स्वास्थ्य
कोरोना संक्रमण देखिएसंगै थासाङको ज्ञानोदय बिद्यालय बन्द
शिक्षक र बिद्यार्थी गरी ४ जना ब्यक्तिलाई कोरोना


जोमसोम—मुस्ताङको थासाङ गापा—३ लेतमा अवस्थित ज्ञानोदय माध्यमिक बिद्यालयका २ जना शिक्षक र २ जना बिद्यार्थी गरी ४ जनालाई कोरोना संक्रमण देखिएपछि बिद्यालय बन्द भएको छ ।सो बिद्यालयले अन्य शिक्षक र बिद्यार्थीलाई समेत कोरोना संक्रमण सर्न सक्ने भन्दै बिद्यालय बन्द गर्नु परेको जनाएको छ ।
ज्ञानोदय मावि लेतेका प्रधानाध्याक अनन्तराज आचार्यलले आफ्नो बिद्यालयमा शिक्षक र बिद्यार्थी गरी ४ जना ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुृसार बिद्यालयमा कोरोना संक्रमण देखिएसंगै कार्तिक २९ गते देखि मंसिर १० गतेसम्म १२ दिनका लागि बिद्यालय बन्द गर्नु परेको हो ।
‘हाम्रो बिद्यालयमा पढाउने दुई जना शिक्षकलाई रुघाखोकीसहितको कोरोना लक्षण देखियो ,हामीले गापाको स्वास्थ्यसंग समन्वय गरी एन्टिजेन परीक्षण ग¥यौं,‘प्रधानाध्याक आचार्यले भने,‘ चेक जाँच गर्दा उहाँहरुमा कोरोना देखियो ,त्यसपछि लक्षण भएका २४ जनालाई परीक्षण गरायौं ।’ उनले बिद्यालयका २४ जनाको परीक्षण गर्दा ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख गरे । बिद्यालयमा कोरोना पुष्टि भएका ४ जनाको स्वास्थ्य अवस्था सामान्य भएको बताएको छ ।
ज्ञानोदय मावि लेतेले मंसिर १० गतेपछि बिद्यार्थी र शिक्षकको स्वास्थ्य अवस्था हेरेर बिद्यालय पुन संञ्चालन गर्ने जनाएको छ । यस्तै, थासाङ—३ लेतेकै अर्को एक स्थानीय महिला समेत कोरोना पोजेटिभ देखिएको थासाङ गापाका स्वास्थ्य संयोजक सिताराम कार्कीले जानकारी दिए । संक्रमण पुष्टि भएकी महिलाको अक्सिजन लेवल कम भएकाले काठमान्डौं लगिएको र अहिले उनको अवस्था सामान्य रहेको बताए ।
यस्तै, जिल्ला अस्पताल जोमसोममा पनि कोरोनाका बिरामी देखिन थालेको छ । अघिल्लो हप्ता सो अस्पतालमा २ जना कोरोनाका बिरामीलाई आईंसोलेसन कक्षमा भर्ना गरिएको थियो ।
पछिल्लो समय जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएको र जिल्लाका नागरिकले खोप लगाईसकेकाले मुस्ताङमा पर्यटक आवागमनलाई सहज पारिएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुस्ताङ घुम्ने पर्यटकलाई पिसिआर रिपार्ट,एन्टिजेन रिपोर्ट र खोप कार्डको आधारमा जिल्ला प्रबेशको अनुमती दिईएको छ । तर ,दशै —तिहार र छठ पर्वको अवसरमा मुस्ताङमा हजारौ आन्तरिक पर्यटक तथा बिदेशी पर्यटकको फलो बढेपछि कोरोना संक्रमण देखिएको हुन सक्ने अनुमान गरिएको छ ।
मुस्ताङमा कोरोना स्वास्थ्य सुरक्षा अपनाउन ध्यान नगएको र स्वास्थ्य सुरक्षामा बेवास्था भएकाले कोरोनाको थप जोखिम देखिन थालेको अनुमान गरिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया