटेलाई जनता आवासमार्फत् घर निर्माण गरिएको व्यास नगरपालिका ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।
२०७५ वैशाखबाट निर्माण सुरु गरिएको घर सम्पन्न भइसकेको छ । ऐलानी जग्गामा झुप्रो घर बनाएर बसोबास गरिरहेका उनीहरुका लागि व्यास नगरपालिकाको समन्वयमा सार्वजनिक जग्गामा एकीकृतरुपमा घरहरु निर्माण गरिएको छ । उनले भने, ‘पहिला बोटे जातिका व्यक्तिहरु फरक फरक ठाउँमा बसोबास गर्दै आइरहेका थिए । एकीकृत वस्तीका रुपमा विकास गर्ने लक्ष्य बमोजिम एकै ठाउँमा घर निर्माण गरिएको छ ।’
वडाध्यक्ष श्रेष्ठका अनुसार यस ठाउँलाई नमुना एकीकृत वस्तीको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । निर्माण भएका सबै घरमा नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको सहयोगमा बत्ती जडान गरिएको छ । यस ठाउँमा हाल एउटा मात्रै धारा रहेकोले निकट भविष्यमा नै पानी ट्यांकी निर्माणगरी सबै घरमा खानेपानीको सुविधा पुर्याइने श्रेष्ठले जानकारी दिए ।
सहरी विकास तथा भवन कार्यालयका सव इन्जिनियर शंकरराज गैह्रेले २ कोठा र शौचालय सहितको १ घर निर्माणका लागि ३ लाख ३२ हजार ५ सय रुपैयाँ खर्च भएको जानकारी दिए । उनका अनुसार व्यास नगरपालिका ५ मा जनता आवास कार्यक्रममार्फत ३५ घर निर्माण भइरहेका छन् । सोही वडाको रानीटारी, चिन्तुटार, चुँदेर र नेपालटारमा समेत घर निर्माण भइरहेको छ । निर्माण भइरहेका घरहरुमध्ये २१ घर दलित र १४ घर बोटे जातिका हुन् ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया