मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री

३ सदस्यीय मन्त्रीपरिषद् विस्तार गर्ने गरी मुख्यमन्त्रीले सोमबार एमाले नेताहरुसँग छलफल गरेका छन् ।
अनिष भट्टराई, समाधान, पोखरा
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज वा भोलिमा मन्त्रीपरिषद् विस्तार गर्ने भएका हुन् ।
मुख्यमन्त्रीले मन्त्रीपरिषद् विस्तार बारे सोमबार आफ्ना विश्वास पात्रहरुसँग छलफल गरेका थिए । कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्रीले सोमबार रामशरण बस्नेत, किरण गुरुङ र मायानाथ अधिकारीसँग भेटेका थिए ।
मुख्यमन्त्री गुरुङले मन्त्रीपरिषद् सानो बनाउने गरी योजना बनाएका छन् । मुख्यमन्त्रीसँग सोमबार छलफल गरेका एक नेताका अनुसार मुख्यमन्त्रीले आफूसहित ३ अथवा ४ जना रहने गरी मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।
‘हामीले मुख्यमन्त्रीसँग उहाँको स्वास्थ्य अवस्थाबारे छलफल गर्न गएका थियौं, मन्त्रीपरिषद्बारे पनि कुरा भयो,’ ती नेताले भने, ‘मुख्यमन्त्रीले ३ वा ४ मन्त्री रहने गरी मन्त्रालय बनाउन लाग्नु भएको हो ।’ अहिलेसम्म को–को मन्त्री बन्ने भन्ने निधो नलागेको उनले बताए ।
प्रदेशमा मुख्यमन्त्रीले १ सांसदलाई मन्त्री नियुक्त गरेर विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार गर्नसक्ने चर्चा पनि थियो । बैठकमा सहभागी नेता रामशरण बस्नेतले अहिले त्यो सम्भावना नरहेको दाबी गरे ।
‘त्यस्तो हुँदैन, मुख्यमन्त्रीज्यूले मन्त्रीपरिषद् विस्तार गर्ने कुरा भएको छ, १ जनामात्रै हुने भन्ने होइन,’ बस्नेतले भने । मन्त्रीपरिषद्ले गरेका निर्णय मान्य हुन मन्त्रीपरिषद्मा कम्तीमा २ सदस्य हुनुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री गुरुङको स्वास्थ्य अवस्था प्रतिकूल भएपछि अहिले उनी होम आइसोलेशनमा छन् । एमाले नेता किरण गुरुङले मुख्यमन्त्री आइसोलेसनमा रहेकाले छलफल नभएकाले मन्त्रीपरिषद् विस्तारमा ढिला भएको बताएका थिए ।
‘मुख्यमन्त्रीज्यू आइसोलेसनमा भएकाले छलफल हुन सकेको थिएन, तर सोमबार चाहिँ छलफल ग¥यौं,’ उनले भने ।
बैशाख २९ गते गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद्को ठूलो दलको नेताको हैसियतमा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएकी थिइन् ।
मुख्यमन्त्री गुरुङले सो दिन कसैलाई पनि मन्त्रीको रुपमा शपथ खुबाएनन् । बुधबार नै बसेको पहिलो एकल मन्त्रीपरिषद् बैठकमार्फत् गुरुङले कोभिड–१९ कोषमा ४ करोड जम्मा गर्ने निर्णय गरे ।
प्रदेशमा गुरुङ सरकार ढाल्न विपक्षीले खेल थालेपछि गुरुङले राजीनामा दिएका थिए । २७ बैशाखमा सदनमा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । मुख्यमन्त्री गुरुङले मार्ग प्रशस्त गर्ने भन्दै १ दिन अगावै आइसोलेसनमा हुँदा नै राजीनामा बुझाएका थिए ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको एकीकरण बदर भएर पूर्ववतः नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि प्रदेशमा सत्ता समिकरणको खेल बढेको थियो । माओवादीतर्फबाट यसअघिको गुरुङ सरकारमा सहभागी २ जनाले २५ चैतमा राजीनामा दिएका थिए ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएपछि प्रदेशमा गुरुङ सरकार ढाल्न अंकगणितीय सम्भावनाको खोजी थालिएको थियो ।
कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको यो खेलले पूर्णता भने पाउने थिएन । त्यस खेलमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएपछि भने खेल अघि बढेको थियो ।
जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बैशाख १ गते विज्ञप्ति निकाल्दै जनमोर्चाले कांग्रेस नेतृत्व गठबन्धनलाई सहयोग गर्ने घोषणा गरे । त्यसको भोलिपल्टै विपक्षी मोर्चाले प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।
मुख्यमन्त्री गुरुङले केही दिन छलफल गर्नुपर्ने भन्दै १ गते मध्यरातमा सदनको सातौँ अधिवेशन अन्त्य गरिदिए । विपक्षी मोर्चाले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विशेष अधिवेशनको माग गर्दै समावेदन दिए । प्रदेश प्रमुख शेरचनले ६ बैशाखमा १३ बैशाखका लागि बैठक डाकिन् ।
कोभिड परीक्षणपछि मात्रै बैठक राख्नुपर्ने सांसदको अडानपछि कोभिड परीक्षण गरेर १५ वैशाखमा मतदानको कार्यसूची तयार भयो । तर, विपक्षी दलका एक सांसद अनुपस्थित भएपछि अविश्वास फेल हुनसक्ने भन्दै सभामुखले हठातमा संसद बैठक अनिश्चितकालका लागि स्थगित गरिदिए ।
पछि २६ वैशाखमा मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि विपक्षी मोर्चाले सरकार बनाउने मौका पाएपनि बहुमत पु¥याउन भने सकेनन् । राष्ट्रिय जनमोर्चाका २ प्रत्यक्ष निर्वाचित सांसदले सहयोग गर्न नसक्ने भनेपछि उनीहरू सरकार गठन गर्न चुकेका थिए ।
त्यसपछि गठन भएको गुरुङ सरकारले छिट्टै पूर्णता पाउँदैछ । मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिएर बाँकी कार्यकाल चलाउने दृढता कार्यभार सम्हालेपछि देखाएका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया