हिन्दुराज्य, गणतन्त्र र संघीयतामा जनमत संग्रहः शशांक कोइराला

समाधान संवाददाता २०७५ चैत ७ गते ७:४३

समाधान संवाददाता

कांग्रेस महामन्त्री शशांक कोइरालाले हिन्दु राज्य, गणतन्त्र र संघीयताबाबरे जनमत संग्रहमा जानुपर्ने धारणा दोहो¥याएका छन् । काठमाडौं टोखास्थित आफ्नै निवासमा फागुपूर्णिमाका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘संघीयता राख्ने कि खारेज गर्ने भन्ने विषय र गणतन्त्र कि राजतन्त्र भन्ने विषयमा जनताले माग गरे भने जनमत संग्रहमा जानुपर्छ, जनमत लिन हामी डराउनु हुँदैन ।’

धेरैजसो हिन्दु धर्मालम्बीहरूले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरूको मागअनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको कोइरालाको भनाइ थियो । उनले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन पनि सबैलाई आग्रह गरे ।

Advertisement

झण्डै ८० प्रतिशत हिन्दु धर्मावलम्बी भएको मुलुकलाई राजनीतिक निर्णयबाट धर्म निरपेक्ष राष्ट्र घोषणा गरिनु गलत भएको जिकिर गर्दै उनले जनमत संग्रहमा जानुपर्ने बताएका हुन् । ‘८० प्रतिशतभन्दा बढी हिन्दु भएको मुलुकमा राजनीतिक निर्णय गरेर धर्म निरपेक्ष घोषणा गर्नु गलत हो,’ कोइरालाले भने, ‘जनमत संग्रह गरेर यसबारे जनताको राय लिनुपर्छ ।’

उनले सरकार भ्रष्टाचार प्रकरणहरुमा विवादित बन्दै गएको भन्दै कांग्रेसले निरन्तर संसदबाट खबरदारी गरिरहेको जिकिर गरे । ‘सरकारलाई कांग्रेसले खबरदारी गरिरहेको छ । हामी संसदमा अहिले सानो शक्तिका रुपमा छौं । त्यसैले कमजोर प्रतिपक्षीको रुपमा देखिएको हुनसक्छ,’ संसदमा कांग्रेसको कमजोर भूमिकाका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘सरकार विवादित बन्दै गएको छ, हामी खबरदारी गरिरहेका छौं । अब पनि जोडदार ढंगले वाइडबडीदेखि सबै भ्रष्टाचार प्रकरणबारे संसदमा बलियो रुपमा उठाउँछौं ।’

Advertisement

महामन्त्री कोइरालाले पार्टीमा गठन हुन बाँकी विभाग गठनबारे सभापति शेरबहादुर देउवासँग छलफल गरेको जानकारी दिँदै विभागहरु अबिलम्ब गठन हुनुपर्नेम जोड दिए । ‘पार्टीका विभाग गठनबारे सभापतिजीसँग मेरो छलफल भइसकेको छ । विभागहरु गठन गर्न ढिला भइसक्यो । अब वादविवाद नगरेर सबै विभागलाई पूर्णता दिनुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरेका छन् । कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफूले पहल गर्ने बताए । उनले पार्टीको विभागहरु तत्काल गठन गर्न पनि सभापति देउवालाई आग्रह गरे । पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यक्ता पनि औंल्याउँदै कम्युनिस्टहरु एकजुट भएका बेला पार्टीभित्रको एकता नभए कांग्रेसले ठुलो मूल्य चुकाउनुपर्ने उनको धारणा थियो ।

तपाईको प्रतिक्रिया