१६५० रुपैयाँ जरिवाना नतिर्दा ६ वर्षपछि पक्राउ

समाधान संवाददाता २०७८ असार २० गते १९:१७

समाधान संवाददाता, पोखरा

तनहुँ व्यास नगरपालिका ५ ठुलोटारकी अतिमाया कुमाललाई ६ वर्षअघि जालसाजीको मुद्दा लाग्यो । आफूविरुद्ध मुद्दा परेपछि कुमाल फरार भइन् । अदालतले २०७२ पुस ३० मा उनीविरुद्धको मुद्दामा फैसला दियो ।

उनलाई १६५० रुपैँया जरिवाना असुल गराउने गरी अदालतले आदेश दिएपनि उनी फरार थिइन् । प्रहरीले उनको खोजतलासी गरिरहेपनि भेटन ।

Advertisement

व्यास ११ का रामबहादुर बलकोटीविरुद्ध उच्च अदालत पाटनमा ठगी मुद्दा प¥यो । अदालतले बलकोटीलाई २ वर्ष २ महिना कारागार पठाउनुका साथै १ लाख ७५ हजार ११९ रुपैयाँ जरिवाना तिराउन आदेश ग¥यो । २०६० पुस ८ गते अदालतले उक्त आदेश दिनुअघि नै बलकोटी फरार थिए । प्रहरीले उनको खोजी गर्दा नसकेपछि फाइल थन्क्याएर ‘वान्टेड’ को सूचीमा राख्यो ।

आदेश आएको लामो समय भइसकेपछि यी दुवै फरार अभियुक्त आआफ्नै घर फर्किसकेका थिए । तनहुँ प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान चलाएपछि फाइल हेर्दा यी दुईको पनि नाम देखियो । प्रहरीले एक पटक फेरि उनीहरुको खोजी थाल्यो ।

Advertisement

यो पटक भने प्रहरी चुकेन । दुवै प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गर्न सफल भएको छ । ‘फाइल हेर्दा यिनीहरुको नाम देखियो, एक पटक उनीहरुको घर भएतिर खोजौं भनेर जाँदा घरमै भेटिए, लामो समय भएकाले घर फर्किसकेका रहेछन्,’ तनहुँ प्रहरी प्रवक्ता युवराज तिमिल्सिनाले बताए ।

अतिमाया कुमाललाई व्यास ५ ठुलोटार र रामबहादुर बलकोटीलाई व्यास ११ रानीगाउँबाट प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई तनहुँ प्रहरीले अदालतमा उपस्थित गराइसकेको छ ।

अदालतले अतिमायालाई पूर्व आदेशबमोजिम १६५० रुपैयाँ जरिवाना असुल गराएर छाडिदिन आदेश गरेको छ ।

यस्तै रामबहादुर बलकोटीलाई भने कारागार चलान गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए । बलकोटीले अब २ वर्ष २ महिना कैद भुक्तानका साथै १ लाख ७५ हजार बढी जरिवाना तिर्नुपर्नेछ ।

तनहुँ प्रहरीले यस आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ । यस अभियानमा प्रहरीले ३८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको डिएसपी तिमिल्सिनाको भनाइ छ ।

तपाईको प्रतिक्रिया