टी ट्वान्टी लिग टोली घोषणा

समाधान संवाददाता २०७९ जेठ १२ गते १५:५५

काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टोलीको नाम सार्वजनिक गरेको छ । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने ६ टोलीको नाम क्यानको मंगलबार बसेको बोर्ड बैठकले निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए । टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न छन् ।

बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्‍याएको योगदानको कदरसहित धन्यवाद दिँदै संघको आफ्नै आधिकारिक लिए सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिनेसमेत निर्णय गरेको छ । क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने क्यानले जनाएको छ । बैठकले २०२२ अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिवि मैदान पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ ।

राष्ट्रिय पुरुष टोली खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरिएको छ भने महिला टोलीका ए र बी श्रेणीका खेलाडीको ६ हजारको दर वृद्धि गरिएको छ भने सी श्रेणीका खेलाडीको ५ हजारका दरले बढाएको छ ।

Advertisement

सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया