…अनि थापाका श्रीमती र दुधे बच्चा गिरफ्तार भए

समाधान संवाददाता २०७८ जेठ २१ गते ७:५६

बागलुङका एक जनमोर्चा नेता भन्छन् ः थापा साह्रै संघर्ष गरेको कम्युनिस्ट हुन् । पञ्चायतकालमा प्रहरी पक्रन आउँदा भागे, श्रीमती र काखे छोरीलाई पुलिसले समात्यो । कांग्रेसीहरू यसलाई मार्छौँ भनेर आउँदा पनि जोगिए । भूमिगत पनि भएर लागे ।

अनुप पौडेल, पोखरा

देशमा पञ्चायती व्यवस्थाको रजगज थियो । पञ्चायती व्यवस्थाविरुद्ध कृष्ण थापाले खुब आलोचना गरे । प्रहरी घरमै आइपुग्यो, थापा भागे । यो २०४६ साल फागुनतिरको कुरा हो । ‘पञ्चायतको विरोध गर्दा ४÷५ वटा मुद्दा थिए । श्रीमतीलाई पनि मुद्दा लगाएका रहेछन्,’ थापा सुनाउँछन्, ‘मलाई पक्रन नसकेपछि श्रीमती र पाँच महिनाको छोरीलाई लगे । म बिहानै पुलिससँग लडेर भागेँ ।’

Advertisement

कान्छी श्रीमती शान्ति र काखे छोरी बिहानीलाई बागलुङ कारागारमा राखियो । २०४६ साल चैतमा पञ्चायती व्यवस्था अन्त्य भएर बहुदल स्थापना भयो । त्यसपछि श्रीमती र छोरी कारागारमुक्त भए ।

थापाले पञ्चायती व्यवस्था चलिरहँदा दोस्रो विवाह गरेका थिए । उनका दुई छोरा र एक छोरी छन् । पञ्चायत कालमा घरबाटै गिरफ्तार भएकी थापाकी छोरी बिहानी अहिले नेपाली कृषि अनुसन्धान परिषद्मा कार्यरत छिन् । कान्छी श्रीमतीतर्फका छोरा प्रदीप पोखरामै ब्याच्लर पढ्दै छन् भने जेठीतर्फका छोरा खगेन्द्र जनमोर्चासँगै आबद्ध छन् । खगेन्द्र राष्ट्रिय युवक संघ जैमिनी नगरपालिका बागलुङका अध्यक्ष हुन् ।

Advertisement

जनमोर्चाबाटै राजनीतिक जीवन सुरु गरेका थापा पार्टीका कट्टर नेता मानिन्छन् । तर, पछिल्लो राजनीतिक घटनाक्रममा उनले पार्टीको निर्णय टेरेनन् र चट्टानी अडान कायम राखे । २०७४ सालको प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धीलाई भारी मतले जितेपछि उनी संसद प्रवेश गरे । एमालेसँगको गठबन्धनबाट चुनाव लडेका थापाले १५ हजार ६३६ मत पाएका थिए ।

थापाले नेपाली कांग्रेसका उम्मेद्वार प्रकाश शर्मा पौडेललाई ६ हजार ५४२ मतले हराएका थिए । पौडेलले ९ हजार ९४ मत पाउँदा अर्का उम्मेद्वार तत्कालीन नयाँ शक्ति पार्टीका युनिस मियाले ३ सय १० मत पाए ।

निकटस्थहरू थापालाई निकै हक्की र कट्टर स्वभावका मान्छन् । ३० को दशकदेखि जनमोर्चासँग आबद्ध भएर राजनीतिमा लागेका थापाले सांसद हुनुअघि कुनै पनि लाभको पद लिएनन् ।

विवादरहित छविका उनी पञ्चायतविरुद्ध बोले, विभिन्न कालखण्डका आन्दोलनमा होमिए, जेल पनि परे । निस्वार्थ जनमोर्चासँग जोडिइरहेका उनी त्यही पार्टीको निर्णय अनुसार सांसदबाट पदमुक्त भए । पदमुक्त भएपछि बिहीबार थापाले सुनाए, ‘दुःखको के मूल्य हुन्छ र ? पहिलाको राजनीतिक जीवनबारे भनिसाध्य छैन ।’

उनी २०३५ साल ताका जनमोर्चासँग जोडिएका हुन् । पञ्चायतविरुद्ध बोल्दा उनको परिवार नै जोखिममा प¥यो । ‘उनी (थापा) साह्रै संघर्ष गरेको कम्युनिस्ट हुन् । पञ्चायतकालमा प्रहरी पक्रन आउँदा भागे, श्रीमती र काखे छोरीलाई पुलिसले समात्यो,’ बागलुङका एक जनमोर्चा नेताले सुनाए, ‘कांग्रेसीहरू यसलाई मार्छौँ भनेर आउँदा पनि जोगिए । भूमिगत पनि भएर लागे ।’

थापा जिल्ला अध्यक्ष हुँदै दुईपटक जनमोर्चाको केन्द्रीय सदस्यसम्म बने । २०५७ देखि २०६३ सम्म पार्टीको जिल्ला कार्यालय सचिव भए । २०६२ देखि २०६५ सालसम्म थापा पार्टीको बागलुङ अध्यक्ष थिए । २०६२÷०६३ सालको जनआन्दोलनमा होमिँदा उनी दुई महिना जेल परेका थिए ।

‘निकै संघर्ष गरेको मान्छे हो उहाँ । त्योबेला जेल परे पनि त्यहाँभन्दा अगाडि पञ्चायतमा वारेन्ट त कति हो कति जारी भयो उहाँको नाममा,’ बागलुङका एक जनमोर्चा नेताले भने ।

२०६३ देखि २०७२ सालसम्म थापा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रहे । गत चैतमा बुटवलमा भएको राष्ट्रिय सम्मेलनबाट थापा पुनः केन्द्रीय सदस्य बनेका थिए । केन्द्रीय सदस्य बनेको दुई महिना नहुँदै गत ८ जेठमा साधारण सदस्यसमेत नरहने गरी उनी कारबाहीमा परे ।

बागलुङकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थापा कृषि विज्ञान पढ्न भरतपुर पुगेका थिए । पढ्दापढ्दै उनले तनहुँको एउटा कृषि फर्ममा काम गरे । त्यहाँ एक वर्ष काम गरेर २०३८ सालमा बागलुङ फर्किएका उनी अखिल नेपाल युवक संघको जिल्ला अध्यक्ष भए ।

थापा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको विपक्षमा पार्टीको निर्णय विपरीत खुलेरै लागेका थिए । उनले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नगर्ने भन्दै पार्टीभित्रै विद्रोह गरेका थिए ।

यही कारण थापालाई ८ जेठमा पार्टीले कारबाही गरेको थियो । गत वैशाख अन्तिममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुखले विपक्षी दललाई सरकार गठनका लागि आह्वान गरेकी थिइन् । कांग्रेस नेतृत्वमा सरकार बनाउन सांसद थापाले हस्ताक्षर गरेनन् ।

पार्टीले विपक्षीको पक्षमा जान भने पनि उनले खुलेरै विरोध गरे, पार्टीमा पनि विमति राखेका थिए । त्यही चट्टानी अडानले जनमोर्चासँगको साढे चार दशक लामो राजनीतिक जीवनमा तत्काललाई ब्रेक लागेको छ । तर भविष्यचाहिँ समयकै गर्भमा छ ।

तपाईको प्रतिक्रिया