स्थानिय तह निर्वाचन २०७९

पोखराका अनुत्तरित सबै सवालको जवाफ दिन्छौं

धनराज आचार्य मेयर उम्मेदवार, नेकपा एकीकृत समाजवादी

समाधान संवाददाता २०७९ वैशाख १३ गते १३:३७

मनोनयन दर्ताका क्रममा मेरो पार्टीको होइन, हाम्रो उम्मेदवारी भन्नुभयो, के छन् यसका आधार ?
मैले मेरो पार्टीका हिसाबले त मनोनयन गर्दा गरेँ नै । म नेकपा एकीकृत समाजवादीको प्रतिनिधि नै हुँ । तथापि देशका ६ महानगरको नेतृत्व कसले गर्ने भन्ने चाहिँ राष्ट्रिय राजनीतिले पनि अर्थ राख्ने गरी जोडिएर आयो । समग्रमा हेर्दा, साथमा को छन् भन्दा त गठबन्धनमा रहेका पाँच वटै दलको साझा प्रतिनिधि भएकाले मेरो पार्टीको उम्मेदवारी भन्दा पनि यो हाम्रो उम्मेदवारी हो भनेको हो । पार्टी सानो–ठूलो होला तर मलाई सबै दलले साझा उम्मेदवारको रुपमा स्वीकारे । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि व्यक्तिका सम्बन्धमा कुनै अब्जेक्सन छैन भन्नुभयो । सरकारका विभिन्न निकायको रेकर्डमा पनि उपयुक्र्त पात्र भएको उहाँको भनाइ थियो । टिम, गठबन्धन र सबै पोखरेलीको साझा उम्मेदवार हुँ भन्ने मलाई विश्वास छ ।

यसअघिका चुनावमा चुनावी कमान्डर हुनुहुन्थ्यो, प्रत्यक्ष चुनाव कस्तो लाग्दै छ ?
यसो छ, म०४८ देखि नै चुनावमा परिचालित भएको छु । ०४६ पछि भएका सबै चुनावमा चुनावी परिचालनको कोर टिममा बसेर काम गरेको छु । मैले धेरै साथीलाई चुनावमा विजयी गराएँ । सूक्ष्म ढंगले चुनावमा लाग्दा १ प्रतिशतभन्दा कम मत तलमाथि हुने गरी हामी अनुमान गर्न सक्थ्यौं । ०४८ देखि गएको उपचुनावसम्म गरेको अनुभवले मलाई सघाउनेछ भन्ने ठानेको छु । विगतमा आफैं चुनाव नलडे पनि आफैं चुनाव लडेसरहको अनुभव मसँग छ । आजसम्म मसँग नजिक भएका साथीहरुले यसअघि कतिपय कारणले मैले भनेको ठाउँमा मतदान गर्न पाउनुभएको थिएन । यस पटक अलिकति त्यो सीमा हराएको महसुस मैले गरेको छु । स्थानीय चुनाव राष्ट्रिय चुनाव जस्तो होइन । यसमा व्यक्ति र एजेन्डा हेरिनुपर्छ भन्ने मान्यता बन्दै गएको छ । यो नै हाम्रो टिम र मेरो विजयको आधार हो भन्ने मलाई लाग्छ ।

तपाईका मुख्य एजेन्डा के के हुन् ?
म मेरो पार्टीको मात्र उम्मेदवार भएको भए अहिले नै म यस्तो यस्तो गर्छु भन्ने दिन सक्थेँ । गठबन्धनका अरु दलले तयार पारेको घोषणापत्र र मेरो पार्टीको घोषणापत्र मिलाएर चाडै हाम्रो एजेन्डा सार्वजनिक गर्छाैं । व्यक्तिगत धारणाको कुरा गर्नुहुन्छ भने पोखरा प्रकृतिले दिएको सुन्दर, शान्त र अनुपम स्थल हो । यसलाई हामीले उचित तरिकाले संरक्षण गर्न सकेका छैनौं । पोखरालाई बिगार्ने छुट वर्तमान पुस्तालाई छैन । आगामी पाँच वर्षभित्र पोखरामा के के जरुरी छ भन्ने हामी योजनाबद्ध रुपमा दिन चाहन्छौं ।

Advertisement

नयाँ चुनावचिह्न, नयाँ पार्टी जनतासम्म जान अप्ठेरो छैन ?
नागरिक अहिले निकै सचेत भइसक्नु भएको छ । माधव नेपालले नेतृत्व गरेको पार्टी हो हाम्रो । नेकपा माले बनाउनदेखि यहाँसम्मको यात्रामा दुई पूर्वप्रधानमन्त्री हामीसँग हुनुहुन्छ । अहिले हामी नेपालकै पुरानो दल नेपाली कांग्रेससँग बसेर सहकार्य गर्दै छौं । जहाँसम्म चुनावचिह्नको कुरा छ, यो एउटा साधनमात्र हो । नेपालमा कहिल्यै प्रयोग नभएको हँसिया, हथौडा लिएर नेकपा माओवादीले बहुमत पाएको थियो । सूर्य चिह्न हुँदा पनि हामी झरेर धेरै तल पनि पुगेका थियौं विगतमा । त्यसो भएकाले चिह्न मुख्य होइन, एजेन्डा मुख्य हो ।

मेयर, उपमेयरबाहेकमा गठबन्धन भएन, मत पाउनुहोला त ?
कास्कीका ७२ मध्ये करिब ९० प्रतिशत वडामा सहमतिमै उम्मेदवारी मनोनयन भएको छ । केही वडामा हामीले सल्लाहले नै आआफ्ना पार्टीका उम्मेदवार पनि उठाएका छौं । त्योमध्येमा को कसले नेतृत्व गर्ने हामी एक, दुई दिनमा निक्र्याेल गर्छाैं । हामी जति बेलाबाट चुनावी प्रचारप्रसारमा जान्छौं, त्यति बेलासम्म गठबन्धनका साझा उम्मेदवार वडा तहसम्म हुने छन् ।

Advertisement

तपाईलाई किन मत दिने ?
हाम्रो एजेन्डा नै मुख्य कुरा हो । पोखराको विकासका लागि हामीकहाँ चुक्यौं भन्ने धेरै ठाँउ छन् । अहिले पनि हामी इन्जिनियर पदमबहादुर थापा र शंकरराज पाठककै नाम भजाएरअघि बढिरहेका छौं । यो पाटनै पाटनको सहर, तालै तालको सहर, खुसी मानिस बस्ने सहर । आज हरेक ठाउँमा अस्तव्यस्त भइरहेको छ । विकास, निर्माणमा, सम्पदा संरक्षणका अहम् सवालमा जनताको प्रश्नको अहिलेको नेतृत्वले उत्तर दिन सकेको छैन । ती सबै अनुत्तररित प्रश्नको जवाफ लिएर म र मेरा टिम आउँछ ।
म सबैलाई हाम्रा एजेन्डा राम्रोसँग सुनिदिन, बुझिदिन आग्रह गर्दछु । यो कुनै एउटा व्यक्तिले गर्न सक्ने कुरा होइन, यसका लागि नेतृत्वमा इच्छाशक्ति चाहिन्छ । म र मेरो टिम पोखरालाई समृद्ध बनाउन फुल ड्युटी होइन, ड्युटीफुल हुनेछ । यो हाम्रो अर्जुनदृष्टि हो ।

तपाईको प्रतिक्रिया