युनाइटेड क्लब १२ वर्षमा

समाधान संवाददाता २०७९ वैशाख ८ गते ११:४५

पोखरा l
युनाइटेड क्लब वैशाख ७ गतेदेखि १२ औं वर्षमा प्रवेश गरेको छ । पोखरामा नयाँ पर्यटकीय गन्तव्य खुला चिडियाखाना निर्माणको अवधारणा अगाडि सारेर हिँडेको युनाइटेड क्लबको पहलमा पोखरामा खुला चिडियाखाना निर्माणसमेत सुरु भइसकेको छ ।

पोखराको लेखनाथस्थित पचभैया क्षेत्रमा युनाइटेड क्लबको पहलमा त्यहाँका विभिन्न सामुदायिक वनहरुलाई समेटेर चिडियाखाना निर्माण जारी छ । हाल उक्त चिडियाखानाको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार अन्तर्गत रहेर जिल्ला वन कार्यालयलाई दिइएको छ ।

चिडियाखानामात्र नभई स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य खेलकुद, दैवी प्रकोपमा परेकालाई सहयोग र सेती नदी संरक्षणमा क्लबले काम गर्दै आइरहेको छ । यसअघि पनि युनाइटेड क्लबले सेती नदी संरक्षणकै लागि लाखौं रकम खर्च गरिसकेको छ । क्लबले हालसम्म चिडियाखाना निर्माणको लागी पोखरा महोत्सवकै आयोजना गरी ५८ लाख ८० हजार नगद रकम खर्च गरिसकेको छन् । सेती नदीको सेती पुलमुनिको खोंच सरसफाइ र उक्त क्षेत्रमा फोहोर नहोस् र दुर्घटना हुँदा सजिलै पत्ता लगाउन सिसी क्यामेरा समेत जडान गरेर ६ लाख बढी रकम खर्च गरिसकेको छ ।

Advertisement

क्लबको पहलकदमीमा चिडियाखानाले पूर्णता पाउँदै गर्दा अबको मुख्य उद्देश्य सेती खोंचमा साहसिक पर्यटकीय गन्तव्य निर्माणका लागि पहल कदमी थालेर अगाडि बढ्ने युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए ।
क्लबले १२ औं वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखि उठाउँदै आएको चिडियाखाना निर्माणको स्वामित्व अब प्रदेश सरकारले ग्रहण गरिसकेकाले चिडियाखाना निर्माण हुनेमा आफूहरु ढुक्क रहेकाले क्लबले अब चिडियाखानालाई थाती राखेर पोखराको बीच भागबाट बग्ने सेती नदीलाई एक साहसिक पर्यटकीय गन्तव्य निर्माण गर्न पहल कदमी थालिसकेको समेत बताए ।

विभिन्न विज्ञहरु, भूगोलविदहरुसँग र सरोकारवाला निकायहरुसँगसमेत छलफल सुरु गरिसेकाले अबको अर्को महत्वपूर्ण काम भनेको सेती खोंचमा साहसिक पर्यटकीय गन्तव्य निर्माणमा पहल गर्नुनै क्लवको मुख्य उद्देश्य रहेको उनी बताउँछन् ।
त्यसो त क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले युनाइटेड क्लबले कोरोना महामारीका कारण स्थापना कालदेखि नै पोखरामा महोत्सवको आयोजना गर्दै आइरहेको भएता पनि अघिल्लो वर्षदेखि महोत्सवको आयोजना गर्न नसक्दा सोचेजस्तो रुपमा सामाजिक क्रियाकलापमा खर्च गर्न नसकेको बताए । क्लबले महोत्सव आयोजना गरेर आजको दिनसम्म शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र दैवी प्रकोपमा खर्च गर्दै आइरहेको र अघिल्लो वर्ष लेखनाथमा ५ रोपनी जग्गा किनेर शिक्षा सम्बन्धी काम गर्न गुरुयोजनासमेत अगाडि बढाइरहँदा कोरोनाले गर्दा उक्त काम थाती रहेकाले अबका दिनमा त्यसलाई समेत निरन्तरता दिएर समाजमा विपन्न अवस्थाका परिवारका बालबालिकाका लागी प्राविधिक शिक्षा सञ्चालन गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।

Advertisement

क्लबका सल्लाहकार लीलाधर अधिकारीले युनाइटेड क्लबले युवाहरुलाई सत्मार्गमा लाग्न अभिप्रेरित गरेको बताए । युवाहरुलाई कुलतमा नफसी सामाजिक काममा लाग्न ऊर्जासमेत प्रदान गर्दै विपन्न बालबालिकालाई शैक्षिक सामग्रीहरु समेत प्रदान गरी शिक्षामा सबैको पहुँच पु¥याउन क्लबले सहयोग गरेको उनको भनाइ थियो । युनाइटेड क्लबका सल्लाहकार तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर तीर्थलाल श्रेष्ठले युनाइटेड क्लबको सहयोगबाट प्रदान भएको डस्बिनका कारण स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसरफाइमा नया आयाम थपिएको बताए । क्लबले आयोजना गर्ने स्वास्थ्य शिविरमा चिकित्सकको व्यवस्था गर्नेसमेत उनले प्रतिवद्धता जनाए ।

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष सुकबहादुर गुरुङ लगायतले बोलेका थिए । क्लबको महासचिव शान्तबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया