मुस्ताङमा वनक्षेत्र समन्वय समिति गठन

समाधान संवाददाता २०७५ फागुन २५ गते १४:४८

सुन्दरकुमार थकाली

गण्डकी प्रदेशले गठन गरेको डिभिजन वन कार्यालय मुस्ताङले बिहीबार १५ सदस्यीय वनक्षेत्र समन्वय समिति गठन गरेको छ । वन क्षेत्र व्यवस्थापन तथा योजना तर्जुमा आदिका लागि कार्यालयले समिति गठन गरेको हो ।

समितिमा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ संयोजक छिन् भने, उपसंयोजक राजेन्द्र शेरचन छन् । समिति गठन समावेशी आधारमा गरिएको छ । समितिमा घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकाली, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री ,जिल्ला समन्वय अधिकारी पुष्प कटुवाल, नेकपाका जितेन्द्र शेरचन, राप्रपाका अजित थकाली, एक्याप जोमसोमका प्रमुख तुलसी दाहाल, सामुदायिक उपभोक्ता महासंघकी सुनदेवी रसाइली, गैसस महासंघ पेमा छेतेन विक, भेटेरिनरी अस्पताल तथा पशुसेवा विकास केन्द्रकी फुलमाया परियार र आदिवासी जनजाति तथा अन्य समुदायका नर्वु आङजुक गुरुङ सदस्य छन् । समितिमा वन पैदावार उद्यमी प्रतिनिधि, उद्योग वाणिज्य संघ प्रतिनिधि र कृषि ज्ञान केन्द्र इकाइ गरी ३ सदस्य पछि थप गरिनेछ । डिभिजन वन अधिकृत सदस्य सचिव छन् ।

Advertisement

प्रदेश सरकारले मुस्ताङमा गत श्रावणमा डिभिजन वन कार्यालय स्थापना गरेको हो । वनक्षेत्र तथा वन पैदावारको संरक्षण गर्दै आएकोे अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले पनि वन संरक्षणको अख्तियारी पाएको छ । नेपाल सरकारकै स्वामित्वमा स्थापना भएको वन कार्यालयको कार्य सञ्चालनपछि एक्याप र वन कार्यालयको क्षेत्राधिकार बाझिएको हो । तर, एक्यापको कार्य अवधि आगामी माघ महिनामा सकिनेछ ।

डिभिजन वन कार्यालयले गठन गरेको समितिले वन वन्यजन्तु र वातावरण, जैविक विविधता सम्बन्धी नीति तथा कानुन तर्जुमा संशोधन परिमार्जन गर्दै सरकारलाई सुझाव दिनेछ । कार्यालय प्रमुख यमनाथ पोख्रेलका अनुसार गठित समितिले वनक्षेत्रको संरक्षण र दिगो व्यवस्थापन सदुपयोग अध्ययन अनुसन्धान गर्न सरोकारवालासँग सहमति जुटाउनेछ । यस्तै, स्थानीय स्तरमा स्थानीय निकाय, वन निकाय, उपभोक्ता र सरोकारवाला रहेको वनक्षेत्रको समन्वय उपसमिति गठन गर्ने र कार्यविधिसहित काम गर्ने पोख्रेलको भनाइ छ । उनले नयाँ वन नियामवली कार्यविधि बन्दै गरेको र वन निर्देशिका २०६८ अनुसार समिति गठन भएको उनले जानकारी दिए ।

Advertisement

डिभिजन वनको चालु बजेट साढे २ करोड
मुस्ताङमा पहिलो पटक स्थापना भएको डिभिजन वन कार्यालयलाई संघीय र प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिसकेको छ । संघीय सरकारले १ करोड ७ लाख ५१ हजार र प्रदेश सरकारले १ करोड ३३ लाख रुपैयाँ कार्यक्रम खर्चका लागि छुट्याएको कार्यालय प्रमुख यमनाथ पोख्रेलले जानकारी दिए । यसका अतिरिक्त प्रदेशले कार्यालय भवन निर्माणका लागि ५० लाख उपलब्ध गराएको उनले बताए ।

संघीय सरकारले वन्यजन्तु संरक्षण कार्यक्रम, सामुदायिक तथा कबुलियती वन विकास, जडिबुटी विकास कार्यक्रम, वृक्ष सुधार वृक्षरोपण निजी वन विकास कार्यक्रम, नेपाल स्वच्छ वातावरण अभियान र राष्ट्रिय वन विकास तथा व्यवस्थापनका लागि १ करोड विनियोजन गरेको हो । प्र्रदेश सरकारले उद्योग पर्यटन वन तथा वातावरण कार्यक्रम र भवन निर्माणमा बजेट विनियोजन गरेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए । नयाँ स्थापना भएको जिल्ला डिभिजन वन कार्यालयमा वन अधिकृतसहित १५ जना कर्मचारीको दरबन्दी छ ।

तपाईको प्रतिक्रिया