घान्द्रुक जाने घुम्तीमा कन्भेक्स मिरर

समाधान संवाददाता २०७९ असार १८ गते १२:०९

पोखरा ।
कास्कीको पर्यटकीय स्थल घान्द्रुक जाने सडकखण्डको जोखिमयुक्त घुम्तीमा लामा फाउन्डेसन घान्द्रुकले कन्भेक्स मिरर राखेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ घान्द्रुकस्थितका विभिन्न १० घुम्तीमा १ लाख खर्चेर कन्भेक्स मिरर जडान गरिएको हो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित कन्भेक्स मिरर राखेको फाउन्डेसनका संस्थापक अमृत लामा गुरुङले बताए । अन्नपूर्ण ८ को बिरेठाँटी,लामखेत, सार्दीखोला, सिर्दीडाँडा, भिचुकचोकमा २ वटा, छैछरीचोकको स्कुल घुम्ती, सिँवै र हुँदुँ लगायतका घुम्तीमा कन्भेक्स मिरर ( ऐना ) जडान गरिएको छ ।

घान्द्रुकमा दिनहुँ पर्यटकको आवागमन वृद्धि भएको बताउँदै उनले यात्रालाई सुरक्षित गराउने उद्देश्यसहित ऐना जडान गरिएकोे जनाए । ‘अहिले सडक पिच भएको छ, गाडीको गति बढी हुने र दुर्घटना हुने सम्भावना बढी भएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यसहित जडान गरेको हो,’ उनले भने, ‘यो अभियानमा देश तथा विदेशमा रहनुभएका महानुभावले आर्थिक सहयोग गर्नुभएको छ ।’

Advertisement

कन्भेक्स मिररले विपरीत दिशाको बाटोको अवस्थालाई देख्न सघाउ पु¥याउँछ । स्थानीय चालक विजय घमालले जोखिमयुक्त सडकका घुम्तीमा ऐना जडान गरेपछि दुर्घटना न्यूनीकरणहुने धारणा राखे । उनले ऐना जडान हुनुभन्दा पहिले घुम्तीमा सवारी हर्नको प्रयोग अत्यधिक हुने गरेको बताउँदै अब कन्भेक्स मिररले हर्नको प्रयोग गर्न नपर्ने सुनाए ।

‘कसैले त हर्न पनि बजाउँदैनन्,’ उनले भने, ‘ऐना राखेपछि उताबाट के आएको छ प्रष्ट देखिन्छ । त्यसैले दुर्घटना हुने सम्भावना कम छ । हामीलाई गाडी चलाउन पनि सजिलो भएको छ ।’विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको फाउन्डेसनले यस अघि घान्द्रुकस्थित कलाभीरमा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो । उक्त भीरमा गत वर्षको असोज २५ गते जिप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया