गण्डकीमा बीमा समितिको प्रदेश कार्यालय

समाधान संवाददाता २०७९ असार १५ गते १३:३२

काठमाडौं ।
बीमा समितिले आगामी आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले सो जानकारी गराएका हुन् । अध्यक्ष सिलवालले देशको संघीय संरचना अनुरूप बीमा समितिले विभिन्न तीनवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेको समेत जानकारी गराए ।

अध्यक्ष सिलवालले बीमा नागरिकको जोखिम हस्तान्तरण गर्ने प्रमुख वित्तीय औजार भएकाले आम नागरिकमा बीमाको पहुँच पुर्‍याउन सरकारी सेवासँग बीमालाई आवद्ध गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले बीमालाई आत्मसात गरेर अगाडि बढ्दा नै सरकारले जनताको हित गर्ने आफ्नो लक्ष्य हासिल गर्न सक्ने उल्लेख गरे । आर्थिकरूपले सबल व्यक्तिलाई बीमाका लागि प्रोत्साहित गर्न र सीमान्तकृत एवम् गरीब वर्गलाई बीमाको पहुँचमा ल्याउन अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पुर्‍याउन विशेष संयन्त्र निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताए । मुख्यमन्त्री पोखरेलले असंथठित क्षेत्रका मजदूरहरूलाई पनि सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्नका लागि समेत बीमाको भूमिका महत्वपूर्ण हुने भएकाले बिमाको पहुँच विस्तारमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताएका छन् ।

Advertisement

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले प्रदेशमा कृषि तथा पशुपन्छी बीमा कार्यान्वयनमा समस्या देखिएको र बीमा दाबी भुक्तानी पनि समयमा हुन नसकेको बताए । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान चुनौती, आगामी कार्यदिशा र नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया