‘हामी ड्युटी गर्ने छैनौं । ड्युटीफुल भएर काम गर्ने छौं’– धनराज आचर्य (अन्तर्वार्ता)

सञ्जय रानाभाट २०७९ वैशाख २७ गते २०:१३

पोखराको मेयरमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग समाधानका सञ्जय रानाभाटले चुनावी योजना र रणनीतिबारे गरेको कुराकानी ः


—तपाईंले चुनाव जित्ने आधारहरु के छन् ?


चुनाव जित्ने आधार भनेको पाँच दलीय गठबन्धनको म साझा उम्मेदवार हुँ । मेयर पदमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट गठबन्धनको साझा उम्मेदवारका रुपमा हामी चुनावमा गएका छौं । पाँच वटा पार्टीको कास्कीमा रहेको जनाधार र पछिल्लोपटक नागरिकले देखाएको सदभाव नै हाम्रो चुनाव जित्ने आधारहरु हो ।

Advertisement


—विगतका २ चुनावमा पोखरामा एमालेले जितेको थियो । यसपालि उसलाई जित्न कति कठिन देख्नुभएको छ ?


त्यो पार्टी हिजो सग्लो पार्टी हुँदा जित्नुभएको थियो । त्यो पार्टीमा हामी हिजोसँगै थियौं । अहिले हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीमा २० हजार हारहारीमा यता आएका छौं । स्वाभाविक रुपमा त्यो घटिहाल्यो । अहिले हामीसँग माओवादी केन्द्र, नेपाली कांग्रेस, राजमो पाँचवटा पार्टी हामी सँगै छौं । यति लामो समय हामीले समाजमा काम गर्दाको साथीभाइ सारा हुुनुहुन्छ । त्यो समेत थपिँदा कम्फटेबल भोटले हामी माथि छौं । अघिल्लोचोटि जति एमालेले मत ल्याएको थियो । अहिले हामी त्योभन्दा बढीले हामीले जित्छौं । अर्को कुरा मेयरको उम्मेदवार बन्नुभएको कृष्ण थापा ०५४ सालको मेयर हुनुहुन्छ । प्रदेश सभाबाट राजीनामा दिएर आउनुभयो । एमालेमा अरु कोही नभएर उहाँ आउनुभयो भन्ने खालको गुनासो हामीले सुनेका छौं । व्यक्तिगत रुपमा उहाँसँग मेरो केही छैन, उहाँ मेरो पुरानो मित्र हुनुहुन्छ । जित्ने आधार त हामीसँग प्रशस्त छन् ।

Advertisement


—गठबन्धनका दलमध्ये पोखरामा कांग्रेसकोे जनाधार बढी हुँदा पनि तपाईंको टिकट पाउनुभयो कसरी ?


यो त दिउँसोको घाम जस्तो छर्लङ्ग छ । गएको पाँच वर्ष मानबहादुर जिसीको कार्यकाल खेरा गयो । घोषणापत्र अनुसार काम गर्न सक्नुभएन यसपछि हामीहरु विद्रोह गरेर निस्किएका हुँ । त्यहाँ हुँदा खाँदाको सबै चिज छोडेर हामी बाहिरियौं । त्यो हाम्रो विद्रोह थियो । त्यही विद्रोहले देशभर सरकार बने । हाम्रो विद्रोह सफल भयो । पार्टी नै छोडेर नयाँ पार्टी बनाएर आउने कुरा न यसको उत्तर हो नि ।


—एमालेले सुरुमा दीपक पौडेललाई उठाउने निर्णय ग¥यो पछि, कृष्ण थापालाई उठायो । कृष्ण थापा हुँदा तपाईंलाई गाह्रो छ भनिन्छ नि ?


यसमा केही पनि छैन । उहाँहरु जोसुकै आउँदा पनि पार्टीको प्रतिनिधि आउने हो । व्यक्ति आउने कुरा हैन । पार्टीको तर्फबाट दीपक पौडेल आउँदा पनि त्यही थियो र अहिले कृष्ण थापा आउँदा पनि ठिक छ । अर्को केही आएको भएपनि स्वस्थ प्रतिस्पर्धा गर्ने कुरा हो । निर्वाचनलाई हामीले सकारात्क ढंगबाट हेर्नुपर्छ । निर्वाचन स्वस्थ, सकारात्मक ढंगले सम्पन्न गरौं र स्वस्थ प्रतिस्पर्धा गरौं । चुनाव त एजेण्डाले जित्ने हो । बाहुबलीले जित्ने कुरा त हैन । यस हिसाबले उम्मेदवार को भन्ने कुराले यति फरक पार्दैन भन्ने लाग्छ ।


—जित्नुभयो भने कस्तो महानगर बनाउनुहुन्छ ?


१५ हजारदेखि १८ हजार मतले हाम्रो जित निश्चित छ । घोषणापत्रमार्फत हाम्रो एजेण्डा नै सार्वजनिक भएको छ । हामी ड्युटी गर्ने छैनौं । ड्युटीफुल भएर काम गर्ने छौं । समय–समय मिनेट–मिनेट हिसाब गरेर पोखरेली जनताका लागि भोलेन्टियर गर्छाैं । यो हाम्रो प्रतिबद्धता हो । यसैले हाम्रो निष्ठालाई जनताले पत्याउने छन् र विश्वास गर्ने छन् । जोसँग हामी चुनाव लड्दै छौं । उहाँ टेष्टेड हुनुहुन्छ । उहाँले कति गर्नुभयो कति गर्नुभएन जनताले देखिसक्नुभयो । अब हामी काम गर्छाैं भनेर आएका छौं । यो पाँचदलको जोइन्ट इफोर्ट पनि छ । साझा प्रतिबद्धता पनि जाहेर गरेका छौं । लामो यात्रा मैले राजनीतिमा बिताएँ । म सार्वजनिक रुपमा अपिल गर्छु—म पाँच वर्ष जनताको सेवा भोलेन्टिएर भएर काम गर्छु ।


—घोषणापत्रमा ठूलाठूला योजना समेट्नु भएको छ । कसरी कार्यान्वयन गर्नुहुन्छ ?


