हेलिकोप्टरमा पोखरा ल्याइयो, तर बाँचेनन्

समाधान संवाददाता २०७८ जेठ ३ गते ७:०४

कोरोनाबाट शनिबार पोखरामा मृत्यु भएका मुस्ताङका ३३ वर्षीय पुरुषलाई साढे ५ लाख खर्चेर हेलिकोप्टरमा पोखरा ल्याइएको थियो

समाधान संवाददाता, पोखरा÷जोमसोम

बाहिर सबै राम्रो भए पनि शरीरको भित्री भाग कोरोना भाइरसले गाँजेको रहेछ । मुस्ताङको रानीपौवाका ३३ वर्षीय युवक कोरोनासँग लड्दालड्दै शनिबार बिहान मणिपाल शिक्षण अस्पताल पोखरामा अस्ताए ।

Advertisement

प्रदेश स्वास्थ्य निर्देशनालयले उनको मृत्यु आइतबार पुष्टि गरेको छ । २५ वैशाखमा कोरोना पुष्टि भएपछि ती युवकलाई भोलिपल्ट पोखरा ल्याइएको थियो । अस्पतालमा उपचार गराइरहँदा पनि अरुसँग राम्रै बोल्थे, राम्रैसँग खान्थे ।

कोरोनाले निमोनिया गम्भीर बनाएपछि उनी घर फर्किन पाएनन् ।

Advertisement

‘निमोनियाले पहिल्यै समातेको रहेछ । रुघाखोकी लागेपछि चेक गराउँदा पोजेटिभ देखियो,’ मृतकका साथी रमेश गुरुङले सुनाए, ‘खाना पनि राम्रै खान्थ्यो, घरीघरी खोक्नेमात्रै हो । नत्र राम्रै थियो ।’

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ रानीपौवा बस्ने ती युवकलाई पोखरा ल्याउँदामात्रै साढे पाँच लाख खर्च भयो । उनलाई सिम्रिक एअरको हेलिकोप्टरमा २६ वैशाखमा मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो । ‘चार लाख ८० हजार भाडा, ६० हजार मेडिकल खर्च भनेर लियो,’ गुरुङले भने ।

आइसियु र भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा मुस्ताङमा गम्भीर बिरामीको उपचार हुँदैन । स्वास्थ्य जटिल बन्ने देखेपछि संक्रमित युवकलाई जिल्ला अस्पतालका डाक्टरले पोखरा जान सुझाए । ‘ज्वरो आए पनि घरमै बसेछन् ।

पछि चापेपछि चेक गराउँदा पोजेटिभ आयो । डाक्टरले तपाइँलाई यहाँ हुँदैन । पोखरा जानुस् भनेपछि हेलिमा लगेको हो,’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ का वडाध्यक्ष वीरबहादुर गुरुङले भने ।

स्थलमार्गबाट पोखरा आउन सात घन्टा जति लाग्छ । जति छिटो पोखरा पुग्न सकिन्छ, त्यति राम्रो हुन्छ भन्ने भएपछि आफन्तले हेलिकोप्टर मगाए ।

७० वर्ष नाघेका बुवा दुई महिनादेखि उनीसँगै गाउँमै थिए । छोरालाई उपचारका लागि पोखरा पठाएर उनी उतै बसे । आमा काठमाडौँको कपनस्थित घरमा छिन् ।

मुस्ताङका होटल व्यवसायी ती युवक अविवाहित थिए । मृत्युअघि मुस्ताङबाट आएका बुवासँग भेट भएको मृतकका साथी रमेशले सुनाए । आमा भने काठमाडौँबाट आउने कुरा हुँदाहुँदै आउन पाइनन् । काकाको छोरा र भिनाजु कुरुवा बसेका थिए ।

‘चाडपर्व हुँदा बुवा डेढ महिना पहिला आउनुभएको थियो । उहाँ दिउँसो पोखरा आउनुभयो, भेट्नुभयो । बेलुका ९ बजे मृत्यु भयो,’ रमेशले भने ।

मृतक ३३ वर्षीय पुरुषको शव परिवारको उपस्थितिमा आइतबार नेपाली सेनाले व्यवस्थापन गरेको छ । यी पुरुष मुस्ताङमा कोरोनाबाट मृत्यु भएका दोस्रो संक्रमित हुन् ।

यसअघि १७ वैशाखमा घरपझोङ गाउँपालिका–४ की ७२ वर्षीया वृद्धाको जिल्ला अस्पताल मुस्ताङमा मृत्यु भएको थियो । मुस्ताङमा आइतबारसम्म ९८ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये ३७ जना सक्रिय संक्रमित हुन् ।

गाउँले सबैलाई रुघाखोकी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ रानीपौवाका लगभग सबै घरका सदस्यलाई अहिले रुघाखोकी छ । कोही पनि घर बाहिर निस्कन पाउँदैनन् । शनिबार मृत्यु भएका युवकलाई गत हप्ता पोखरा ल्याइएपछि वडा १५ दिनलाई सिल गरिएको वडाध्यक्ष वीरबहादुर गुरुङले जानकारी दिए ।

पाँच सयदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने नियम बनाइएको छ । ‘त्यो भाइलाई हेलिमा लैजानेबित्तिकै अवस्था अनुसार भनेर १५ दिनलाई वडा नै सिल गरेको छ,’ उनले भन, ‘मास्क नलगाई कतै हिँडे पाँच सय रुपैयाँ, अनि रक्सी खान भट्टी छिर्नेलाई २० हजार जरिवाना छ ।’

कोरोना परीक्षण नभए पनि खेतमा जान भने रोकतोक नगरिएको वडाध्यक्ष गुरुङले बताए । ‘हाम्रो त यहाँ किसानी छ । बगैँचामा जानैपर्छ । कोही दाजुभाइसँग नभेटी खेतमा काम गर्ने भनेका छौँ । पसल पनि दिनको ३ घन्टा खोल्न दिइएको छ,’ वडाध्यक्ष गुरुङले भने ।

तपाईको प्रतिक्रिया