हाम्रो गठबन्धनका दलका नेताहरु मिलेर घोषणापत्र तयार पारेका हौं । गठबन्धनका दल, विज्ञहरुसँग छलफल गरेर निकालेको घोषणापत्र हो । पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गर्नेदेखि संघीय सरकारसँग लबिइङ गरेर पोखरामा ५ लाख मानिसलाई रोजगारी सिर्जना गर्छाैं । विदेशमा रहेका हाम्रा दाजुभाइ दिदीबहिनीलाई लगानी गर्न प्रेरित गर्छौं । लगानीकर्ताका लागि ५ वर्षका लागि ट्याक्स फ्री गरेर वा लगानीका लागि सबै पोखरेलीलाई सेयर होल्डर बनाएर काम गर्छाैं । इन्फ्रास्ट्रक्चरलाई विशेष ध्यान दिन्छौं । अप्पकालीन र दीर्घकालीन दुवैै योजना बनाएर अघि बढ्छौं । महानगरले यो भन्दाअघि नै थुप्रै योजना बनाएको छ, त्यो योजनालाई सही अर्थले पूरा गर्छौं ।


—अघिल्लोपालि तपाईं एमालेभित्र चुनावी कमान्डर हुनुहुन्थ्यो, आफैं चुनाव लड्काचाहिँ कस्तो लाग्दै छ ?
यसो छ, म ०४८ देखि नै चुनावमा परिचालित भएको छु । ०४६ पछि भएका सबै चुनावमा चुनावी परिचालनको कोरटिममा बसेर काम गरेको छु । मैले धेरै साथीलाई चुनावमा विजयी गराएँ । सूक्ष्म ढंगले चुनावमा लाग्दा १ प्रतिशतभन्दा कम मत तलमाथि हुने गरी हामी अनुमान गर्न सक्थ्यौं । ०४८ देखि गएको उपचुनावसम्म गरेको अनुभवले मलाई सघाउनेछ भन्ने ठानेको छु ।

विगतमा आफैं चुनाव नलडे पनि आफैं चुनाव लडेसरहको अनुभव मसँग छ । आजसम्म मसँग नजिक भएका साथीहरुले यसअघि कतिपय कारणले मैले भनेको ठाउँमा मतदान गर्न पाउनुभएको थिएन । यसपटक अलिकति त्यो सीमा हराएको महसुस मैले गरेको छु । स्थानीय चुनाव, राष्ट्रिय चुनाव जस्तो होइन । यसमा व्यक्ति र एजेन्डा हेरिनुपर्छ भन्ने मान्यता बन्दै गएको छ । यो नै हाम्रो टिम र मेरो विजयको आधार हो भन्ने मलाई लाग्छ ।


—गठबन्धनको दल कांग्रेसमा तालमेलविरुद्ध ठूलो असन्तुष्टि छ नि ?
हाम्रो शरीरमा पनि कतिपय चिजहरु नचाहिँने हुन्छन् । पाँचदिन नुहाएनैं भने आफ्नै शरिरबाट पनि गन्ध आउँछ । कहिले काहिँ अन्तरविरोध आउँछ । चुनावको बेला छ पदमा हुनपाए भन्ने कुरा आउनु स्वाभाविक हो । यसलाई सामान्य रुपमा सोचौं । पोखरा बनाउने कुरामा कसैले पनि मतभेद गर्नुु हुँदैन जस्तो लाग्छ । स्वार्थ राख्नुहुँदैन भने विरोध हुँदैन जस्तो लाग्छ । अघिल्लो महानगरको नेतृत्वले सबै कुरा पूरा गरिदिएको भए आजको परिस्थिति आउने थिएन ।


—मेयर जित्नुभयो भने फेवाताल र फेवातालसँग जोडिएका विषयहरुको कसरी सम्बोधन गर्नुहुन्छ ?
फेवातालको विषयलाई लिएर थुप्रै अनुत्तरित प्रश्नहरु छन् । ती सबै अनुत्तरित प्रश्नहरुको जवाफ खोजेर यसलाई व्यवस्थित गरेर फेवातालाई सौन्दर्यकरण गर्दै फेवातालाई अन्तर्राष्ट्रिय स्तरको सबैले माया गर्ने खालको बनाउँछौं । त्यहाँका स्थानीयले मात्र हनै फेवाताल कास्कीका सबैको फेवाताल हो ।

यसलाई कोही कसैले व्यक्तिगत लाभका लागि फाइदा उठाउन पाउने छैन । सबैसँग मिलेर सबैलाई समेटेर अगाडि बढ्ने छौं । म कुनै फेवातालको मिटरको पक्षमा छैन । सर्वोच्च अदालतले एउटा जे आदेश जारी गरेको छ । फेवातालको सम्बन्धनमा मापदण्डको सम्बन्धमा यसलाई कार्यान्वयनको दायरामा रहेर स्थानीय र अघिल्लो पुस्ताहरुको साझा धारणा सुनेर सबैलाई समेटेर जान्छौं । पाँच वर्षको हाम्रो कार्यकालभित्र कुनै पनि समस्या हुने छैन र फेवातालको विषयलाई लिएर कुनै पनि विवादास्पद हुने छैन ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया